२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जर्बेरा फूल ढकमक्क, घर धपक्क

जर्बेरा आकर्षक फूल हो । विवाह, सभा–समारोह होस् वा घर सजाउन नै किन नहोस् जर्बेरा फूलको आकर्षण दिन प्रतिदिन बढिरहेको छ । जर्बेरा बाह्रै महिना फुल्ने फूल हो । यो फूललाई बाह्रै महिना फुलाउन सकिन्छ । 
बगैंचामा फुलेको फूल होस् वा गमलामा फुलाएर सजाउँदा कम मनमोहक देखिँदैन, जर्बेरा फूल । घर तथा अफिस नै किन नहोस् जर्बेरा फूल फुल्दा आँखाको नानीमै बिलाउन खोज्छ । 

गमला तथा गार्डेनमा ढकमक्क फुलेको जर्बेराले घरलाई धपक्कै पारिदिन्छ । एउटा घरमा करिब ५० बोट रंगी–बिरंगी जर्बेरा गमलामा फुलाउने हो भने त घर दुलही जस्तै देखिन्छ ।  

नेपालमा कटफ्लावर फूलको माग तथा व्यापारमध्ये आधा हिस्सा जर्बेरा फूलले ओगटेको बताउँछन्, फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठ । पछिल्लो समय ग्राहकको पहिलो रोजाइमा जर्बेरा फूल हुने गरेको बताउँछन्, अध्यक्ष श्रेष्ठ । जर्बेरा फूल (कटफ्लावर) नेपालमा लोकप्रिय बन्दै गएको बताउँछन्, फ्यानका महासचिव विश्वमणि पोख्रेल पनि । 

खुसीको प्रतीक 

इजिप्टियन अर्थअनुसार जर्बेरालाई सूर्यको भक्ति र प्रकृतिप्रतिको नजिकपनका रुपमा लिइन्छ । यो फूललाई विश्वास तथा खुसीको प्रतीकको रुपमा लिइन्छ । कसैले जर्बेरा फूलको गिफ्ट दिएमा फूलैले ढाकेको प्रतीकका रूपमा लिइन्छ । जर्बेरालाई सामान्य सुन्दर तथा धेरै खुसी जीवनका प्रतीकका रुपमा लिइन्छ । यो फूललाई बालबालिकाको निर्दोष तथा निस्कपट आत्माका प्रतीकको रुपमा लिइन्छ ।  

जर्बेराको ल्याटिन नाम जस्मेसोनी हो । जर्बेरालाई डेजी पनि भनिन्छ । यो ठूलो एस्टेरासे परिवारअन्तर्गतको फूल हो । १८ औँ शताब्दीमा जर्बेरा फूलको नामकरण जर्मन बोटानिस्ट तथा डाक्टर ट्राउगोट जरबेरले गरेका हुन् । यो फूल जीवनको उत्सवका रुपमा प्रयोग गरिन्छ । यो फूलको उद्गम थलो अफ्रिकालाई मानिन्छ । यो फूललाई हाइब्रिड गरेर गमलामै होचोमा फुलाउन थालिएको छ । यो बहुवर्षीय बिरुवा हो । 

कट र पट भेराइटी

काठमाडौँको स्वयम्भूस्थित मुस्कान नर्सरीका महेन्द्र सुवेदीका अनुसार सामान्यतयाः जर्बेरालाई कट भेराइटी र पट भेराइटी गरी दुई किसिमले विभाजन गरिन्छ । कट भेराइटीमा फूलको थुँगा सजाइन्छ ।  कट भेराइटी जर्बेरा लामो–लामो डाँठ भएका हुन्छन् । करिब एक फिटको डाँठआएर फूल फुल्छ । लामो डाँठ भएको जर्बेरा बुकी बनाएर गिफ्ट दिनदेखि बिहेका कार, बैंक, घर सजाउन सजिलो हुन्छ । घडा वा कुनै सुन्दर देखिने भाँडामा पानी राखेर जर्बेरा फूल सहितको डाँठ डुबाएर आकर्षकरुपमा सजाउन सकिन्छ । 

विशेषगरी गमलामा जर्बेराको बिरुवा रोपेर गमलामै फुलाउन सकिने जातको जर्बेरालाई पट भेराइटी भनिन्छ । पट भेराइटीको जर्बेरा कट भेराइटी भन्दा होचो हुन्छ । होचो हुने भएकाले नै गमलामा ढकमक्क फुल्दा आकर्षक देखिने बताउँछन्, मुस्कान नर्सरीका सुवेदी । पट भेराइटी जर्बेरा टनेल बाहिर फुलाउन सकिन्छ । घर, अफिस, गार्डेनलगायतमा गमलामा आकर्षकरुपमा जर्बेरा फुलाएर सजाउन सकिन्छ । जमिनमा पनि पट भेराइटीको जर्बेरा फुलाउन सकिने भए पनि पट भेराइटी गमलामै फुलाउँदा आकर्षक देखिने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ ।

पहाडी हावापानीमा राम्रो फूल

जर्बेरा मध्य पहाडी वातावरण तथा हावापानीमा फुल्ने फूल हो । आठ सयदेखि १३ सय मिटरको उचाइमा जर्बेरा रोप्दा तथा खेती गर्दा राम्रो फुल्ने बताउँछन्, महासचिव पोख्रेल । ३२ सय मिटरसम्मको उचाइमा पनि राम्रै फुल्ने बताइन्छ । जति चिसो भयो त्यति नै फुलको गुणस्तरीयता राम्रो हुने पोख्रेल बताउँछन् । पोख्रेलको भनाइमा मुस्कान नर्सरीका सुवेदी पनि सहमत देखिन्छन् । मध्य पहाडी वातावरण जर्बेरा खेतीका लागि उपयुक्त हुने बताउँछन्, उनी । सुवेदी भन्छन्, ‘१५ देखि ३० डिग्रि सेल्सियसको तापक्रममा जर्बेराको राम्रो फूल फुल्छ ।’ यो फूलका लागि दिउँसोको समयमा २२ देखि २५ डिग्री सेल्सियस र रातिको तापक्रम १२ देखि १६ डिग्री सेल्सियस हुनु उपयुक्त मानिन्छ । टिस्युकल्चर गरेर उत्पादन गरिएका बिरुवा सुन्दर तथा आकर्षक थुँगा फुल्ने बताउँछन्, महासचिव पोख्रेल। 

अध्यक्ष श्रेष्ठका अनुसार विशेषगरी कट भेराइटीका जर्बेरा सेट हाउस (टनेल) भित्र फुलाइन्छ । जर्बेरा फुल्नका लागि सफा हावापानी चाहिन्छ । हिउँदमा होस वा वर्षाको समयमै किन नहोस् जर्बेरा खेती गर्ने ठाउँमा पानीको निकास राम्रो हुनुपर्छ । खेती गरिएको जमिनमा सामान्यतयाः हप्तामा एकपटक पानी हाल्नुपर्ने बताउँछन्,पोख्रेल । 

रोपेको तीनदेखि चार महिनामा फुल्ने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ । जाडो सिजनमा रोपेको चार महिनामा फुल्छ भने गर्मीमा तीन महिनामा फुल्छ । गर्मी सिजनमा असार÷साउन र जाडो सिजनमा असोज÷कात्तिकमा जर्बेराका बिरुवा रोप्नु उपयुक्त हुने बताउँछन्, पोख्रेल । जर्बेरा घमाइलो तथा न्यानो ठाउँमा राम्रोसँग फुल्ने फूल हो । 

हलुका माटो उपयुक्त

जर्बेराको गहिरो जरा जाने बताउँछन्,अध्यक्ष श्रेष्ठ । गहिरो जरा जाने भएकाले जर्बेरा खेतीका लागि हलुका किसिमको माटो आवश्यक हुने बताउँछन् उनी । हलुका तथा खुकुलो माटोमा यो फूल राम्रो फस्टाउन सक्छ। डिएपी, पोटास हाल्न छोडिँदै गएको हर्टिकल्चर विशेषज्ञको भनाइ छ । 

जर्बेरा फूलको राम्रो उत्पादनका लागि नाइट्रोजन, पोटास र फसफोरस (एनपीके) अत्यावश्यक हुने बताउँछन्, श्रेष्ठ । मलको मात्रा मिलाए रोग पनि कम लाग्ने उनको तर्क छ । उपचार नगरिएको मल हाल्दा रोगको जोखिम हुने सुवेदीको तर्क छ । 

गमलामा रोपिने पट भेराइटीका जर्बेरा फूल बिरुवाको पत्कर मिसिएको माटोमा रोप्दा राम्रो उत्पादन दिने विशेषज्ञको सुझाव छ । घर तथा गार्डेनमा फुलाउँदा कम्पोस्ट तथा गाईको मल पनि प्रयोग गर्न सकिने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ । 

रातोको माग धेरै

नेपालमा विशेषगरी ६ किसिमका रंगका जर्बेराका फूल बढी प्रयोग हुने गरेको बताउँछन्, महासचिव पोख्रेल । रातो, पहेँलो, सेतो, गुलाफी, पर्पल, बाई कलर (एउटै थुँगामा दुई वा दुई भन्दा धेरै रंग मिसिएको) मिसिएको जर्बेराको रंग नेपालमा चलेका रंग हुन् । सबै किसिमका रंगको जर्बेरा बिक्री हुने गरेको छ । विशेषगरी रातो तथा पिंक कलरको जर्बेरा फूल अन्य कलरको तुलनामा बढी बिक्री हुने गरेको बताउँछन्, काठमाडौंको पुतली सडकस्थित डिजाइन फ्लावर एण्ड गिफ्ट सपका सञ्चालक पदमबहादुर खड्का । विशेषगरी रातो रंगको जर्बेरा फूलको माग धेरै हुने गरेको खड्काको तर्क छ । 

एक रोपनीमा डेढ लाख कमाइ

जर्बेरा फूलको माग बढिरहेको बताउँछन्, हर्टिकल्चर विशेषज्ञ । जर्बेरा फूलविनाको डेकोरेसन अपुरोजस्तो हुन थालेको भनाइ छ, खड्काको पनि । नेपालमा डेकोरेसनका लागि जर्बेरा फूलको माग दिन प्रतिदिन बढिरहेको उनको अनुभव छ । डेकोरेसन गर्न कटफ्लावर मागको हिसाबले पहिलो नम्बरमा पर्ने बताउँछन्, श्रेष्ठ पनि । हेर्दा पनि आकर्षक देखिने भएकाले जर्बेराको माग बढिरहेको सुवेदीको तर्क छ । 

माग बढेसँगै नेपालमा जर्बेरा खेती गर्नेको संख्या पनि दिन प्रतिदिन बढिरहेको बताउँछन्, हर्टिकल्चर विशेषज्ञ । जर्बेरा फूलखेतीमा नेपाल आत्मनिर्भर बन्दै गएको बताउँछन्,अध्यक्ष श्रेष्ठ । जर्बेरा फूलको मागसँगै व्यवसायी पनि यसको खेतीमा आकर्षित भइरहेको कुरामा सुवेदी पनि सहमत देखिन्छन् । 

विशेषगरी काठमाडौं उपत्यकाका साथै बनेपा, धुलिखेल, चितवनलगायतका ठाउँमा पनि जर्बेरा खेतीको विस्तार हुने क्रम रहेको छ ।  काठमाडौं उपत्यकामा करिब १० हजार वर्गफिटमा जर्बेराको खेती भइरहेको बताउँछन्, सुवेदी । जर्बेराको बिरुवा रोपेको पाँच वर्षसम्म फुल्ने बताउँछन्, उनी । एक वर्षमा ६० थुँगासम्म फुल्छ । एक रोपनी क्षेत्रफलमा तीन हजारदेखि ३५ सयसम्म बिरुवा रोप्न सकिन्छ । प्रतिगोटा बिरुवाको ८०/९० रुपैयाँ पर्ने बताउँछन्, पोख्रेल । राम्रा जातका जर्बेराका बिरुवा भारत, चीन, युरोपियन देशलगायतबाट आयात हुने गरेको बताउँछन्, जर्बेरा व्यवसायी । एक रोपनी क्षेत्रफलमा जर्बेरा खेती गर्दा एक लाख पचास हजारसम्म फाइदा लिन सकिने बताउँछन्, सुवेदी । सम्पूर्ण लागत कटाएर एक रोपनी क्षेत्रफलमा डेढ लाखभन्दा बढी नै कमाइ हुने जर्बेरा व्यवसायी बताउँछन् । 

सामान्यतयाः प्रतिथुँगा (स्टिकसहितको थुँगा) जर्बेराको होलसेल मूल्य आठदेखि १५ रुपैयाँ पर्छ । सिजनमा २० रुपैयाँ पनि पर्छ । खुद्रा मूल्य भने १५ देखि ३५ रुपैयाँ पर्ने बताउँछन् खड्का । वार्षिक करिब २० लाख जर्बेराको स्टिक (कटफ्लावर) खपत भैरहेको बताउँछन्, पोख्रेल । औसतमा प्रतिस्टिक २५ रुपैयाँका दरले हिसाब गर्ने हो भने नेपालमा वार्षिक करिब पाँच करोडबराबरको जर्बेरा फूलको कारोबार भैरहेको देखिन्छ । 

आठ इन्चको गमलामा रोपिएको पट भेराइटी ढकमक्क फूलेको प्रतिबोट जर्बेराको मूल्य करिब दुई सय पचास पर्ने बताउँछन्, पोख्रेल । विशेषगरी काठमाडौंमा गमलामा रोपेर जर्बेरा सजाउने शौखिनको संख्या बढिरहेको छ । नर्सरीबाट बिरुवा ल्यााएर जर्बेरा फुलाउन सकिन्छ । 

बजारको कुनै समस्या नभएकाले पनि जर्बेरा खेतीप्रतिको आकर्षण बढिरहेको बताउँछन्, पोख्रेल । केही फूलका खेतीमध्ये जर्बेरा खेती सजिलो भएको हर्टिकल्चर विशेषज्ञको भनाइ छ । यसको खेती पनि सजिलो छ । एउटा बिरुवाबाट नयाँ अन्य बिरुवा पनि बनाउन सकिन्छ । जाडो सिजनमा केही फूल आयात गर्नुपर्ने भए पनि जर्बेरामा नेपाल करिब आत्मनिर्भर भैरहेको हर्टिकल्चर विशेषज्ञको भनाइ छ । 

कार सजाउन बीस हजार

विवाह तथा चाड पर्वको सिजनमा जर्बेराको माग उच्च हुने गरेको बताउँछन्, हर्टिकल्चर विशेषज्ञ । विवाह तथा चाड पर्वमा सजावटका लागि यसको फूलको बढी प्रयोग हुन्छ । जर्बेरालगायतका फूलले विवाहको एउटा कार सजाइदिएबापत चार हजारदेखि २० हजारसम्म लिने गरेको बताउँछन्, गिफ्ट सपका सञ्चालक खड्का । कार सजावटका लागि अत्यधिक प्रयोग हुने गरेको खड्काको अनुभव छ । 

जर्बेरा फूलविनाको कार सजावट फिक्काजस्तै हुने उनी बताउँछन् । जर्बेरासँगै गुलाफ, ग्लाडुलस, कार्नेसनलगायतका फूलको मिसावट गरी विवाहको कारलाई झकिझकाउ बनाइन्छ । पछिल्लो समय विवाहको कार फूलले सजाएर आकर्षक बनाउने प्रवृत्ति बढिरहेको देखिन्छ । गर्मी सिजनमा भन्दा जाडो सिजनमा बढी फूल टिक्ने बताउँछन्, उनी । 

रोगको कम जोखिम 

जर्बेरामा रोग पनि कमै लाग्ने विशेषज्ञको भनाइ छ । अन्य केही बिरुवाको तुलनामा कम रोग लाग्ने भएकाले पनि जर्बेरा खेतीप्रति व्यवसायी आकर्षित भैरहेको हर्टिकल्चर विशेषज्ञको तर्क छ । यसमा रोगै नलाग्ने भन्ने हैन । कहिलेकाहीँ रोगले पनि सताउँछ । प्रायः फूलमा गर्मी सिजनमा रोग लाग्ने समस्या बढी हुन्छ । जर्बेरा फूलको खेती गर्दा पनि विशेषगरी वर्षादको समयमा जरा कुहिने, पात सुक्नेजस्ता रोग लाग्छन् । पातमा ढुसी तथा सेतो पाउडर जस्तो रोग पनि लाग्न सक्छ । सेतो ढुसी आउनुलाई पाउडरी मिल्ड्यु रोग भनिने बताउँछन्, सुवेदी । रोगको निदान पनि गर्न सकिने सुवेदीको तर्क छ । रोगको निदानका लागि हर्टिकल्चर विशेषज्ञको सल्लाह लिनुपर्ने उनको तर्क छ ।

नेपालमा जर्बेरा मात्रै हैन अन्य फूलको पनि शोख तथा आकर्षण बढिरहेको छ । जर्बेेराको बजार नेपालमा मात्रै हैन विदेशमा पनि हुन सक्ने देखिन्छ । सम्बन्धित निकायले बजारको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । आन्तरिक उत्पादनलाई पनि जोड दिनुपर्ने देखिन्छ । 

प्रकाशित: २ माघ २०७५ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App