१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

थकान महसुस हुँदैन : सन

दुबई – दक्षिण कोरियाका सन ह्युङ मिनले व्यस्त खेलतालिकाबीच पनि युएईमा जारी एसिया कपका लागि टोलीमा फर्किंदा थकानको कुनै महसुस नभएको दाबी गरेका छन्।

रूसमा सम्पन्न विश्वकपलगत्तै इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्याम फर्किएका सनले इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा टोलीलाई स्वर्ण पदक दिलाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। त्यतैबाट पनि टोटेनह्याम फर्किएका सन हाल एसिया कपका लागि टोलीमा समावेश छन्।

दक्षिण कोरियाले मंगलबार बहराइनमाथि २–१ को जित हात पार्दै एसिया कपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्नका लागि अतिरिक्त समयसम्म कुर्नुपरेको थियो। त्यस लगत्तै सन व्यस्त खेलतालिकाले थकित देखिएको भन्ने चर्चा सुरु भएको थियो।

‘खेलका क्रममा खेलाडी कस्तो मानसिकताका साथ मैदान प्रवेश गर्छ, त्यसैमा उसको प्रदर्शन निर्भर हुन्छ,’ सनले भने, ‘तपार्इंले थकान महसुस गर्नुभयो भने खेलअवधिभर तपार्इं थकित देखिनुहुन्छ। पक्कै पनि म खेलपछि थकान महसुस गर्छु, तर आरामका लागि कम समय भए पनि अर्को खेल खेल्न सधैं तयार हुन्छु। टोटेनह्यामबाट खेल्दा होस् वा दक्षिण कोरियाबाट खेल्दा मेरो खेलप्रतिको मानसिकता सधैं एउटै हुने गर्दछ।’

दक्षिण कोरियाका प्रशिक्षक पाउलो बेन्टोले सनका बारेमा बाहिर आएका खबर चासोका साथ हेरिरहेको बताएका छन्। दक्षिण कोरियाले सनको कप्तानीमा ५९ वर्षपछि एसियाली खेलकुदमा पहिलो पटक स्वर्ण जितेको थियो। एसिया कपका लागि युएई आउनुअघि २६ वर्षे सनले एक महिनाको अवधिमा टोटेनह्यामबाट १२ खेल खेलका थिए।

दक्षिण कोरियाली टोलीका लागि प्रमुख खेलाडीको चोट चिन्ताको विषय बनेको छ। मिडफिल्डर कि सुङ युएङ ह्यामस्ट्रिङको समस्याका कारण मैदानबाहिर छन्।

‘कि सुङ युएङको अनुपस्थिति टोलीका लागि ठूलो घाटा हो,’ सनले किम जिन सुले अतिरिक्त समयमा गरेको निर्णायक गोलमा दक्षिण कोरियाले अन्तिम ८ को यात्रा पक्का गरेपछि भने, ‘उनी टोलीका प्रमुख खेलाडी हुन् र टोली उनको अनुपस्थितिमा दबाबमा रहनेछ।’

‘प्रदर्शनको आधारमा आज हाम्रो खेल बिर्सनलायक थियो, तर पनि खेलको नतिजामा हामी अघिल्लो चरण प्रवश गर्न सफल भयौं,’ प्रशिक्षक बेन्टोले भने। सन व्यस्त खेलतालिकाले थकित देखिएको भन्ने चर्चा सुरु भएको थियो।

प्रकाशित: १० माघ २०७५ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App