१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सरकारले राष्ट्रिय क्रिकेट टिमलाई जनही ५–५ लाखसहित सम्मान गर्ने

तस्बिर : दिपेन्द्र रोक्का/नागरिक

काठमाडौं – युएईसँगको ३ एक दिवसीय र ३ टी–२० सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सरकारले जनही ५–५ लाख नगद सहित सम्मान गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो पकट एक दिवसीय र टी–२० सिरिज जित्दै स्वदेश फर्किएको टोलीलाई सम्मान गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी सरकारका एक मन्त्रीले नागरिक न्युजलाई बताए।

यता राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पनि यो प्रस्ताव मन्त्रिपरिषद्बाट स्विकृत भएको जानकारी दिए। ‘दुवै सिरिज जितेर स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जनही ५–५ लाख सहित सम्मान गर्ने निर्णय भएको हो,’ उनले नागरिकसित भने। विष्टका अनुसार सरकारले घोषणा गरेको पुरस्कार रकम राष्ट्रपति वा प्रधानमन्त्रीको उपस्थितिमा चाडैं प्रदान गरिनेछ। उनले थपे, ‘खेलाडीहरू अहिले धनगढी प्रिमियर लिग (डीपीएल) को तयारीमा लागिसकेकाले समय मिलाएर जतिसक्दो चाडो घोषणा गरिएको रकम उपलब्ध प्रदान गर्छौं।’

दुवै सिरिज जितेर स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जनही ५–५ लाख सहित सम्मान गर्ने निर्णय भएको हो।

दुवै उपाधि जित्दै स्वदेश फर्किएको टोलीलाई हिजो अपरान्ह त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको थियो। विमानस्थलमा खेलाडीको स्वागतका लागि पहिलो पटक रेड कार्पेट समेत ओछ्याइएको थियो।

खेलाडीको स्वागत गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट लगायत विमानस्थलमा पुगेका थिए। सो क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले विमानस्थलमै खेलाडीलाई ब्याक्तिगत रुपमा १०–१० हजार नगद सहित सम्मान गरेका थिए।

राष्ट्रिय झण्डा सहित सयौं समर्थक खेलाडीलाई स्वागत गर्न विमानस्थलमा पुगेका थिए। समर्थकले विमानस्थलमा टुँडिखेलमा खेलेर क्रिकेट सिरिज जितियो, धुर्मुस सुन्तली हाईहाई, खेलकुदमन्त्री बाइबाई’ जस्ता नारा लगाएका थिए।

क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान दिँदा समेत सरकारले क्रिकेट खेलको पूर्वाधारमा जोड् नदिएको भन्दै समर्थकले चर्को नारा लगाएका थिए। विमानस्थल पुगेका समर्थकलाई रोक्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो।

विमानस्थलमा प्रतिक्रिया दिँदै प्रशिक्षक जगत टमाटाले खेलाडीले देशका लागि यत्रो योगदान दिँदा पनि राज्यले चासो नदिएको दुखेको पोखे। उनले भने,‘ खेलाडीले घाइते हुँदा पनि पीडा र आँसु लुकाएर खेलेका छन्, घरको आर्थीक अवस्थाको ख्याल नगरी देशका लागि खेलेका छन्, उनीहरूले कसरी परिवार पालेका छन् यो कुरा खै कस्ले ख्याल गर्ने?’ क्यान निलम्बनले खेलाडीले २–३ वर्षदेखि तलब नपाउनु दुःखको विषय भएको भन्दै टमाटाले थपे, ‘ सरकारले आइसीसीसँग सहकार्य गरेर क्यानमाथिको निलम्बन फुकुवा गर्ने र क्रिकेट खेलको पूर्वाधार विकासमा जोड दिँदै खेलाडीको हकहितको लागि काम गरे यस्ता जितमा अझै धेरै खुशी हुने थियौं।’

स्वदेश फर्किएको नेपाली टोली अब धनगढीमा हुन लागेको धनगढी प्रिमियर लिग (डीपीएल) र टी–२० विश्वकपका लागि एसिया छनोटको तयारीमा लाग्नेछ।

प्रकाशित: २२ माघ २०७५ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App