१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रियंका गान्धी सक्रिय राजनीतिमा

नयाँ दिल्ली  – भारतको पुरानो दल भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंका गान्धी सक्रिय राजनीतिमा होमिएकी छन्। भारतमा आसन्न आम निर्वाचनको पूर्वसन्ध्यामा कंग्रेसले नेहरु–गान्धी परिवारबाट गान्धीलाई सक्रिय राजनीतिमा उत्रारेको हो।

भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धी र सोनिया गान्धीकी छोरी प्रियंकालाई भारतको राजनीतिमा अत्यन्तै महत्वपूर्ण मानिने उत्तर प्रदेशको उत्तरी भागको महासचिवका रूपमा कंग्रेसले जिम्मेवारी दिएको छ। आगामी फेब्रुअरी महिनादेखि उनले त्यो भूमिका निर्वाह गर्ने बताइएको छ।

यसअघि आफ्ना दाजु राहुल गान्धी र आमा सोनिया गान्धीका निर्वाचन कार्यक्रममा सक्रियातापूर्वक अभियान चलाउने गरेको भए पनि औपचारिक राजनीतिक भूमिका निर्वाह गर्न भने प्रियंकाले अस्वीकार गर्दै आएकी थिइन्।

भारतमा आउँदो अप्रिल र मे महिनामा लोकसभाको निर्वाचन हुँदैछ। निर्वाचन हुने कुल पाँच सय ४३ संसदीय क्षेत्रमध्ये उत्तर प्रदेश राज्यमा सर्वाधिक ८० क्षेत्र छन्। त्यसैले पनि भारतको राजनीतिमा उत्तर प्रदेशको मतलाई अत्यन्तै महत्वका साथ हेरिन्छ। सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएदेखि भारतमा बनेका एकाधबाहेकका सरकार निर्माणमा उत्तर प्रदेशको सिट संख्या निर्णायक बन्ने गरेको छ। उत्तर प्रदेशको सिट संख्या निर्णायक हुने भएकाले पनि भारतीय कंग्रेसले प्रियंकालाई उत्तर प्रदेशमै उत्रारेको अनुमान गरिएको छ।

उत्तर प्रदेशबाट जवाहरलाल नेहरूदेखि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सात नेता भारतको प्रधानमन्त्री बनेका छन्। गान्धी परिवारका सदस्यहरु उत्तर प्रदेशका विभिन्न स्थानबाट निर्वाचनमा सहभागी हुँदै आएका छन्। राहुल गान्धी सन् २००४ देखि सो राज्यको अमेठीबाट निर्वाचित हुँदै आएका छन्। आसन्न संसदीय निर्वाचनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्षी कांग्रेस दुवैले उत्तर प्रदेशका लागि विशेष निर्वाचन रणनीति बनाउने आकलन गरिएको बिबिसीले उल्लेख गरेको छ।

यसअघि सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले उत्तर प्रदेशका ८० मध्ये ७५ स्थानमा जित निकालेका थियो। भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसको निर्वाचन क्षेत्रबाट चुनवा जितेका थिए। उत्तर प्रदेशमा सन् १९८०को दशकसम्म कंग्रेसको वर्चस्व रहेको भए पनि विभिन्न राजनीतिक कारणले गर्दा सो दलले त्यसपछि उत्तर प्रदेशमा आफ्नो प्रभाव गुमाउन थालेको थियो। प्रियंका गान्धीलाई उत्तर प्रदेशको राजनीतिमा ओरालेर कंग्रेसले गुमेको आफ्नो वर्चस्वलाई पुनस्र्थापित गर्न खोजेको छ। आसन्न निर्वाचनमा प्रियंका गान्धीबाट पार्टीलाई उत्तर प्रदेशमा मात्र नभएर देशैभरि फाइदा पुग्ने कंग्रेस नेता राजीव शुक्लाले बिबिसीसँग बताएका छन्।

प्रियंकालाई राजनीतिमा आराल्ने कंग्रेसको निर्णयप्रति सत्तारुढ भारतीय जनता पार्टीले भने व्यङ्ग्य गरेको छ। भारतीय जनता पार्टीका प्रवक्ता सम्बित पात्राले भने, ‘सबैतिरबाट अस्वीकृत भएपछि कंग्रेसले गान्धी परिवारबाटै सहयोग खोजेको छ।’ ‘भाजपा र कंग्रेसमा एउटा आधारभूत भिन्नता छ। भाजपाका लागि पार्टी परिवार हो तर कंग्रेसका लागि परिवार नै पार्टी हो,’ प्रवक्ता पात्रालाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

सन् १९७२ जनवरी १२ का दिन जन्मिएकी प्रियंका गान्धीलाई भारतीय राजनीतिमा उनकी हजुरआमा एवं पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीसँग तुलना गर्ने गरिन्छ। उनको केश, लुगा र कुरा गर्ने तरिकामा पनि इन्दिरा गान्धीको झल्को आउने गरेको छ। धैरै पहिलादेखि नै प्रियंका सक्रिय राजनीतिमा आउन लागेको चर्चा चले पनि अहिले आएर भने त्यो चर्चा सार्थकतामा परिणत भएको छ।

यसअघि सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा उनी भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीविरुद्ध बनारसबाट प्रतिस्पर्धा गर्न चाहन्थिन्।  तर उनलाई पार्टीभित्रैबाट त्यसो नगर्न सल्लाह दिइएको कंग्रेस निकट स्रोतलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। दाजु राहुल गान्धीले कंग्रेसको नेतृत्व सम्हालेपछि केही समय कंग्रेस राजनीतिमा सक्रिय देखिए पनि प्रियंका विस्तारै निष्क्रिय बनेकी थिइन्।

पार्टीभित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिन प्रियंका गान्धीलाई निर्वाचन अभियानमा प्रयोग गर्नुपर्ने धारणा बढ्दै गए पनि दाजु राहुल गान्धीलाई देशको राजनीतिमा बलियो बनाउने आमा सोनिया गान्धीको चाहनाका कारण त्यो सम्भव भएको थिएन। प्रियंका राजनीतिमा आउँदा दाजु र बहिनीबीच तुलना हुने र त्यसबाट पार्टीलाई हानी पुग्ने डर सोनिया गान्धीमा भएको बताइन्छ।

यसअघि सन् २००४ मा पनि पार्टीले प्रियंकालाई सोनिया गान्धीको निर्वाचन अभियानमा प्रयोग गरेको थियो। दिल्ली विश्वविद्यालयको जिसस एन्ड मेरी कलेजबाट मनोविज्ञान अध्ययन गरेकी प्रियंकाले सन् १९९७ मा व्यापारी रोबर्ट वाड्रासँग विवाह गरेकी थिइन्। प्रियंका र रोबर्टका एक छोरा  र एक छोरी छन्।

प्रकाशित: १० माघ २०७५ ०६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App