१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकार अधिनायक भएको भन्दै तरुण दलको प्रदर्शन

मकवानपुर - कम्युनिष्ट सरकार अधिनायकतर्फ अघि बढेको भन्दै नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको छ। सातवटै प्रदेशको राजधानीमा विरोध प्रदर्शन तथा सभा गर्ने तरुण दलको कार्यक्रमअनुसार बिहीबार प्रदेश ३ को राजधानी हेटौंडामा प्रदर्शन तथा विरोधसभा गरेको हो।

नेपाल तरुण दलका जतजंग बस्नेतले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र प्रजातन्त्र नै सिध्याउन लागेको भन्दै सरकारविरुद्ध अन्तिम लडाइँ लड्ने बताए। ‘सरकारले संविधानको धारा कुल्चिएर विभिन्न निर्णय गरेको छ,’ उनले भने, ‘सरकारले देशमा अस्थिरता निम्त्याएको छ, सरकार भ्रष्टाचार र अनियमिताको उत्कर्षमा पुगेको छ।’ भ्रष्टाचार र अनियमितताको आरोप लागेका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र मेलम्ची खानेपानी आयोजना अलपत्र पार्ने खानेपानी मन्त्री बिना मगरलाई संरक्षण गरेको भन्दै उनले सरकारले भ्रष्टाचारीलाई जोगाउन दिलो ज्यान दिएको आरोप लगाए। प्रधानमन्त्री ओलीले समृद्धि र विकासको नारा अघि सारे पनि यर्थातमा मुलुकलाई उल्टो दिशातिर लगिरहेको उनले जिकिर गरे।

नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ओली सरकारले लोकतन्त्रको अनुशासन र विधिको शासनलाई तोडेको आरोप लगाए। ‘कम्युनिस्टसँग संस्कार र संस्कृतिको राजनीति पटक्कै देखिएको छैन,’ उनले भने, ‘यसले देशमा कहिल्यै समृद्धि आउन सक्दैन।’ तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईंले सरकारले दुईतिहाइको दम्भ देखाएको भन्दै तरुण दलले आन्दोलनमार्फत नै सरकारको घमण्ड तोडेरै छोड्ने बताए। तरुण दलका महासचिव भुपेन्द्रजंग शाही, कोषाध्यक्ष विद्धान गुरुङले संसद्मा कांग्रेस सांसदलाई बोल्न नदिएर सभामुख कृष्णबहादुर महराले गुरिल्ला शैली प्रस्तुत गरेको आरोप लगाउँदै महँगा गाडी र हेलिकोप्टर चढेर देशमा समृद्धि नआउने तर्क गरे।

तरुण दलका काठमाडौं अध्यक्ष कृष्णजित खड्का, सिन्धुपाल्चोक अध्यक्ष दोर्जे लामा, मकवानपुर अध्यक्ष ईश्वर पाठकलगायतले सरकारको क्रियाकलाप उचित नभएको भन्दै सरकारको गलत कामको तरुणले सधैँ खबरदारी गरिरहने बताए। हेटौंडा २ स्थित कांग्रेस पार्टी कार्यालयबाट निस्किएको विरोध र्‍याली संगमचोक, कान्तिराजपथ, स्कुलरोड, सीमाचोक, टिसिएनरोड, बसपार्क, राप्तीरोडहुँदै बुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो।

प्रकाशित: ११ माघ २०७५ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App