१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने आबेको प्रतिबद्धता

टोकियो – जापानका प्रधानमन्त्री सिन्जो आबेले चीनसँग निरन्तर सुधारको क्रममा रहेको दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन्। उनले चीनको बढ्दो सैनिक गतिविधि र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको अनिश्चितताका कारण जापानको सैनिक क्षमता सुदृढ गर्न लगानी बढाउँदै लैजानेसमेत बताएका छन्।

संसदमा सोमबार जापानको विदेश नीतिका बारेमा सम्बोधन गर्दै प्रधानमन्त्री आबेले दक्षिण कोरियासँग पछिल्लो समय उत्पन्न गतिरोधका बारेमा भने केही उल्लेख नगरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

विगतमा उनले दक्षिण कोरियालाई जापानको सर्वाधिक महŒवपूर्ण छिमेकी बताउँदै आएका थिए।प्रधानमन्त्री आबेले जापान–चीन सम्बन्धमा गत वर्ष अक्टोबरमा आफूले चीनको भ्रमण गरेयता सामान्य अवस्थामा आएको बताए। दुवै मुलुकबीच व्यापार र अन्य क्षेत्रमा परस्पर सहयोग बढाउन जापान इच्छुक रहेको पनि उनले जानकारी दिए। ‘जापान–चीन सम्बन्ध अहिले सुमधुर अवस्थामा छ। आगामी दिनमा सबै क्षेत्रमा यो सम्बन्धलाई थप विस्तार गर्ने मेरो चाहना छ,’ उनको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ।

अमेरिकासँग चीन र जापान दुवै मुलुकको व्यापारिक सम्बन्धमा तनाव उत्पन्न भएसँगै दुई मुलुक नजिएको अनुमान गरिएको छ। एसियाका परस्पर प्रतिस्पर्धी यी दुवै मुलुकको सम्बन्ध सन् २०१२ यता निकै कमजोर स्थितिमा पुगेको थियो। खासगरी जापानको नियन्त्रणमा रहेका पूर्वी चीन सागरमा अवस्थित टापुमा चीनले दाबी गरेपछि दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो।
 

प्रकाशित: १५ माघ २०७५ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App