१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मनमोहन स्मृति क्रिकेट : पुलिसको फाइनल सुरक्षित

इटहरी – प्रदेश नं. ७ लाई हराउँदै नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ। इनरुवा खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा बिहीबार प्रदेश नं. ७ लाई २ सय रनको फराकिलो अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो।

पुलिसले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याएको प्रदेश नं. ७ लाई ३१ दशमलव ३ ओभरमा १ सय २३ रनमा समेट्दै पुलिसले प्रतियोगितामा अविजित यात्रा कायम राख्यो। अब उपाधिका लागि नेपाल पुलिसले प्रदेश नं. १ र नेपाल आर्मीबीच शुक्रबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

पुलिसलाई सहज जितसँगै फाइनलको टिकट पक्का गराउन सागर ढकाल एक्लैले विपक्षीका महत्वपूर्ण ५ विकेट लिए। ढकालले २ मेडन राख्दै ३१ रन खर्चिएर प्रदेश नं. ७ का ५ ब्याट्सम्यानलाई पवेलियन फर्काएका थिए।

प्रदेश नं. ७ का लागि विपिन रावल र लोकेश बमले समान २६–२६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्हालिएको प्रदर्शन गर्न सकेनन्। पुछारका ब्याट्सम्यान नारायण जोशी र नरेन्द्र साउदले टिमको खातामा ३२ रन जोडे पनि अन्यले उल्लेख्य रन बनाउन सकेनन्। 

यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल पुलिसले दिलीप नाथको शतकीय पारीसँगै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन जोड्यो। आक्रामक ब्याटिङ गरेका नाथले १ सय २५ बल खेल्दै ९ चौका र ५ छक्काको मद्दतमा नटआउट १ सय १६ रन बनाए।

टिमलाई उच्च योगफलतर्फ डोर्याउन पुलिसका क्याप्टेन मन्जित श्रेष्ठले अर्धशतक बनाए। विकास आग्रीको बलमा बोल्ड हुनुपूर्व श्रेष्ठले ३३ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाए। प्रदेश नं. ७ का विकास आग्रीले पुलिसका ३ विकेट लिएका थिए।

प्रकाशित: ४ माघ २०७५ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App