१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रंगशालाको डिपिआर निर्माण प्रारम्भ

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर निर्माण कार्य शुभारम्भ कार्यक्रमका सहभागी। तस्बिरः सविता/नागरिक

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा बनाउन लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर निर्माण कार्य प्रारम्भ गरिएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रंगशालाको डिपिआर निर्माण कार्य आइतबारबाट सुरु भएको छ।

डिपिआर निर्माण कार्यको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले आइतबार संयुक्त रूपमा सुरु गरे। आगामी छ महिनाभित्र डिपिआर तयार गरेर रंगशाला निर्माणको शिलान्यास गरिने फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए । ‘६ महिनाभित्रमा डिपिआर तयार गर्ने भनेका छौं,’ उनले भने, ‘हाम्रो तयारीले त्यति समय पनि लाग्दैन, छिटोभन्दा छिटो काम गर्छौं।’ कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरभित्रको २० बिघा ६ कट्ठा जमिनमा रंगशाला निर्माण गरिँदै छ।

रंगशाला निर्माणका लागि जग्गा उपलब्ध हुने प्रक्रियाका लागि समय लागे पनि पूर्वाधार निर्माणको काम द्रुत गतिमा हुने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल बताउँछिन्।

रंगशाला तीन अर्बको लगानीमा बनाइनेछ। रंगशाला बनाउन कम्तीमा छ अर्ब खर्चिनुपर्ने हुन सक्ने भए पनि यो परियोजना तीन अर्बमा सम्भव हुने परियोजना बनाउन फाउन्डेसन लागि परेको उनले बताए। निर्माण कार्यका लागि हुने श्रमदान, स्वयंसेवकको सहयोगले पनि पैसाको लगानी कम पर्ने उनको अनुभव छ। फाउन्डेसनले यसअघि विभिन्न जिल्लामा निर्माण गरेको परियोजना पनि मूल्याङ्कनभन्दा कम रकममा पूरा गरेको उदाहरण उनले दिए।  

विगतमा गरिएका काममा प्रत्यक्ष खटिएको अनुभवलाई नै रंगशाला निर्माणमा पनि प्रयोग गरिने उनले बताए। रंगशालामार्फत खेलकुदको हब बनाउने परिकल्पना पूरा गर्न लागेको कट्टेलले बताए। ‘रंगशाला क्रिकेटको मात्र होइन, यो सम्पूर्ण खेलको हो,’ उनले भने, ‘यहाँ, फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दोलगायतका खेल खेल्न सकिन्छ।’

रंगशालालाई खेलकुद एकेडेमीका रूपमा सञ्चालन गरिने उनले बताए। रंगशाला निर्माणका लागि चितवन रोज्नुको कारण देशको केन्द्रीय भाग भएको उनको भनाइ थियो। भरतपुर महानगरपालिकाले देखाएको तत्परताको कारणले पनि भरतपुरलाई रोजिएको उनले जानकारी दिए।  जग राखेको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

डिपिआर शुभारम्भ कार्यक्रममा नै चितवनवासीले फाउन्डेसनको अभियान सहयोग गर्न सुरु गरेका छन्। कार्यक्रममा एक हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म सहयोग प्रदान गरिएको छ। रंगशाला निर्माणका लागि जग्गा उपलब्ध हुने प्रक्रियाका लागि समय लागे पनि पूर्वाधार निर्माणको काम द्रुत गतिमा हुने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल बताउँछिन्। सरकारको साथ र समन्वयबाट नै रंगशाला बन्ने उनले बताइन्। महानगरमा बन्न लागेको रंगशाला देशकै गौरवको आयोजना भएको उनको भनाइ छ।

प्रकाशित: २१ माघ २०७५ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App