१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली उच्च कूटनीतिज्ञ वासिङ्टन यात्रामा

गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (दायाँ)सँग भेट गर्दै उत्तर कोरियाली विदेशमन्त्री किम योङ–चोल (बायाँ) र साथमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ। फाइल तस्बिर : एजेन्सी

वासिङ्टन – संयुक्त अधिराज्य अमेरिकासँग भएको निःशस्त्रीकरण वार्तामा सहभागी भएका उत्तर कोरियाका उच्च दूत किम योङ–चोल वासिङ्टन यात्राका लागि बिहीबार बेइजिङतर्फ गएको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच हुने दोस्रो शिखर बैठकबारे छलफल गर्न उत्तर कोरियाली उच्च दूत किम योङ–चोल वासिङ्टन हिँडेको बताइएको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली दूत किम योङ–चोलबीच शुक्रबार अमेरिकी राजधानी वासिङ्टनमा भेटवार्ता हुने अनुमान गरिएको अमेरिकी र दक्षिण कोरियाली सञ्चारमाध्यमले यसअघि अज्ञात स्रोतलाई उद्धृत गर्दै जनाएको थियो।

ट्रम्प र किमबीच हुने दोस्रो शिखर बैठकबारे उत्तर कोरियाली समकक्षीसँग छलफल गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओले गत नोभेम्बरमा भेट गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर सो बैठक स्थगित भएको थियो।

उत्तर कोरियाली उच्च दूत किम योङ–चोल यसअघि गत जुनमा वासिङ्टन पुगेका थिए। त्यसबेला उनले किम जोङ–उनले पठाएको पत्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेका थिए। सोही पत्रले नै गत जुन १२ का दिन एसियाली राष्ट्र सिंगापुरमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेताबीच ऐतिहासिक शिखर बैठकका लागि ढोका खुला गरेको थियो।

अमेरिका–उत्तर कोरिया वार्ताबारे जानकार स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएअनुसार किम योङ–चोलले ट्रम्पका लागि नेता किमले पठाएको नयाँ पत्र बोकेर अमेरिका पुग्दै छन्। यसैबीच कोरियाली प्रायःद्वीपका विभिन्न मामिलाबारे छलफल गर्न चिनियाँ र दक्षिण कोरियाली दूतबीच बिहीबार भेट भएको दक्षिण कोरियाको विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ। कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने प्रक्रियाबारे सो भेटमा कोङ सुवायोयु र ली डो–हुनबीच छलफल भएको अनुमान गरिएको छ।

गत वर्ष सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा उत्तर कोरियाली नेता किम जोङ–उनले कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने विषयमा काम गर्ने बताए पनि सो कार्यमा थोरै मात्र प्रगति भएको छ। उत्तर कोरियाले आफूले आणविक निःशस्त्रीकरणको प्रक्रिया सुरु गरे पनि संयुक्त राष्ट्रसंघलगायत अमेरिका र अन्य पश्चिमा राष्ट्रले प्रतिबन्ध लगाइरहेकाले सो प्रतिबन्ध हट्नु पर्ने माग गर्दै आएको छ। 

अमेरिकालगायतका राष्ट्रले भने उत्तर कोरियाको आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य नभएसम्म प्रतिबन्ध नहट्ने बताउँदै आएका छन्। दुवै देशका आ–आफ्नै हठका कारण लामो समय दुई देशबीचको सम्बन्धले गति लिन सकिरहेको थिएन। तर नयाँ वर्षको उपलक्ष्यमा उत्तर कोरियाली नेता किम जोङ–उनले देशका नाममा गरेको सम्बोधनका क्रममा आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुनै पनि समयमा भेट्न चाहेको बताएपछि भने पुनः दुई देशबीचको सम्बन्धमा सुधार आएको छ।

किमले ट्रम्पसँग भेट्ने इच्छा व्यक्त गरेको केही समयमै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि किमसँग भेट्न आफू तयार रहेको ट्विटमार्फत् बताएका थिए। दुवै नेताका विचार सार्वजनिक भएलगत्तै अमेरिका र उत्तर कोरियाका अधिकारीहरुबीच ट्रम्प–किम दोस्रो शिखर बैठकको तीव्र तयारी भइरहको विवरण सार्वजनिक भइरहेकै बेला उत्तर कोरियाली उच्च दूत वासिङ्टन भ्रमणका लागि निस्कनुले निकट भविष्यमै दुई नेताबीच शिखर बैठक हुने अनुमान गरिएको छ।

प्रकाशित: ४ माघ २०७५ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App