१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

किन घटिरहेको छ सेयर बजार ?

वैशाखदेखि असोज महिनासम्मको सिजनलाई सेयर बजारको सिजन मानिन्छ। विगत १४–१५ वर्षको इतिहास फर्केर हेर्दा पनि यही देखिन्छ। ढिलोमा वैशाख महिनाबाट सेयर बजारमा प्रवेश गरेर कात्तिक महिनापछि बाहिर निस्कनु उपयुक्त मानिन्छ तर यो वर्ष भने सेयरको सिजनमा समेत लगानीकर्ताको ऊर्जा र उत्साह देखिएन। सामान्यतः माघदेखि चैतसम्मलाई सेयरको अफ सिजनका रुपमा लिइन्छ। त्यसैले यस अवधिलाई सेयर किन्ने सिजन पनि भनिन्छ।

हुन त सेयर बजारलाई घाटा र नाफाको बजार पनि भनिन्छ। कम्पनीले मुनाफा कमायो भने लगानकर्ताले पनि कमाउँछन्। आफूले लगानी गरेको कम्पनी घाटामा जाँदा लगानीकर्ता पनि घाटाको भागेदारी हुन्छन्। प्राथमिक बजारभन्दा सेकेन्डरी बजारको लगानी बढी जोखिमपूर्ण मानिन्छ। पछिल्लो समय ओरालो लागेको सेयर मार्केटले लगानीकर्तालाई निराश बनाएको छ। अझै केही समय सेयर बजार उकालो लाग्ने संकेत नदेखिएको विश्लेषकको भनाइ छ।

चार्टर्ड एकाउन्ट तथा अर्थविद् अनल भट्टराई सेयर मार्केट घट्नुका पछाडि विविध कारण भएको बताउँछन्। बजार अनुकूल नीति नभएका कारणले पनि सेयर बजार ओरालो लागेको उनको तर्क छ। अर्थविद् विश्व पौडेलका अनुसार अहिले नेपालको सेयर बजार निराशजनक छ। सेयर मार्केट घट्छ भन्ने भविष्यवाणी गरिएकाले पनि सेयर मार्केट घटेको उनको धारणा छ। मार्केट घट्छ भनेर आँकलन गर्दा पनि घट्न सक्ने पौडेल बताउँछन्। बिना कारण सेयर मार्केट घट्ने कल्पना गर्दा पनि मार्केट घट्न सक्ने उनको भनाइ छ। घट्ने बिना आधार आँकलनकै भरमा पनि सेयर मार्केट घटेका कयौँ उदाहरण छन्। पौडेल भन्छन्, ‘नेपालको सेयर मार्केट पनि घट्छ भन्ने आँकलन गरियो, त्यहीअनुसार बिना आधार मार्केट घटिरहेको छ।’

सेयर बजारलाई हल्लाको बजार पनि भनिन्छ। हल्लाको भरमा सेयरको भाउ घटबढ हुन सक्ने यो पनि एउटा उदाहरण भएको उनी बताउँछन्। बैंकले ऋण कम दिएकाले पनि सेयर बजार घटेको पौडेलको विश्लेषण छ। सेयर संसार डट कमका म्यानेजिङ डाइरेक्टर सन्दीप विक्रम राणा पनि सेयर बजार घट्नुका विविध कारण रहेको बताउँछन्। दुई वर्षअघिबाटै सेयर बजार ओरालो लाग्न थालेको उनको बिश्लेषण छ। बजारमा पैसाको अभाव भएका कारणले पनि सेयर बजार ओरालो लागेको राणाको तर्क छ।

सेयर बजारसम्बन्धी सरकारको प्रस्ट नीति नभएकाले सेयर बजारमा असर परिरहेको राणा बताउँछन्। अर्थमन्त्रीले सेयर बजार अनुत्पादक हो भन्ने किसिमका टिप्पणी गरेकाले पनि लगानीकर्ताको मनोबल गिरेको उनको तर्क छ। अर्थविद् भट्टराईका अनुसार बजार घट्नुको कारण राष्ट्र बैंकको सही नीतिको अभाव पनि हो। भट्टराई भन्छन्, ‘नेपाल राष्ट्र बैंकको नीति गलत छ। सेयर बजारका लागि लोन कम छ।’ २०७१ सालमा राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिअनुसार बैंकको चुक्ता पुँजी दुई अर्बबाट बढाएर ८ अर्ब पुर्याउनुपर्ने  भएपछि पनि सेयर बजारमा असर परेको राणाको तर्क छ।

पुँजीगत आयमा हुने कर पनि बढेकाले असर परेको अर्थविद् भट्टराईको विश्लेषण छ। सेयरको मूल्याङ्कन विधिमा पनि दुविधा रहेको छ। सेयरको मूल्याङ्कन प्रस्ट हुनुपर्ने उनी बताउँछन्। भट्टराईका अनुसार सेयरको मूल्य घट्दै जाँदा लगानीकर्ता आत्तिन्छन्। पुँजी घट्दै गएपछि डर हुन्छ। सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसका डाइरेक्टर तथा प्रशिक्षक सरोज भट्टराई पनि सेयर बजार ओरालो लाग्नुका पछाडि विभिन्न कारण हुने औँल्याउँछन्। बैंकको ब्याजदर बढेकाले सेयरको मूल्य घटेको बताउँछन्, प्रशिक्षक सरोज।  उनका अनुसार बैंकको ब्याजदर बढ्दा सेयर मार्केट घट्छ । त्यस्तै बैंकको ब्याजदर घट्दा सेयर बजार बढ्छ। बैंकको ब्याजदर घट्ने आशा गर्न सकिने बताउँछन्, सरोज।

सेयर बजारमा सबैभन्दा ठूलो नीतिगत समस्या भएकाले स्पष्ट नीति हुनुपर्ने विश्लेषकहरुको तर्क छ। क्यापिटल मार्केटमा लगानीकर्ता निरुत्साहित भैहाल्न नपर्ने अर्थविद् भट्टराईको भनाइ छ। सेयर बजारका लगानीकर्तालाई थप हतोत्साही हुनबाट जोगाउन सकिने बताउँछन् उनी। यसका लागि देशको आधारभूत आवश्यकता हो भन्ने नीति तयार गर्नुपर्ने बताउँछन्, भट्टराई। सेयर बजारलाई व्यवस्थित बनाउन सेयर बजारसम्बन्धी नीतिलाई बजार सापेक्षित बनाउनु पर्ने अर्थविद् भट्टराईको धारणा छ। करसम्बन्धी विवादलाई पनि सुल्झाउनु पर्ने उनी बताउँछन्।

सेयर बजारमा सेयरको संख्या बढी भएकाले पनि सेयरको मूल्य घटेको प्रशिक्षक सरोजको भनाइ छ। सेयरलाई देशको अर्थतन्त्रको ऐनाका रुपमा लिन्छन् उनी। सेयर बजार देशको अर्थतन्त्रमा भरपर्ने र वर्तमान समयमा देशको अर्थतन्त्र त्यति आशालाग्दो नभएकाले पनि तत्काल सेयर बजार उकालो लाग्ने संकेत नदेखिएको सरोज बताउँछन्। केही नीतिगत समस्याले पनि बजार घटेको सरोजको पनि बिश्लेषण छ। तर नीतिगत समस्यालाई मात्रै दोष दिन नहुने उनको तर्क छ।

उता अर्थविद् भट्टराई अनलाइन कारोबारलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिन्छन्। भट्टराईका अनुसार बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा कसरी समावेश गर्ने भन्ने यकिन गर्नु  पर्छ। सेयर बजारमा संस्थागत लगानीकर्ताको कमी भएकाले संस्थागत लगानीकर्ताका लागि स्पष्ट व्यवस्था हुनुपर्ने उनी बताउँछन्। मार्जिन लेन्डिङ पनि स्पष्ट गर्नुपर्ने उनको तर्क छ।

प्रविधिको प्रयोगले सेयर बजार विस्तार र व्यवस्थित पनि हुने अपेक्षा गरिए पनि अनलाइन कारोबार प्रभावकारी नभएको राणाको तर्क छ। २०७५ कात्र्तिक २० गतेबाट नेप्सेले सेयरको अनलाइन कारोबार गर्ने प्रणाली ल्यायो। नेपालमा भने अनलाइन कारोबार पनि प्रभावकारी नदेखिएको उनी बताउँछन्।

सेयर बजार सुधार गर्न राष्ट्र बैंकले कर्जाको तरलता व्यवस्थापन गर्नुपर्ने अर्थविद् भट्टराई बताउँछन्। यसो गर्दा बैंक तथा वित्तीय संस्थाको कर्जा दिने क्षमता सुदृढ हुने र यसपछि क्रमशः सेयरबजार सुधार हुने उनको धारणा छ। जबसम्म बैंक तथा वित्तीय संस्थाको सेयर बजारमा उपस्थितिका बारेमा सरकारले यकिन निर्णय गर्दैन, सेयर बजार गञ्जागोल हुने उनको धारणा छ।

राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले सेयर बजारमा प्रभाव पार्छ। सेयर बजारमा बैंकिङ क्षेत्रको धेरै प्रभाव हुने बताउँछन्, सरोज। नेपालमा ५० वटा लाइसेन्सप्राप्त ब्रोकरले सेयरको कारोबार गरिरहेका छन्। ब्रोकर कम्पनीले धितोपत्र बोर्डबाट लाइसेन्स लिएर कारोबार गरेका हुन्छन्। सरोजका अनुसार सेयरको खरिद बिक्रीमा ब्रोकर कम्पनीले मध्यस्थता गरेको हुन्छ। कारोबारको आधारमा ब्रोकर कम्पनीले कमिसन लिन्छन्। कमिसन नै कम्पनीको कमाइ हो। धितोपत्र बार्डको निर्धारणअनुसार ब्रोकर कम्पनीले कमिसन लिइरहेका हुन्छन्।

अर्थविद् भट्टराईका अनुसार नेपाल सरकारले मार्केट मेकर तयार गर्नुपर्छ। ठूला संस्थालाई लगानीको वातावरण बनाउनुपर्छ। नेपाल सरकारले पुँजीगत खर्च चाँडै गर्नुपर्ने उनको धारणा छ। भट्टराईका अनुसार कर्जा निक्षेप र पुँजी अनुपात ८० प्रतिशत कायम छ। त्यो खुकुलो बनाएर ८५ प्रतिशत जस्तो बनाउँदा राम्रो हुन्छ। सेयर बजारमा जाने कर्जामा नियन्त्रणमुखी भन्दा खुकुलो गर्नुपर्ने बताउँछन् उनी।

बजारको बारेमा नकारात्मक टिप्पणी नगर्ने हो भने पनि सेयर बजारको गिरावट रोकिने उनको तर्क छ। सेयर बजारका बारेमा नकारात्मक टिप्पणी गर्न नहुने बताउँछन् भट्टराई। सरकारले दिगो विकासको रणनीति कायम गर्नुपर्ने बताउँछन्, अर्थविद् भट्टराई। ग्राहस्थ उत्पादन (जीडीपी) को आधा हिस्सा बराबरको मार्केट क्यापिटलाईजेसन भएको बताउँछन्, भट्टराई। क्यापिटल मार्केट ठूलो भएकाले व्यवस्थापन गर्दा लगानीकर्ता नडुब्ने बताउँछन्, उनी। सेयर मार्केट मात्रै हैन समग्र मार्केटको विकास तथा व्यवस्थित गर्नुपर्ने अर्थविद्को धारणा छ। सरकारले पनि लगानीकर्ता थप आत्तिनबाट रोक्न प्रयास थालेको देखिएको भट्टराईको विश्लेषण छ। लगानीकर्ताले सेयर बजारमा ४० प्रतिशत गुमाइसकेको उनी बताउँछन्। अब लगानी गुम्नबाट जोगाउनुपर्ने भट्टराईको तर्क छ।

अन्य मुलुकका राम्रा पक्षलाई पनि नेपालमा लागु गर्नुपर्ने पौडेलको धारणा छ। अहिले नेपालको सेयर बजारमा करिब १५ लाख लगानीकर्ता रहेको बताइन्छ। यो संख्या अझै बढाउन आवश्यक छ। भट्टराई पनि सेयर बजारमा नयाँ लगानीकर्ता आकर्षित गर्न नीतिगत व्यवस्था सुधार गर्न आवश्यक छ। प्रशिक्षक सरोज भने सेयर बजार तत्काल सुध्रने संकेत नदेखिएको  आँकलन गर्छन्। धितोपत्र बोर्डले पनि केही नीतिगत सुधारमा ध्यान दिनुपर्ने बताउँछन् उनी।

‘अहिलेकै आधारमा हेर्ने हो भने सेयर बजारको सुधार हुन अझै केही समय लाग्ने देख्छु म त,’ सरोज भन्छन्, ‘यस्तो अवस्थामा लगानीकर्ताले धैर्य गरेर लगानी गर्नुपर्छ भने सेयर बजारको अवस्था बुझेर मात्रै थप लगानी गर्नुपर्नेतर्फ ध्यान दिनुपर्छ।’ तरलता सहज भएर ब्याज दर सस्तो भयो भने अबका समयमा सेयर बजारमा केही सकारात्मक प्रभाव पर्नेछ। स्थिर सरकार भएकाले सेयर बजार सकारात्मकतर्फ जानेमा भने आशा गर्न सकिने ठाउँ अझै रहेको सरोज बताउँछन्।

अर्थविद् भट्टराई पनि दीर्घकालसम्म सेयर बजार नघटिरहने बताउँछन्। ‘लामो समयसम्म कुनै पनि बजार घटिरहँदैन,’ अर्थविद् भट्टराई भन्छन्, ‘त्यसैले पनि सेयरमा लगानी गर्नेले धेरै आत्तिहाल्नु पर्ने अवस्था छैन। सुध्रने केही संकेत देखिएका छन् र सुध्रन्छ पनि।’

पुँजी बजार सुध्रनका लागि भने सरकारले यस क्षेत्रका लागि कुनै सकारात्मक सम्बोधन गर्नुपर्ने देख्छन्, राणा। उनका अनुसार,  सेयर बजार सम्बोधन गर्ने किसिमका नीति तथा कार्यक्रम आएका खण्डमा सेयर बजारमा ऊर्जा थपिन्छ र अहिले घटिरहेको बजारमा उछाल आउन सक्छ।

प्रकाशित: ८ माघ २०७५ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App