१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

उज्यालो घर

खेल्दाखेल्दै झमक्कै साँझ परिसकेछ। मैले भनेँ, ‘अब त घर जानुपर्छ।’ श्रेय र साक्षात खेल्नै मन गर्दै थिए। मैले सबैलाई रोकेँ अनि घर जान तयार गराएँ। हामी खेलमैदानबाट घरतिर लाग्यौँ। मेरा आँखा घेरै टाढा देखिएको एउटा उज्यालो घरमा पुगे। मैले भने, ‘अहो, साथी हो ! त्यो कस्तो उज्यालो घर। हेर त।’

‘खै कुन ? खै कुन ?’ सरू घर हेर्न अगाडि बढिन्। अरू साथीले पनि चासो देखाए। मैले दाहिने हातको चोर औँलो तेस्र्याएर देखाएँ, ‘उः त्यो। हेर त कत्ति उज्यालो।’ ‘हो त नि, कत्ति उज्यालो। हाम्रो घर पनि त्यत्ति नै उज्यालो भए !’ सबैजनाले उज्यालो घरतिर हेर्दै भने। ‘कि जाऔँ, त्यो घरतिर।’ मैले साथीहरूको मन चोरेँ।

‘अहँ, नजाने, त्यो भूतको घर हुनुपर्छ।’ मनीषाले डराउँदै भनिन्। ‘हुन्छ भूतको घर ! त्यो त एलियन हुनुपर्छ।’ आदित्यले आफ्ना कुरा राखे।
घरमा बुबाआमा हामीलाई खोज्न निस्कने बेला भएको थियो। हामीले त्यसदिन खेलेर घर फर्कन निकै ढिलो गरिरहेका थियौँ। मैले सबैलाई चाँडै घर लग्ने उपाय निकालेँ, ‘जाऔँ, हजुरबालाई सोधौँ। त्यो कसको घर हो। उहाँले भनिदिनुहुन्छ।’ ‘हुन्छ, हुन्छ त्यसै गरौँ।’ सबैले मेरा कुरामा सहमति जनाए।

हामीले घर पुग्नेबित्तिकै हजुरबालाई त्यो घर देखाएर सोध्यौँ, ‘हजुरबा, कसको घर हो त्यो ?’हजुरबाले एकछिन हेर्नुभयो र खै के सोच्नुभयो अनि भन्नुभयो, ‘अब तिमीहरू साँझमा बाहिर ननिस्कनू। त्यो भूतको घर हो।’ सरू र मनीषा डराए। उनीहरू मसँग टाँसिन आइपुगे।
‘साँच्चै हजुरबा, त्यो भूतकै घर हो त ?’ डर मिसिएको भावमा मनीषाले ठूलाठूला आँखा पार्दै भनिन्।

‘हो, हो। साँच्चै हो। तिमीहरू आउन अलिक ढिलो गरेका भए तिमीहरूलाई भूतले लग्थ्यो।’ हजुरबाले झनै डर देखाउनुभयो। हाम्रो मुटुको ढुकढुकी बढ्न थाल्यो। हामीले दुई हातले आफ्नो छाती जोडजोडले थिच्यौँ। ‘धन्न अलिकति छिटो आइएछ।’ सरूले काँपेको स्वरमा भनिन्।
‘के होला त्यो ? भूतकै घर त नहुनुपर्ने !’ मेरा मनमा यस्तै कुरा खेलिरहे। आँखामा पटक्कै निद्रा आउन सकेन। राति पिसाब लाग्दा पनि डराउँदैडराउँदै उठेँ।

म जुरुक्क उठेँ। वरपर चहार्न थालेँ। कसैले चाल नपाउने गरी एकएक कोठा घुम्दै थिएँ। एउटा कोठामा भगवान्को मन्दिर रहेछ। त्यहाँबाट खितिति हाँसेको सुनियो।

हामीले भोलिपल्ट दिउँसो त्यता नजर लगायौँ तर त्यहाँ त्यो उज्यालो घर देखिएन। आदित्य र श्रेयले एकै स्वरमा भने, ‘साँच्चै त्यो भूतकै घर पो रहेछ कि क्या हो ? ऐले उज्यालामा त देखिँदैन।’ ‘भरे राति पनि हेर्नुपर्छ है।’ मैले आदित्य र श्रेयलाई भनेँ। हामीले रातको समयमा नियाल्यौँ। साँच्चै त्यो घर झलल उज्यालो फैलाएर चम्किएको देखियो। जति रात बढ्दै गयो, उति नै त्यसको चमक बढ्दै जान्थ्यो।

दुई–तिन दिन नियालेपछि हामीले त्यस घरको खोजीमा जाने निधो गर्‍यौँ। सरू र मनीषाले हाम्रो कुरा मानेनन्। उनीहरू डरपोख थिए। उनीहरूलाई निकै बेर लगाएर आदित्यले हौसाए। अनि त उनीहरू पनि त्यहाँ जान तयार भए। भोलिपल्ट साँझ पर्न लागेपछि हामीले आआफ्ना साइकल निकाल्यौँ अनि त्यो उज्यालो घरतिर हुइँक्यौँ। उज्यालै भएकाले घर देखिएको थिएन। अलिपछि अँध्यारो बढ्दै जाँदा घर चम्कन थाल्यो। हामीले साइकल वेगले चलायौँ। हामी कसैसँग केही बोलेका थिएनौँ। कत्तिखेर त्यहाँ पुगौँ भन्ने हामीलाई लागिरहेको थियो।

जाँदाजाँदा हामी एउटा खोलाको किनारमा पुग्यौँ। त्यहाँ मसानघाट थियो। मलामीहरू मुर्दा पोल्दै रहेछन्। एकपटक त हामी झसङ्ग भयौँ। सरू र मनीषा डरले कहालिए। हाम्रो पनि मुटुको धड्कन बढेको थियो। श्रेयले हनुमान् चालिसा सुनाए। उनलाई कण्ठ आउँथ्यो। श्रेयले भने, ‘हनुमान् चालिसा पढेपछि भूत भाग्छ। अब हामी अघि बढौँ।’ ‘एक्काइसाैँ शताब्दीमा पनि भूतप्रेतको कुरा गरेर हुन्छ। हामी भूतकै घर खोज्न हिँडेका हौँ। हामीले यसरी डरपोख भएर हुन्छ ? डरपोखले जीवनमा कुनै उन्नति गर्नै सक्दैन।’ आदित्यले हामी सबैलाई जोस्याए।

रातको दस बजेतिर हामी त्यस घरको छेउछाउ पुग्यौँ। घर पूर्णिमाको जूनजस्तै चम्किएको थियो। आहा कत्ति उज्यालो घर ! हामी खुसीले गद्गद् भयौँ। हामीले घरभित्र पसेर केही जानकारी लिने विचार गर्‍यौँ। सरू डरले रुन थालिन्, ‘मलाई घर पुर्‍याइदेओ। अनि तिमीहरू जे गर्ने हो गर। हुँ, हुँ, हुँ !’
श्रेयले सम्झाए, ‘दिदी नडराउनू। म हनुमान् चालिसा पढ्छु। यो भूतको घर भए हराएर जान्छ। भूत पनि टाढा भाग्छ। मान्छेको घर भए केही हुँदैन।’


बाटाकै छेउको घर। बाटाका डिलमा बसेर हामी नियाल्दै थियौँ। ख्वाक्कख्वाक्क खोक्दै घरबेटी बा बाहिर निस्के। अब के गर्नेहोला ? हामी डरायौँ। एकै छिनमा एउटा उपाय निस्क्यो। ‘को हुनुहुन्छ घरमा ?’ म घरका आँगनतिर अघि बढेँ। ‘तपाईं को हो ? यति राति किन आउनुभएको ?’ घरबेटी बाले प्रश्न सोधे।

‘हामी उः त्यो पारि गाउँका हौँ। साइकल खेल्न निस्केका बाटो बिराएर यहाँ आइपुग्यौँ। मैले कुरा बनाइहालेँ। घरबेटी बाले हामी सबैलाई बोलाए। सिकुवामा राखे। हाम्रो नाम र थर सोधे। यसरी रातिराति हिँड्नुहुँदैन भनी सम्झाए। बाहिर हाम्रो खैलाबैला सुनेर घरबेटी आमा पनि उठिन्। त्यसपछि घरका सबै सदस्य उठे।

उनीहरूले हामीलाई पाहुनालाई भैmँ सम्मान गरे। खाना पकाइदिए। खाना खाइसकेपछि हामीले एकछिन मिठामिठा कुरा गर्‍यौँ। उनीहरूले हामीलाई सुत्ने ठाउँको राम्रो बन्दोबस्त गरिदिए। हामी सुत्न त गयौँ तर आँखामा निद्रा आउन सकेन। हामी त्यो घरमा सुत्न होइन, केही जान्न आएका थियौँ। केही नजानी कसरी निदाउनेहोला ? मनमा कुरा खेलिरह्यो। घरबेटीहरू सुतिसकेका थिए। रात चकमन्न थियो। पर कतै कुकुर भुकिरहेका थिए। स्याल कराइरहेका थिए। बिजुली बत्ती थिएन तर घर झलमल्ल उज्यालो थियो। कसरी यस्तो उज्यालो भएको होला ! हामी आश्चर्यमा थियौँ। यही आश्चर्यले हामीलाई यहाँसम्म ल्याएको थियो।

म जुरुक्क उठेँ। वरपर चहार्न थालेँ। कसैले चाल नपाउने गरी एकएक कोठा घुम्दै थिएँ। एउटा कोठामा भगवान्को मन्दिर रहेछ। त्यहाँबाट खितिति हाँसेको सुनियो। म जिल्ल परेँ। ‘नडराऊ आदर्श। म तिमीसँग खुसी छु।’ मन्दिरबाट आवाज आयो। मलाई झन अप्ठ्यारो लाग्यो। हेर्दाहेर्दै मन्दिरको मूर्ति जुरुक्क उठ्यो। मुसुमुसु हाँस्दै मेरा छेउमा आयो। मलाई सुम्सुम्यायो अनि हामी सुत्ने कोठातिर लग्यो। ‘नानीबाबु हो ! मलाई थाहा छ, तिमीहरू यहाँ किन आएका हौ भन्ने कुरा।’ मुसुमुसु हाँस्दै भगवान्ले भन्नुभयो।हामी अक्क न बक्क भयौँ। केही बोल्न सकेनौँ।

‘यो इमानदार र मिहिनेती किसानको घर हो। यिनीहरू सधैँ आफ्नो इमानको कमाइ खान्छन्। सबै मान्छेलाई आदर गर्छन्। कसैलाई छलछाम गर्दैनन्। आआफ्नो काम समयमै पूरा गर्छन्।’ भगवान् बोल्दाबोल्दै एकछिन् रोकिनुभयो। मैले भनेँ, ‘अनि ?’

‘अनि के भने नि, यो घरमा तिमीहरूजस्तै साना बालक पनि छन्। उनीहरू पनि आफ्नो काम समयमै गर्छन्। समयमा खेल्छन्। लेख्नेपढ्ने काम समयमै गर्छन्। घरका काम बाआमालाई सघाउँछन्। सबैसँग मीठो बोली बोल्छन्। नम्र भएर व्यवहार गछन्। नचाहिने व्यवहार कहिल्यै गर्दैनन्। अरूले गरेका नचाहिने व्यवहार सहँदैनन्। त्यसको विरोध गर्छन्। चित्त नबुझेका कुरा मनमा राख्दैनन्। त्यो किन यस्तो भयो ? भनी सोधिहाल्छन्। जानेरै छाड्छन्।’

हामी भगवान्का कुरा सुनिरहेका थियौँ। भगवान् हामीलाई हेरेर बोल्दै हुनुहुन्थ्यो। मैले सोधेँ, ‘अनि के भो भगवान् ? यो घर किन उज्यालो भएको ? यहाँ कुनै बत्ती पनि छैन।’ ‘हो, मैले त्यही कुरा भन्न खोजेको। म ज्ञानी, मिहिनेती अनि जिज्ञासु बालकलाई मनपराउँछु। म उनीहरूकै घरमा बास बस्छु। म जहाँ बास बस्छु त्यो घर झलमल्ल उज्यालो हुन्छ। त्यहाँ बत्ती नबाले पनि हुन्छ।’

‘तर, यो घर दिउँसो त उज्यालो देखिँदैन।’ आदित्यले भने। ‘दिउँसो घामका उज्यालाले घरको उज्यालो नदेखिएको मात्र हो। चम्कन त चम्किरहेकै हुन्छ।’ भगवान्ले भन्नुभयो। भगवान् आफ्ना कुरा सकेर पूजाकोठातिर जानुभयो। हामीले पनि ज्ञानी बन्ने, समयमा आफ्ना काम पूरा गर्ने, कसैसँग झगडा नगर्ने, चित्त नबुझेका कुराहरू सोधिहाल्ने निधो गर्‍यौँ। यसो गर्दा भगवान् हाम्रा घरमा पनि आउनुहुन्छ अनि हाम्रो घर पनि बत्ती नबालीकन नै उज्यालो हुन्छ भन्ने हामीलाई लाग्यो।

बिहान मिर्मिरे उज्यालो नहुँदै भाले बास्यो। मानिसहरू उठे। आआफ्ना कामतिर लागे। कसैले कसैलाई सारो गरी बोलाएन। बिस्तारै बोले पनि सबैले सुन्दारहेछन्। आफ्नो काम सकेपछि अरूलाई सहयोग गर्दारहेछन्। ठूलाले सानालाई माया र सानाले ठूलालाई आदर गर्दारहेछन्। साह्रै मिलेको परिवार रहेछ। त्यो देखेर हामीलाई पनि त्यसैगरी मिलेर बस्न मन लाग्यो। बिहानको खाना खाएर उज्यालो घरका बालकहरू विद्यालयतिर लागे। हामी आफ्ना घरतिर लाग्यौँ। जाने बेलामा घरबेटी बाले भने, ‘अर्कोपटक बाटो नभुलिकन आउनु है नानीबाबुहरू।’
घरबेटी आमाले भनिन्, ‘साह्रै ज्ञानी नानीबाबुहरू ! हाम्रा घरका बालकजस्तै असल रहेछन्।’

पूजाकोठाबाट भगवान् उठेर बाहिर आउनुभयो अनि हामीलाई भन्नुभयो, ‘नानीबाबुहरू ! मैले भनेजस्तै गरी ज्ञानी र मिहिनेती भएर काम गर। तिमीहरूका घरमा पनि आउँछु र तिमीहरूको घर पनि झलमल्ल उज्यालो बनाइदिन्छु।’ त्यो दिन हामी अति नै खुसी भयौँ। सबैलाई बिदाइको हात हल्लाउँदै मन हलुका पारेर घर फर्कियौँ।

प्रकाशित: ५ माघ २०७५ ०५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App