१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विद्यार्थी पक्राउ गरिएकोप्रति अमेरिकासँग भारत आक्रोशित

नयाँ दिल्ली – नक्कली विश्वविद्यालयमा भर्ना भएको भन्दै संयुक्त राज्य अमेरिकामा आफ्ना १२९ विद्यार्थी पक्राउ परेपछि भारतले कूटनीतिक विरोध जनाएको छ। अवैध आप्रवासनलाई लक्षित गर्दै अमेरिकी अधिकारीहरुले एउटा नक्कली विश्वविद्यालय खडा गरेका थिए। सोही विश्वविद्यायमा भर्ना हुन आएका १२९ भारतीय विद्यार्थी समातिएपछि भारतले कूटनीतिक विरोध जनाएको हो।

अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी मन्त्रालय होमल्यान्ड सेक्युरिटीका गुप्तचरहरूले ‘पे–टु–स्टे’ भनिने आप्रवासनसम्बन्धी गलत कार्य पत्ता लगाउन कागजमा सीमित विश्वविद्यालय खडा गरेका थिए। ती गुप्तचरहरुले मिसिगन राज्यमा फर्मिङ्टन विश्वविद्यालय रहेको भन्दै विज्ञापन अभियान चलाएका थिए।

भर्ना आएका विद्यार्थीलाई विज्ञापन गरिएको विश्वविद्यालय अवैध हो भन्ने पूर्वजानकारी भएको अभियोजकहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। विश्वविद्यालय अवैध हो भन्ने थाहा हुँदा हुँदै पनि अमेरिकामा बसोबास गर्ने उद्देश्यले उनीहरु भर्ना भएको अमेरिकी अधिकारीहरुको आरोप रहेको छ। उता, भारतले भने आफ्ना विद्यार्थीलाई छल गरिएको भन्दै कूटनीतिक विरोध जनाएको हो। भारतको विदेश मन्त्रालयले अमेरिकामा पक्राउ परेका भारतीय विद्यार्थीप्रति गम्भीर चासो देखाउँदै शनिबार दिल्लीस्थित अमेरिकी दूतावासमा उनीहरूलाई कन्सुलर पहुँच दिन आग्रहका साथ कूटनीतिक विरोध जनाएको बिबिसीले उल्लेख गरेको छ। मन्त्रालयले भारतीय विद्यार्थीलाई विश्वविद्यालयमा भर्ना गर्ने नाममा छल गरिएको हुनसक्ने भन्दै त्यसो गर्नेमाथि कारबाही गर्नसमेत माग गरेको छ।

‘अमेरिकी हिरासतमा रहेका सबै विद्यार्थीको पूर्ण विवरण भारत सरकारलाई दिन अमेरिकासमक्ष हामीले आग्रह गरेका छौं। पक्राउ परेका विद्यार्थीलाई हिरासतबाट मुक्त गर्न र उनीहरूको इच्छा विपरीत भारत नफर्काउन पनि हामीले अमेरिकी सरकारसमक्ष आग्रह गरेका छौं,’ भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘द टाइम्स अफ इन्डिया’का अनुसार हिरासतमा रहेका विद्यार्थीबारे चिन्तित आफन्तहरूले सम्पर्क गर्न अमेरिकास्थित भारतीय दूतावासमा टेलिफोन हटलाइनको व्यवस्था गरिएको छ। दिल्लीस्थित अमेरिकी दूतावासले भारत सरकारको कूटनीतिक पत्र प्राप्त गरेको पुष्टि गरे पनि पत्रबारे कुनै टिप्पणी नगरेको बिबिसीले उल्लेख गरेको छ।

अमेरिकाले सन् २०१५ मा नक्कली विश्वविद्यालय खडा गरेको थियो। सुरुमा विद्यार्थी भिसामा अमेरिका प्रवेश गरेर अमेरिकामै बस्न चाहने विद्यार्थीलाई पक्राउ गर्ने उद्देश्यले नक्कली विश्वविद्यालय खडा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। आप्रवासीलाई धरापमा पार्न खडा गरिएको फर्मिङटन विश्वविद्यायको वेबसाइटमा आरमदायी घाँसे मैदानको प्राङ्घणसहित कक्षाकोठा र पुस्तकालयमा पढिरहेका विद्यार्थीका तस्बिर राखिएका छन्। सो विश्वविद्यालयले अन्डरग्य्राजुएट (स्नातकभन्दा तल) पढ्न चाहने विद्यार्थीका लागि एक वर्षको आठ हजार पाँच सय र ग्य्राजुएट कार्यक्रम (स्नातक)का लागि ११ हजार अमेरिकी डलर ट्युसन फि रहेको भन्दै विज्ञापन गरेको थियो।

विश्वविद्यालयको विभिन्न गतिविधि समेटिएको क्यालेन्डरसहितको नक्कली फेसबुक पेजसमेत रहेको थियो। तर गत साता अदालतले प्रकाशन गरेका कागजातमा फर्मिङटन विश्वविद्यालयमा काम गर्ने सबै कर्मचारी आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय (आइसिई)का अन्डरकभर (गोप्य) एजेन्ट रहेको पाइएको थियो। नक्कली विद्यार्थी खडा गरेर आप्रवासीलाई पक्राउ गर्ने अमेरिकाको यस किसिमको अभियान पहिलो भने पक्कै होइन। सन् २०१६ मा पनि २१ जना यस्तै प्रक्रियामा पक्राउ परेका थिए। त्यसरी पक्राउ परेकामध्ये केही चिनियाँ भने र केही भारतीय नागरिक थिए। 

प्रकाशित: २१ माघ २०७५ ०५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App