१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोबाइलबाटै खोलाको पानी ट्याङ्कीमा !

दुलेगौंडा (तनहुँ)– सुन्दा अचम्म लाग्न सक्छ, खोलाको पानी मोबाइलबाट ट्याङ्कीमा जम्मा हुन्छ भनेर। तर, सुन्दा अपत्यारिलो लागे पनि शुक्लागण्डकीको दरगाममा दरकामकालिका खानेपानी उपभोक्ता समितिले यस्तो प्रविधि भित्र्याएको छ। जसले गर्दा गाउँदेखि १६० मिटर तल घुमौरी स्याङ्दी खोलाको पानी गाउँमा रहेको ट्याङकीमा संकलन हुने गरेको छ। 

घुमाउरो बाटो हिँडेर खोला झर्दा २५ मिनेट लाग्छ।  खोलाबाट गाउँ उक्लिँदा ३० मिनेट बढी। दिनमा ८ पटक पानी लगाउन र बन्द गर्न उकाली ओराली गर्नुपर्ने बाध्यता छ। तर, मोबाइलले नै ट्याङकीमा पानी संकलन गर्ने र बन्द गरिदिने भएपछि स्थानीयलाई सुविस्ता भएको छ। हातमा मोबाइल भएपछि खोलामा राखिएको नम्बर डायल गरेर प्राप्त निर्देशन पालाना गरे २२ सेकेण्डमै खोलाको पानी ट्याङ्कीमा आइपुग्छ। यसैगरी मोबाइलबाटै प्राप्त निर्देशन पालना गरे केही सेकेण्डमै पानी बन्द हुन्छ। 

पानी खोल्न र बन्द गर्न खोलामा राखिएको सफ्टवेयको नम्बरसँग मोबाइलमा कनेक्सन गरिएको छ। जसका लागि उक्त मोबाइमा त्यसको पासवर्ड अनिवार्य थिच्नुपर्ने हुन्छ। उक्त पासवर्ड सम्बन्धित केही व्यक्तिलाई मात्रै दिइएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र थापाले बताए। यो प्रविधि ४० हजार रुपैयाँ खर्चेर जडान गरिएको उनले जानकारी दिए। दैनिक रूपमा बिहान ६ दखि ९ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म पानी खोल्ने र बन्द गर्ने गरिन्छ।

‘मोबाइलले ट्याङकीमा पानी संकलन गर्ने र आवश्यकताअनुसार बन्द गर्न मिल्ने भएपछि सजिलोसँगै कम खर्चिलो भएको छ’, अध्यक्ष थापा भन्छन्, ‘यो प्रविधि नभएको भए दिनमा कम्तीमा ८ पटक तलमाथि गर्न एक जना कर्मचारी नै खटाउनुपथ्र्यो। अहिले मोबाइलको टावर भएको जुनसुकै स्थानबाट पनि काम गर्न सक्छौँ।’ 

खानेपानी मर्मत र शुल्क उठाउन एक जना कर्मचारी राखिएको छ। उनैले मोबाइलबाट  पानी खोल्ने र बन्द गर्ने गर्छन्। खोलाको नम्बरमा डायल गरेपछि रकम काटिने भएकाले मासिक २ सय रुपैयाँ रिचार्ज खर्च दिने गरेको थापाले बताए। २९० मिटर लिफ्टिङ गरेर खोलाको पानी तानिएको उनी बताउँछन्। 

खानेपानी आयोजनाको गण्डकी प्रदेशकी सांसद आशा कोइरालाले मोबाइल थिचेर उद्घाटन गरिन्। कुल ३७ लाख ७७ हजार रुपैयाँ लागतमा आयोजनाको निर्माण सम्पन्न भएको हो। तत्कालीन संसद् विकास कोषबाट १० लाख रुपैयाँ, नेपाल विद्युत् प्राधिकरणबाट १२ लाख, शुक्लागण्डकी नगरपालिकबाट १० लाख, दरगाम आत्मनिर्भर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट ४० हजार र  वडासदस्य बुद्धिबहादुर थापाबाट २२ हजार रुपैयाँ सहयोग प्राप्त भएको समितिले जनाएको छ। समितिका अनुसार ६ लाख रुपैयाँ बराबरको उपभोक्ताले श्रमदान गरेका छन्। २०७३ फागुनबाट सुरु भएकोे योजना हालै सम्पन्न भएको हो।

खोलाको पानी लिफ्टिङ गरेर ल्याइएको छ। अकलाडाँडामा बनाइएको ३० हजार लिटरको ट्याङकीमा संकलन गरिन्छ। यहाँबाट पुनः कमलडाँडामा रहेको ५० हजार लिटरको ट्याङकीमा संकलन गरेपछि घरघरमा जडान गरिएको धारामा वितरण हुने गर्छ। मिटर सिस्टममा धारा जडान गरिएको हो। उपभोक्ताले प्रयोग गरेअनुरुप शुल्क तिर्नुपर्ने हुन्छ। आयोजनाले यहाँका १७५ घरधुरीका ७ सय ५० जना प्रत्यक्ष लाभान्वित भएका छन्। खैरेनीटार बजारदेखि साढे दुई किलोमिटर टाढा रहेको दरगाममा यसअघि पानीको चरम अभाव थियो। एक गाग्री खानेपानीको जोहो गर्न घण्टौं भौतारिन बाध्य स्थानीयले घरघरमा धारा जडान भएपछि राहत महसुस गरेका छन्। 

स्थानीय बसुन्धरा पोखरेल भन्छिन्, ‘घरमा खानेपानी धारा जोडेसँगै दैनिक काम नै छोट्टिएको छ।’ खानेपानीको जोहो गर्न पँधेरोसम्म पुग्दा ३ घण्टासम्म बितेको उनको अनुभव छ। ‘पानी लिन पँधेरोमा पालो कुर्दाकुर्दै तीन घण्टासम्म बित्ने गथ्र्यो’, उनले भनिन्, ‘घरायसी कामधन्दा सक्नै धौ धौ हुने।’ प्रशस्त जमिन भएर पनि बजारकै तरकारीमा निर्भर रहेको उनले बताइन्। अहिले गाउँमा पानी प्रशस्त छ। सामूहिक तरकारी खेती गरेर गाउँलाई आत्मनिर्भर बनाएर निर्यातसम्म गर्ने तयारी गरेको पोखरेलले सुनाइन्।  

प्रकाशित: २२ माघ २०७५ ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App