१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भरतपुरमा पाँच आयोजनाको शिलान्यास

भरतपुर महानगरपालिकामा निर्माण हुने पाँच आयोजनाको शिलान्यास कार्यक्रमका सहभागी। तस्बिर : सविता / नागरिक

चितवन –  भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको पाँच आयोजनाको बिहीबार संयुक्त रुपमा शिलान्यास गरिएको छ। करिब ५६ करोड रुपैयाँ लागतमा महानगरपालिकाको विभिन्न स्थानमा पाँचवटा आयोजना निर्माण कार्य सुरु गरिएको हो। 

नेपाल सरकार सहरी विकास मन्त्रालयबाट सञ्चालित सघन सहरी विकास भवन निर्माण संहिता (सरकारी भवन निर्माण) कार्यक्रमअन्तर्गत महानगरमा पाँच पूर्वाधार तयार गर्न लागिएको हो। उक्त आयोजनाहरुको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिका–९ को केन्द्रीय बस टर्मिनलमा संयुक्त रुपमा शिलान्यास गरेका छन्। चितवनको विकासका निम्ति पाँच आयोजना महत्वपूर्ण रहेको अध्यक्ष दाहालले बताए।

साना आयोजना भए पनि यस्ता आयोजनाले भरतपुरलाई सभ्य र सुसंस्कृत बनाउन अर्थ राख्ने उनी बताउँछन्। ‘चितवनको रामपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्नु जिल्लाको विकासका निम्ति र समृद्धिको निम्ति रणनैतिक आधार दिन्छ,’ उनले भने, ‘यी र यस्तै काम अगाडि बढ्दै गएर पाँच वर्ष नपुग्दै चितवन र भरतपुर महानगरपालिका देशकै नमुना सहरको रुपमा स्थापित हुन सम्भव छ।’ नमुना महानगर बनाउन भूमिका खेल्ने आयोजना पूरा गर्न सबैको संकल्प आवश्यक रहेको उनले बताए। 

यहाँका जनप्रतिनिधिमा भएको नयाँ काम गरौं र छिटोभन्दा छिटो राम्रो तरिकाले धेरै विकास गरौं भन्ने हुटहुटी नै अवसर भएकाले त्यसको सदुपयोग गरिनुपर्ने उनको भनाइ छ। भरतपुरलाई नमुना महानगर बनाउन सहरी विकास मन्त्रालयको सहयोग महत्वपूर्ण भएको बताउँदै आउने दिनमा पूर्वाधार विकासको निम्ति थप सहयोग पाउनेमा विश्वस्त हुन अध्यक्ष दाहालले जिल्लाबासीलाई आग्रह गरे। 

कार्यक्रममा सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले भरतपुर महानगरपालिका र माडी नगरपालिका तथा पूर्वी चितवनको खैरहनी नगरपालिका जोड्ने गरी एकीकृत आयोजना सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। देशकै मध्य भागमा रहेको भरतपुरमा संगमस्थलको रुपमा विकास गर्न सक्दो सहयोग गर्ने उनले बताए। भवन निर्माण कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिका–१९ मा रहेको रानी पोखरीमा पार्क तथा पूर्वाधार निर्माण गरिँदैछ। नौ करोड ४५ लाख ९४ हजार एक सय ८० रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गर्न सम्झौता गरिएको छ। 

यस्तै, १० करोड ९० लाख ७३ हजार ६ सय ८२ रुपैयाँ लागतमा वडा नम्बर ६ मा लक्ष्मी नारायण तथा ओमकारेश्वर मन्दिर, पार्क तथा पूर्वाधार निर्माण हुनेछ। केन्द्रीय बस टर्मिनल परिसरमा निर्माण सुधार कार्य गर्न नौ करोड १८ लाख २३ हजार तीन सय दुई रुपैयाँमा सम्झौता भएको छ। ०७७ को पुस १५ भित्र काम सक्ने गरी तीनवटै आयोजना निर्माण गर्न रविना कन्स्ट्रक्सन, काठमाडौंसँग सम्झौता गरिएको छ। चितवनको देवघाटमा विद्युतीय शवदाह भवन तथा मलामी प्रतिक्षालय निर्माण गरिँदैछ।

११ करोड २१ लाख आठ हजार ६ सय ४१ रुपैयाँ लागतमा २०७७ माघ १० गतेभित्र सक्नेगरी मिलेनियम–सिद्धिगढी जेभीलाई निर्माणको जिम्मा दिइएको छ। कार्यक्रमअन्तर्गत भरतपुर अस्पतालमा कुरुवा घर एवं पूर्वाधार निर्माण गरिँदै छ। ०७७ पुस ८ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ६ करोड ८१ लाख ३० हजार तीन सय आठ रुपैयाँमा सम्झौता भएको छ। कुरुवा घर निर्माणको जिम्मेवारी रविना/जोशी, फुलजोर जेभीलाई दिइएको छ। 

प्रकाशित: १८ माघ २०७५ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App