१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

डा. केसीको पक्षमा नेपथ्य

कन्सर्टमा गाउँदै गायक अमृत गुरुङ । तस्बिर : गिरिराज/नागरिक

पाँचथर – डाडाँहरूले घेरिएको उपत्यका जस्तै पाँचथर सदरमुकाम फिदिममा चर्चित सांगीतिक व्याण्ड नेपथ्यको गीतसंगीत गुन्जिदै थियो। दर्शकहरू उत्साहित थिए। माहोल निकै रौसिएको थियो। फिदिम माविको खेलमैदानमा भरिभराउ दर्शकहरू लोकरक शैलीका गीतमा नाचिरहेका देखिन्थे। इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका गाँउ–गाँउबाट आएका दर्शकहरूको उत्साह हेर्न लायक थियो।

यहिबेला नेपथ्यका अगुवा अमृत गुरुङले डा. गोविन्द केसीको अनसन प्रसंग कोट्याए। ‘डा. केसी प्रति तपाईलाई शंका छ ?’ उनले यो प्रश्न गरिरहँदा दर्शकबाट चर्को स्वरमा ‘छैन’ भन्ने जवाफ आयो। गुरुङले सरकारलाई ‘डा. केसीसँग गरेको सम्झौता कार्यान्वयन किन नगर्या ? भन्दै प्रश्न गर्दा यो प्रश्नमा दर्शकको साथ उस्तै थियो। नेपथ्यको कन्सर्टको बिचमा अमृतले डा. केसीसँग भएको सम्झौता कार्यान्वयका लागि आह्वानसमेत गरे।

‘फिदिमको मञ्चबाट सबैले अनुरोध गरौं  उहाँसँग भएका सम्पूर्ण सम्झौतालाई कार्यान्वयन गरी असल सरकारको अनुहार देखाइदिनुस। उहाँको मागप्रति हाम्रो पनि समर्थन छ’, उनले यसो भनिरहँदा दर्शकले तालीले स्वागत गरे। इलाममा अनसन बसिरहेका डा. केसीलाई भेटेर ऐक्यबद्धता जनाउँदै फिदिम उक्लिएका अमृतले सम्झौता कार्यान्वयनका लागि अनुरोध गरे।

नेपथ्यको लाइभ कन्सर्टले फिदिमको माहोल संगीतमय बन्यो।  नेपथ्यले फिदिममा कार्यक्रम गर्न १४ वर्ष अगाडि बनाएको योजनालाई साकार पार्दा गायक अमृतको समूहसँगै दर्शक पनि प्रफुल्लित थिए। कन्सर्ट हुनु भन्दा दुई घण्टा अघिदेखि दर्शकहरू विद्यालयको मैदानमा भेला हुन थालेका थिए। बुढा, पाका तन्नेरी सबै उमेरका दर्शकको सहभागिता उल्लेख्य। अमृतको अनुहार स्टेजमा देखेपछि उनका फ्यानहरूले चर्को हुटिङ गरेका थिए। काठमाडौं लगायतका ठाँउमा नेपथ्यले प्रयोग गर्ने प्रविधिमा नै फिदिममा कन्सर्ट गरिएको आयोजकको भनाई थियो। सुदुरपूर्वमा अमृतले १९ वटा गीत गाएर दर्शकलाई खुशी बनाएका थिए।

कन्सर्टका लागि घण्टौं लगाएर समर्थकहरू फिदिम आईपुगेका थिए। कन्सर्टकै लागि बनाइएको अस्थायी प्याराफिट र खेल मैदान दर्शकले भरीभराउ थियो। अमृतले ‘शिरफूल शिरैमा’, ‘जोगले हुन्छ भेट’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमै बजारमा’, ‘सिरानीमा फोटो’, ‘कोशीको पानी’, ‘हिमाल चुचुरे’, ‘लामपाते सुर्ती’  ‘गाँउ गाँउबाट उठ’ जस्ता गीत गाए। बिचबिचमा संवाद गरेका अमृतले नेपाल घुम्न, गरीब परिवारका नानीहरूलाई पढाउन सहयोग गर्न आव्हान समेत गरे।

स्थानीय फाल्गुनन्द युवा क्लबको अगुवाईमा सुम्हालुङ युथ क्लबले आयोजना गरेको कन्सर्टमा करिब आठ हजार दर्शकले सहभागिता जनाएको क्लबका अध्यक्ष दीपेन योक्पाङदेनले बताए। कन्सर्टमा सहभागिता जनाउन धेरैले दिउँसै बजार बन्द गरेका थिए। जिल्लाका प्रतिष्ठित व्यक्तिदेखि सर्वसाधारणसम्मको सहभागिता थियो।

तेह्रथुमक आठराईकी सुस्मिता लिम्बुले नेपथ्यको कन्सर्ट हेर्न लामो समयदेखिको अपेक्षा पुरा भएको बताइन्। सुस्मिता जस्तै खुशी साट्नेहरू प्रशस्त थिए। कन्सर्टले फिदिमका होटल भरीभराउ थिएभने चहलपहल उत्तिकै बढि थियो। कन्सर्टमा आएर भरपुर मनोरन्जन लिएको इलामका विशाल लिम्बुले बताए।

कन्सर्टमा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापासम्मका दर्शकको सहभागिता थियो। दर्शकहरूले पटक पटक ‘वान्स मोर’ भने पनि समय अभावको कारण देखाउँदै अमृतले गीत गाएनन्। अमृतलाई ड्रममा धुव्र लामा, किर्बोडमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गिटारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए।

प्रकाशित: ४ माघ २०७५ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App