१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सात किलोमिटर सडकको ट्रयाक ४१ वर्षमा

चेपाङ बाहुल्य क्षेत्र पश्चिमी मकवानपुरको चैनपुर–मनहरी सडकको उद्घाटन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल। तस्बिर : अशोकसुजन/नागरिक

मकवानपुर – सुन्दै अचम्म लाग्ने गरी पश्चिमी मकवानपुरको चेपाङ बाहुल्य क्षेत्रको सात किलोमिटर सडकको ट्रयाक खन्नै ४१ वर्ष लागेको छ। २०३४ सालमा सुरु भएको राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुरदेखि पूर्व–पश्चिम राजमार्ग मनहरी जोड्ने सडक ट्र्याकको बिहीबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

मोटर चढेर चैनपुर पुगेका मुख्यमन्त्री पौडेल र जनप्रतिनिधिलाई स्थानीयले फूलमाला र पञ्चेबाजाले स्वागत गरे। प्रजा विकास कार्यक्रमअन्तर्गत चेपाङ गाउँलाई राजमार्गसँग जोड्न तत्कालीन जिल्ला विकास समिति मकवानपुरले सडक निर्माण सुरु गरेको थियो ।

तर, जिल्ला विकास समिति र गाविसको रकम वर्षातमा आएको पहिरो पन्छाउँदै सकिने भएपछि २०५० सालदेखि बजेट दिन बन्द गरिएको थियो। भीर र कडा चट्टान भएकाले १६ वर्षमा सडकको ट्र्याक खोल्न करिब दुई करोड रुपैयाँ खर्च भए पनि त्यसले सार्थकता पाउन सकेको थिएन ।

पछि राक्सिराङ गाउँपालिकाको पहिलो बैठकले प्राथमिकतासाथ चैनपुर–मनहरी सडकको ट्र्याक खोल्ने निर्णय गरेको थियो। निर्णयसँगै बजेट विनियोजन गरी उपभोक्ता समितिमार्फत निर्माण सुरु गरेको थियो। उपभोक्ता समितिले प्रभावकारी काम गर्न नसकेपछि कम्पनीमार्फत् ट्र्याक निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।

थप सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
मुख्यमन्त्री डोरमणि पौडेलले चैनपुर–मनहरी सडकको स्तरोन्नतिका लागि प्रदेश सरकारले थप सहयोग गर्ने प्रतिबद्धता जनाए। स्थानीय तहमा जनप्रतिनिधि आएपछि उदाहरणीय काम भइरहेको भन्दै उनले सडकको थप सुधारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए। प्रदेश ३ को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा प्रदेशसभाका सांसद इन्द्रबहादुर बानियाँले सडक कालोपत्रे गरेर जनतालाई सुविधा दिन पहल गर्ने बताए ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले सडक सञ्चालनमा आए पनि थप निर्माणको आवश्यकता रहेको बताए। सडक निर्माण भएपछि नौ महिना खोला र भीरको बाटो हिँड्नुपर्ने बाध्यता अन्त्य भएको बताउँदै उनले ट्र्याक निर्माण भए पनि विशेषगरी चेपाङ र तामाङ समुदाय लाभान्वित भएको जनाए ।

सडकको ट्र्याक निर्माण भएपछि कैलाश र राक्सिराङ गाउँपालिकाका करिब २५ किलोमिटर खोला र भीरको यात्रा गर्नुपर्ने अवस्थाबाट मुक्त भएका छन् । उक्त क्षेत्रमा कात्तिकदेखि जेठसम्म आठवटा बस खोला र भीरबाट जोखिमपूर्ण रुपमा सञ्चालन हुने गरेको छ।

ट्रयाक छिटो खोलेपछि कम्पनीलाई सम्मान
चालु आर्थिक वर्ष ०७५÷७६ मा सडकको ट्र्याक खोल्न गाउँपालिकाले एक करोड रुपैयाँमा ठेक्का आह्वान गरेको थियो। तीन महिनामै सडकको ट्र्याक खोलेपछि गाउँपालिकाको चौथो सभामा कन्स्ट्रक्सनलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ। पुजन कन्स्ट्रक्सनले ५५ लाख रुपैयाँमा ठेक्का पारेर ट्र्याक खोलेको हो। अघिल्लो आर्थिक वर्ष ०७४÷७५ मा दुई उपभोक्ता समितिलाई ५०–५० लाख रुपैयाँ दिएर काम गराइएको थियो।

प्रकाशित: २१ माघ २०७५ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App