१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निर्वाचन मिति नतोके विपक्षी नेतालाई समर्थन

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो नेतृत्वको सरकार विरोधी प्रदर्शनमा सहभागी प्रदर्शनकारी। तस्बिर : एजेन्सी

पेरिस – भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई निर्वाचन मिति तोक्नका लागि दबाव आउने क्रम जारी रहेको छ। केही दिनअघि स्पेन र बेलायतकै धारणा पछ्याउँदै युरोपेली राष्ट्र फ्रान्स र अस्ट्रियाले पनि यदि मादुरोले तत्काल नयाँ निर्वाचन मिति नतोके केही दिनअघि आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष एवं विपक्षी नेता जुवान गुआइडोलाई समर्थन गर्ने चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

आइतबार रातिसम्म राष्ट्रपतिको नयाँ निर्वाचन मिति घोषणा नगरे फ्रान्सले विपक्षी नेता जुवान गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले बताएको फ्रान्सका युरोपेली मामिलामन्त्रीले जानकारी दिएका छन्। ‘यदि आज रातिसम्म मादुरोले नयाँ राष्ट्रपतीय निर्वाचन गर्नेबारे प्रतिबद्धता व्यक्त नगरे फ्रान्सले जुवान गुआइडोलाई नयाँ निर्वाचन गराउनका लागि वैधानिक राष्ट्रपतिको मान्यता दिने छ र उनलाई हामी नयाँ निर्वाचन नभएसम्मका लागि अन्तरिम राष्ट्रपतिको मान्यता पनि दिने छौं,’ आइतबार एलसिआई टेलिभिजनसँग बोल्दै मन्त्री नाथालिई लुसीले बताइन्।

भेनेजुएलाका राष्ट्रपति मादुरोले समयअगावै संसदीय निर्वाचन गर्न गरेको प्रस्तावलाई उनले नाटकको संज्ञा दिँदै राष्ट्रपतीय निर्वाचनमा जोड दिएकी छन्। यसैबीच अर्को युरोपेली राष्ट्र अस्ट्रियाले पनि यदि युरोपेली संघले केही दिनअघि गरेको मागलाई राष्ट्रपति निकोलास मादुरो सम्बोधन नगरे विपक्षी नेता गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

भेनेजुएलामा स्वतन्त्र र निष्पक्ष नयाँ  राष्ट्रपतीय निर्वाचन गर्न युरोपेली संघले गरेको आग्रहमाथि निकोलास मादुरोले प्रतिक्रिया नजनाए अस्ट्रियाले विपक्षी नेता गुआइडोलाई अन्तरिमा राष्ट्रपतिको मान्यता दिने अस्ट्रियाका चान्सलर सेबास्टियन क्रुजले ट्विट गरेका छन्।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चौतर्फी दबाव बढेपछि र देशभित्र सरकार विरोधी प्रदर्शन चर्किएपछि भेनेजुएलाका राष्ट्रपति मादुरोले शनिबार समयअगावै संसदीय निर्वाचन गर्ने प्रस्तावअघि सारेका थिए।

शनिबार राजधानी कराकसमा आयोजना भएको सरकार विरोधी प्रदर्शनमा विपक्षी नेता गुआइडोले पनि स्वतन्त्र र निष्पक्ष नयाँ राष्ट्रपतीय निर्वाचनको माग गरेका थिए। तर राष्ट्रपति मादुरोले भने राष्ट्रपतीय नभई संसदीय निर्वाचनको प्रस्ताव अघि सारेका छन्। अस्ट्रियाका चान्सलर क्रुजले पनि फ्रान्सका युरोपेली मामिलामन्त्री लुसीजस्तै मादुरोको संसदीय निर्वाचन गर्ने भन्ने प्रस्तावलाई नाटकको संज्ञा दिएको रोयटर्सले उल्लेख गरेको छ।

‘मैलै भर्खरै मात्र राष्ट्रपति गुआइडोसँग धेरै सुःखद् फोन वार्ता गरेको छु,’ चान्सलर क्रुजले ट्विट गरेका छन्। ‘भेनेजुएलामा लोकतन्त्र स्थापनाका लागि गुआइडोलाई हाम्रो पूर्ण समर्थन रहेको छ। अस्तव्यस्तता र मादुरो नेतृत्वको सरकारका कारण भेनेजुएली नागरिकले लामो समयदेखि कष्ट सहिरहनु परेको छ,’ चान्सलर क्रुजको ट्विट उद्धृत गर्दै रोयटर्सले जनाएको छ। गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेको भन्दै यसै वर्षको सुरुमा दोस्रो कार्यकालका लागि मादुरोले राष्ट्रपतिको शपथ लिएसँगै भेनेजुएलाको राजनीति थप तनावग्रस्त हुँदै गएको छ। विपक्षीले बहिष्कार गरेको र धाँधलीपूर्ण भएका कारण सो निर्वाचनबाट निर्वाचित भनिएका मादुरो अवैधानिक राष्ट्रपति रहेको विपक्षीहरुको आरोप छ। उनीहरुले मादुरोले गराएको निर्वाचन आफैंमा अवैध भएकाले उनी राष्ट्रपति हुन नसक्ने र देशमा राष्ट्रपतिविहीनताको अवस्था रहेको तर्क अघि सार्दै आइरहेका छन्।  सोही तर्कबमोजिम नै केही दिनअघि विपक्षी नेता गुआइडोले देशको संविधान उद्धृत गर्दै आफू अन्तरिम राष्ट्रपति भएको घोषणा गरेका थिए।

भेनेजुएलाको संविधानअनुसार राष्ट्रपति नभएको अवस्थामा राष्ट्रिय सभाका अध्यक्ष कार्यवाहक राष्ट्रपति बन्ने प्रावधान रहेको भन्दै उनले सरकार विरोधी प्रदर्शनकै बेला आफूले आफैंलाई राष्ट्रपति घोषणा गरेका थिए। गुआइडोले अन्तरिम राष्ट्रपतिका रूपमा आफूलाई घोषणा गरेलगत्तै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई मान्यता दिएको घोषणा गरेका थिए। ट्रम्पलाई पछ्याँदै क्यानडालगायतका राष्ट्रले पनि गुआइडोलाई समर्थन गरेको घोषणा गरेका थिए, भने चीन, रुस, मेक्सिको र टर्कीजस्ता राष्ट्रले भने मादुरोको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।

‘विदेशी सेना पठाउनु विकल्प हुनसक्छ’
भेनेजुएलामा जारी राजनीतिक संकट समाधानका लागि विदेशी सेना पठाउनु एउटा विकल्प हुनसक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
भेनेजुएली राष्ट्रपति निकोलास मादुरोले भेटवार्ताका लागि गरेको आग्रह लत्याउँदै राष्ट्रपति ट्रम्पले विदेशी सेना पठाउनेतर्फ संकेत गरेका हुन्। सिबिएसमा आइतबार प्रसारण भएको ‘फेस द नेसन’ नामक अन्तर्वार्तामा उनले भेनेजुएलाको संकट समाधानका लागि विदेशी सेना पठाउनु विकल्प हुने बताएका हुन्। उनले मादुरोले आफूलाई भेट्न आग्रह गरेको भए पनि आफूले सो प्रस्ताव अस्वीकार गरिदिएको बताए।

प्रकाशित: २१ माघ २०७५ ०५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App