१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

युवाकाे सराहनीय काम : दिन दुःखीलाई मिष्ठान्न भोजन र कपडा

तस्बीर : टंक/नागरिक

सर्लाही – माघे संक्रान्तिका अवसरमा मंगलबार जिल्लाभर विविध कार्यक्रम भएका छन्। प्रायसः घरमा तरुल फर्सी जस्ता फलाहार अनि तिलको लड्डु, फापरको फुरौला, सेलरोटी लगायत मिष्ठान भोजन गरे। तर, हरिवनस्थित युवाहरूको समूहले भने माघे संक्रान्तिका अवसरमा अनाथ, असहाय, गरिब, अपांग लगायतलाई मिष्ठान्न भोजन गराउनुका साथै न्यानो कपडा समेत वितरण गरेको छ।

आमर्ट नेपाल सर्लाही अन्तर्गत आनन्द मार्ग राहत उद्धार टोलीमा आवद्ध युवाले माघे संक्रान्तिको अवसरमा यस्तो कार्यक्रम गरेका हुन्। हरिवन बजारमा आयोजित कार्यक्रममा ३५० जनालाई मिष्ठान्न भोजन गराइएको र ब्लांकेट, कम्बल सहित लगाउने कपडा तथा जुत्ता चप्पल वितरण गरिएको आमर्ट नेपाल सर्लाही अध्यक्ष बैजु साहले जानकारी दिए।

‘हुनेखानेले न्यानो कपडा लगाएर, मिष्ठान्न भोजन सहित माघे संक्रान्ति मनाउने गरेका हुन्छन्’, साहले भने, ‘अनाथ, असहाय, गरिब,विपन्न, अपांग, माग्दै हिँडने भिखारी लगायतलाई समेत मिष्ठान्न भोजन गराउँदै न्यानो कपडा समेत वितरण गरेर हामीले पनि सँगै संक्रान्ति मनाएका हौं।’

स्थानीय चण्डेश्वरी कपडा पसलका सञ्चालक दिनेशओम पोते लगायत कपडा व्यापारीहरूसँग संकलन गरिएको ब्लाङकेट, कम्बल, सारी, बर्को, जुत्ता चप्पल लगायत न्यानो कपडा वितरण गरिएको र खिर, जेरी, पुरी लगायत मिष्ठान्न भोजन समेत गराइएको साहले जानकारी दिए।

कार्यक्रमका प्रमुख आतिथि प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीले युवाहरूको काम ज्यादै सराहनीय भएको भन्दै प्रशंसा गरे। ‘यस्ता दिन दुःखीलाई मिष्ठान्न भोजन सहित न्यानो कपडा वितरण गरेर संक्रान्ति मनाउनु युवाहरूको उदाहरणीय काम हो’, सांसद् उप्रेतीले भने, ‘यस्तो कार्य समाजमा ज्यादै सकारात्मक र रचनात्मक उदाहरण बन्ने छ।’

कार्यक्रममा उपस्थित हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, वडा अध्यक्ष शेख मेहबुब रेजा लगायत अतिथिले युवाहरूको कार्यको खुलेर प्रशंसा गरे। आमर्ट नेपालले हरेक माघे संक्रान्तिका दिन सयौं दिन दुःखीलाई भेला गराएर मिष्ठान्न भोजन एवं न्यानो कपडा वितरण गर्ने गरेको छ।   

प्रकाशित: १ माघ २०७५ १३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App