१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति मादुरोविरुद्ध प्रदर्शन

कराकास – भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलास मादुरोविरुद्ध बृहत् प्रदर्शन गरेका छन् । अमेरिकालगायतका देशको समर्थन पाएका विपक्षी नेता जुवान गुआइडोको नेतृत्वमा विपक्षीले व्यापक प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति मादुरोलाई तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गरेको समाचारमा जनाइएको छ । 

युरोपेली संघमा आवद्ध प्रमुख देशहरुले पनि आठ दिनभित्रमा नयाँ निर्वाचनको मिति तोक्न मादुरोलाई गत साता अल्टिमेटम दिएका थिए । उनीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मादुरोलाई सहयोग गर्न नसक्ने र आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुआइडोलाई समर्थन गर्ने चेतावनी दिएका थिए । 

विपक्षीको नेतृत्वमा रहेको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष गुआइडोले राष्ट्रपति मादुरोलाई अवैध दाबी गर्दै केही दिन अगाडि आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । यसैबीच भेनेजुएलामा राजनीतिक संघर्ष चुलिँदै गएपछि सरकारले कतिपयलाई देश निकाला गरेको छ भने कैयौं मानिस आफैं विस्थापित भएका छन् । कैयौं मानिस देश निकालामा परेको विषय उल्लेख गर्दै अमेरिकाको मियामीमा आयोजित भएको एउटा ¥यालीमा बोल्दै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भेनेजुएलाका राष्ट्रपति मादुरोले अमेरिकाले भनेअनुसार नै काम गर्ने विश्वास व्यक्त गरेका छन् । 

राष्ट्रपति मदुरो र सेनाबीच छलफल
यसैबीच राष्ट्रपति मादुरोले सुरक्षा अधिकारीसँग छलफल गरेका छन् । उनले आन्दोलनलाई नियन्त्रण गर्ने र त्यसका लागि आवश्यक तयारी तथा व्यवस्थापनका बारेमा छलफल गरेको बताइएको छ । ‘गुप्तचरसम्बन्धी कार्यलाई अझ सशक्त बनाउन आवश्यक छ । यसको क्षेत्र विस्तार गर्दै निरोधक बनाउनुपर्ने भएको छ,’ राष्ट्रपति मादुरोले सुरक्षा अधिकारीसँग बताएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । 

आफ्ना सुरक्षा अंगले आतंक मच्चाउनेलाई निस्तेज पार्न र अपराध नियन्त्रण गर्न सक्ने राष्ट्रपति मादुरोले बैठकमा विश्वास व्यक्त गरेको बताइएको छ ।

विपक्षी नेता गुआइडोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलाका विभिन्न निकाय विभाजित भए पनि देशको सुरक्षाकर्मीले भने राष्ट्रपति मादुरोलाई नै समर्थन गरेका छन् । विशेषगरी भेनेजुएलाको शक्तिशाली सेनाले गुआइडोलाई नचिन्ने स्पष्ट पार्दै मादुरोकै साथमा रहेको जनाएको छ । 

अमेरिकासहित युरोपेली संघमा रहेका राष्ट्रको समर्थन प्राप्त गरेका ३५ वर्षीय विपक्षी नेता गुआइडोले यसअघि आफूलाई देशकै सुरक्षाकर्मीबाट सुरक्षा चुनौती रहेको बताएका थिए । आफूले आफैंलाई  राष्ट्रपति घोषणा गरेका विपक्षी नेता गुआइडोलाई भेनेजुएलाको सर्वोच्च अदालतले देश छोड्न प्रतिबन्ध लगाउँदै सम्पत्तिसमेत रोक्का गरिदिएको छ । गत वर्ष सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेका विपक्षी नेता मादुरोले यस वर्षको सुरुवातमा दोस्रो कार्यकालका लागि शपथ लिएपछि भेनेजुएलाको राजनीति थप तनावपूर्ण अवस्थामा पुगेको हो । विपक्षीले बहिष्कार गरेको सो राष्ट्रपतीय निर्वाचनलाई नै वैध मानेर मादुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेको आरोप पश्चिमा राष्ट्रहरुले लगाउँदै आएका छन् । 

भेनेजुएलाको विषयलाई लिएर विश्व नै दुर्व ध्रुवमा विभाजित भएको छ । आफूले आफैंलाई राष्ट्रपति घोषणा गरेका विपक्षी नेता गुआइडोलाई संयुक्त राज्य अमेरिका, क्यानडालगायतका राष्ट्रले समर्थन गरेका छन् भने राष्ट्रपति मादुरोलाई रुस, चीन, टर्की र मेक्सिकोलगायतका राष्ट्रले समर्थन गरेका छन् । 

यसैबीच विपक्षीहरुले राष्ट्रपति मादुरोविरुद्धको प्रदर्शनलाई जारी राख्ने बताएका छन् । 

 

क्याप्सन ः आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता जुवान गुआइडो । तस्बिर ः रोयटर्स 

 

 

प्रकाशित: २० माघ २०७५ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App