१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निगरानी विहीन सिमा क्षेत्र

पाँचथरको चाररातेमा रहेको सिमा स्तम्भ पृष्ठभुमिमा हिमाल । तस्बिरः गिरिराज/नागरिक

पाँचथर – भारतसँग सिमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा सुरक्षा उपस्थीति नहुँदा स्थानीयले सास्ती भोग्नु परिरहेको छ। लेकाली क्षेत्रमा महत्पूर्ण वनस्पती भारतीयहरूले सहजै उपभोग गरिरहेका छन्।

भारततर्फ सिमाना सुरक्षा उपस्थीति भएपनि सिमा क्षेत्रमा आड भरोसाका लागि नेपाली सुरक्षाकर्मीको उपस्थीति शून्य छ। उच्च पहाडी क्षेत्रमा पर्ने सिमा क्षेत्रमा मनविय गतिविधि पर्याप्त हुने भएपनि न सुरक्षाकर्मीको उपस्थीति छ न वन लगायतका सरकारी कार्यालयहरू। यहिको फाइदा लिँदै नेपाली भु–भाग भारतीयले सहजै उपभोग गर्छन्।

भारतीय गाडीहरू गाउँ गाउँ आइपुग्छन् भने यहाँको प्राकृतिक स्रोत साधनको उपभोग र व्यापार समेत हुने गरेको छ। भारतसँग सिमा नजिकै पर्ने चाररातेमा यतिबेला डि गोठमा पालिएका चौरीहरू भरिभराउ हुन्थे। जाडो बढ्दै जाँदा चौरीहरू तलझर्ने गर्छन्। चाररातेका चौरीहरू अझ तल झर्ने र यहाँ उचाइमा रहेका चौरी यहाँ आउने गर्थे। यो पल्ट चाररातेको डाँडामा चौरीहरू छैनन्। यहाँसम्म चौरी आउन नखोजेका भने हैन।

सिमावर्ती भारतको सिंहलिला नेशनल पार्कको कार्यालयले यहाँ आउन खोज्ने चौरीहरूलाई लखेटेपछि यहाँ न चौरी छन्, न चौरी सञ्चालक नै। यहाँभएका गोठका चौरी बस्तीतीर झरेपछि गोठहरूमा ताला लगाइएको छ। नेशनल पार्कको कार्यालय यहि वर्ष स्थापना भएको हो। नजिकै भारतीय सिमा सुरक्षाबल (एसएसबी) को पोष्ट रहेको छ। ‘हामी गोठमा काम गर्नेहरूले सिमाक्षेत्र हेथ्र्यौ बरु। यसपल्ट त त्यो पनि भएन। सरकारको उपस्थीति त आशै नगरौँ’ यहाँका गोठ सञ्चालकमध्ये एक जंग  राईले नागरिकसँग भने ‘सिमा क्षेत्रको समस्या कस्ले बुझ्छ र ?’

चाररातेको नजिक रहेको प्रहरी चौकी प्राङबुङ बजारमा छ। हिँडेर पुग्न एक दिन लाग्छ। गाडीको बाटो भएपनि प्रहरी चौकीमा गाडी छैन्। भाडाको गाडीमा जाँदापनि पाँच घण्टामा पुग्न कठिन छ। केहि भइहाल्यो भने तत्काल सुरक्षाकर्मी पुग्ने सम्भावना कम छ। चाररातेमात्र हैन जिल्लामा रहेका नेपाल भारतको सिमाना ४५ दशमलव १६९ किलोमिटर क्षेत्रमानै यस प्रकारको समस्या रहेको छ। भारतसँग जोडिएको सिमा क्षेत्र सरकारी निगरानी विहीन अवस्थामा छ।

सिमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थीति विरलैमात्र भेटिन्छ। खुल्ला सिमानाका कारण नेपालको भुगोल, स्रोत सधान सहजै रुपमा भारतीयहरूले उपभोग गर्छन्। भारतीय गाडीहरू सहजै नेपालको भु–भागमा दौडिन्छन्। सिमा क्षेत्र जैविक विविधताले धनि भएपनि नेपाली भुमी उजाडिने अवस्थामा छ। भारततर्फ वेष्टबंगालमा सिंहलिला नेशलन पार्क र सिक्किममा कञ्चनजंगा नेशनल पार्कमा संरक्षित छ। तर नेपालमा भने बुहमूल्य जडिवुटी सहितको वनक्षेत्र घट्ने क्रममा छ। दुःख सुखमा  साथ दिने सरकारी उपस्थीति नहुँदा समस्या परेको अर्का फालोटमा गोठ सञ्चालन गर्ने चन्द्रलाल नेपाल बताउँछन्।

‘सुरक्षा निगरानी सिमानामा छैन्। खुल्ला सिमानाका कारण समस्याहरू छन्। भन्ने निकाय छैन’ उनले थप,े ‘सिमा क्षेत्र राष्ट्रियतासँग पनि जोडिन्छ। तर नेपालतर्फ सरकारी उपस्थीति छैन।’ यहाँका फालेलुङ र याङवरक गाउँपालिका भारतसँग सिमाना जोडिएको छ। तर, गाउँपालिकाले सिमा क्षेत्रका बारे खासै काम गर्न सकेको छैन्। बोर्ड समेत नराखेको स्थानीय गुनासो छ। नेपालमा सरकारी संरचना नहुँदा सिमाना आउने पर्यटकलाई नेपालतर्फ भित्र्याउन नसकिएको नेपाल बताउँछन्।

मेमेङमा रहेको प्रहरी चौकीलाई सिमानमा पुग्न एक दिन लाग्छ। याङवरकको च्याङ्थापुमा सिमा प्रशासन कार्यालय छ तर, यहाँ कर्मचारी नभएको दशक वितिसकेको छ। यहाँनै सिमा प्रहरी कार्यालय छ। तर, मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु चिवाभञ्याङ पुग्न गाडीमा चार घण्टा  लाग्छ। यहाँसम्म घुम्नकालागि मात्र प्रशासकहरू पुग्ने गर्छन्। सिमानामा बेला बेला सुरक्षा जाने गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी दावी गर्छन्। तर सिमा क्षेत्रका बासिन्दा सुरक्षा उपस्थीति नभएको गुनासो पोख्छन्। भारतीयले निर्वाद नेपाली भुमिको उपभोग गर्छन।

नेपालीलाई भने बेला बेला भारतीय सुरक्षकर्मीले चेक जाँच तथा अनावश्यक खानतलासी गर्ने नेपाल बताउँछन्। सिमानमा सशस्त्र प्रहरीको वेस क्याम्प राख्ने कुरा कार्यान्वय हुन सकेको छैन्। चिवाभञ्याङबाट केहि किलोमिटर टाढा वेसक्याम्प राख्न जग्गा हेरिएको छ। दुईठाउँ जग्गा हेरिएपनि टुंगो लागि नसकेको फिदिममा रहेको सशस्त्र प्रहरीको हिमशिखर गुल्मका डिएसपी सन्तोष सिंहले जानकारी दिए। भारतले सिमा क्षेत्रमा हरेक ६ किलोमिटरमा सिमा सुरक्षाबल राखेको छ। प्रहरी लगायका सरकारी संरचनापनि छन्। यहाँ पाइने बहमूल्य जडिवुटी, महत्पूर्ण वन्यजन्तू भेटिन कठिन बन्दै गएको छ। 

स्थानीय राजेन्द्र राईको शब्दमा ‘सिमाक्षेत्रमा सरकारी उपस्थीति छैन्। घुम्न आउनेको भिड लाग्छ। व्यवस्थीत गर्ने निकाय छैन्। नेपाली भुमी हामी गोठालको भरमा छ।’ भारतीयले सहजै नेपाली भुमिका प्राकृतिक स्रोत साधन उपभोग गर्छन्। सतुवा,विख,विख्मा, पाखनवेद,पाँच औले, टुड्की, टिमुर, जट्टामसी, लोठसल्ला, वन लसुन, केन्जो, चिम्फिङ लगायतका जडिवुटी जोखिममा पर्न थालेका छन्। रेडपाण्डा लगायतका बन्यजन्तूको चोरी निकासी हुने गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले १ वर्ष अगाडि तीन चरण गरेर सिमा क्षेत्रको अवलोकन गर्दा गत जेठमा १६ सिमा स्तम्भ हराएको पाएको थियो। अवलोकन गर्दा १ सय १३ मध्ये ९७ बटामात्र सिमा स्तम्भ पाइएका सार्वजनिक गरेको थियो। हराएका १६ सिमा स्तम्भमध्ये ४ वटाको मात्र डोब भेटिएको छ। बाँकी १२ वटाको नामनिशान केहि पनि नभेटिएको प्रहरीले जानकारी दिएको थियो।

प्रकाशित: ३ माघ २०७५ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App