१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शान्ति सम्झौताको मस्यौदा ढाँचा बनाउने सहमति

दोहा – संयुक्त राज्य अमेरिका र तालिबानबीच शान्ति सम्झौतासम्बन्धी मस्यौदाको ढाँचा निर्माण गर्ने विषयमा सहमति भएको छ। अफगानिस्तानमा १७ वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्ने विषयको शान्ति सम्झौताको मस्यौदाको ढाँचा निर्माणबारे अमेरिका र तालिबानबीच सहमति भएको अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकी अधिकारीहरु र अफगानिस्तानमा संघर्षरत तालिबानबीच गत साता कतारमा ६ दिनसम्म भएको वार्तामा सो सहमति भएको बताइएको छ। अमेरिकासँग शान्ति सम्झौताको प्रारुप तयार पार्ने विषयमा सहमति गरे पनि विदेशीको पपेटको संज्ञा दिँदै आएको तालिबानले अफगान सरकारसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको छ।

अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता लाने निश्चित मितिबारे सहमति भएपछि मात्रै अफगान सरकारसँग वार्ता सुरु गर्ने तालिबानले बताएको छ। सोमबार मात्रै पनि अफगान राष्ट्रपति असरफ घानीले विद्रोही तालिबानलाई सरकारसँग प्रत्यक्ष वार्ता गर्नका लागि आह्वान गरेका छन्। वासिङ्टन र तालिबानबीच शान्ति सम्झौताको मस्यौदा तयार पार्ने विषयमा सहमति भए पनि यस विषयले तार्किक निष्कर्षमा पाउनका लागि कैयौं वर्ष लाग्न सक्ने विश्लेषकहरुले बताएका छन्। अफगानिस्तानको शान्ति प्रक्रियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका विशेष दूत जाल्मे खलिलजाद तालिबानसँग भएको सहमतिको  जानकारी दिनका लागि अफगानिस्तानको राजधानी काबुल पुगेर फर्किसकेको बिबिसीले जनाएको छ। ‘सम्झौता हुनुपूर्व शान्ति सम्झौताको प्रारुप तयार पार्न बाँकी रहेको छ,’ काबुलमा रहँदा विशेष दूत खलिलजादले ‘द न्युयोर्क टाइम्स’सँग बताए। अमेरिकी विदेश मन्त्रालयले पनि विशेष दूत खलिलजादको भनाइलाई पुष्टि गरेको बिबिसीले बताएको छ।

यदि अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लगे आतंकवादीलाई सुरक्षित आश्रयस्थल प्रदान नगर्न वासिङ्टनले गरेको प्रमुख मागमा तालिबानले प्रतिबद्धता व्यक्त गरेको न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा विशेष दूत खलिलजादले बताए। ‘अमेरिकी सेना फिर्ता भएपछि अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादी समूह वा व्यक्तिको लागि वासस्थान हुन्छ कि भन्ने हाम्रो चिन्तालाई तालिबानले त्यस्तो हुन नदिने भन्दै प्रतिबद्धता व्यक्त गरेको छ,’ न्युयोर्क टाइम्ससँग खलिलजादले बताए। न्युयार्क टाइम्ससँगको अन्तर्वार्ता अघिसम्म खलिलजादले तालिबानसँग भएको वार्तामा उल्लेख्य प्रगति भएको भन्दै शृंखलाबद्ध ट्विट मात्रै गरेका थिए। उनले आफ्ना ट्विटमा विस्तृत जानकारी भने दिएका थिएनन्।

विशेषगरी दुईवटा प्रमुख मुद्दामा कसरी सहमति गर्न सकिन्छ भनेर दुवै पक्षले विस्तृत योजना बनाउनका लागि दुईवटा कमिटी गठन गर्नेबारे वार्तामा सहमति भएको अमेरिकासँगको वार्तामा सहभागी तालिबानका एक उच्च अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ती दुई मुद्दामा अफगानिस्तानमा रहेका अमेरिकी नेतृत्वको सेनाको फिर्ती र भविष्यमा अल–कायदाजस्ता अन्तर्राष्ट्रिय जिहादीलाई अफगानिस्तान आधार शिविर बन्न नदिनेबारे तालिबानको प्रतिबद्धता रहेको उनले बताए।

‘गठन गरिएका कमिटीले अमेरिकी सेना फिर्ता हुने रुट र त्यसरी फिर्ता हुनका लागि कति समय लाग्छ भन्नेबारे पहिल्याउने छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक तालिबान अधिकारीले बिबिसीसँग बताए। तालिबानले ६ महिनाको समय सुझाव दिएको भए पनि त्यसलाई बढाउन सकिने उनको कथन थियो। सन् २०१४ मा विदेशी सेनाले अफगानिस्तान छोडेदेखि तालिबानको शक्तिमा वृद्धि भइरहेको छ। उसले देशको दुईतिहाई भन्दा बढी भूभागमा आफ्नो नियन्त्रण कायम राखेको छ भने दैनिकजसो सरकारी फोज लक्षित आक्रमण पनि जारी राखेको छ। शुक्रबारमात्रै अफगान राष्ट्रपति घानीले विदेशी सेनाले अफगानिस्तान छोडेदेखि अफगान सुरक्षा फौजका ४५ हजारभन्दा बढी सदस्यले ज्यान गुमाइसकेको बताएका थिए।

प्रकाशित: १५ माघ २०७५ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App