१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मैलुङ–स्याफ्रु सडक स्तरोन्नति सुरु

मैलुङ–स्याफ्रुबंसी सडकमा गएको पहिरो हटाइँदै। तस्बिर : नागरिक

रसुवा - चीन जोड्ने छोटो दूरीको रूपमा रहेको मैलुङ–स्याफ्रु सडकको स्तरोन्नतिको काम बुधबारदेखि सुरु भएको छ। मैलुङस्याफ्रुबेंसी सडकखण्डमा गएको पहिरो पन्छाउने काम सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्नुपरेकाले स्तरोन्नतिमा ढिलाइ भएको योजना प्रमुख सुवोध कुमार देवकोटाले बताए। ‘हामीले गत कात्तिकबाट नै स्तरोन्नतिको काम सुरु गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘असारमा पहिरोले सडकमा थप क्षति गरेपछि संशोधन गर्नुपर्‍यो।’ संशोधनपछि काम सुरु गरिएको उनको भनाइ छ।

सडकको दुवैतर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ। बढीमा तीन हप्ताभित्र यातायात सञ्चालनमा ल्याइने योजनाले जनाएको छ। भौतिक पूवार्धार तथा यातायात मन्त्रालयमा मंगलबार बसेको बैठकले ६ महिनादेखि अवरुद्ध रहेको सडक खुलाउन निर्देशन दिएको थियो। नेपाल र चीनबीच हुँदै आएको व्यापारिक कारोबारलाई सहज बनाउनका लागि निर्माण गरिएको सडक खुलाउने कार्य नभएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाका अध्यक्ष कर्णेल लामासहितको टोली मंगलबार मन्त्रालय पुगेको थियो।

नेपाली सेनाले ट्र्याक खोलेर गत जेठ ६ गते हस्तान्तरण गरेको भए पनि लामो समयसम्म  स्तरोन्नतिको काम नगर्दा समस्या भएको पूर्वप्रतिनिधि सभाका सदस्य जनार्दन ढकालले बताए। ‘राज्यको सम्पति खर्च भइसकेपछि यसको सदुपयोग हुनुपर्छ,’ उनले भने, ‘प्रभावित क्षेत्रका बासिन्दा तथा व्यापारीले तत्काल उपभोग गर्न पाउनुपर्छ।’

२०७२ वैसाख १ गतेदेखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्र्याक खोल्ने कार्य सम्पन्न भएको थियो। ट्रर्याक खोलेपछि केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो। यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना (०७५/७६–०७७/७८) मा उल्लेख भए अनुसार आर्थिक वर्ष ०६१/६२ देखि निर्माण सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना ०७५/७६ भित्र निर्माण तथा स्तरोन्नति भएको हुने उल्लेख छ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ। पासाङल्हामु राजमार्ग अन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन। काठमाडौंदेखि गल्छी ४४ किमि, गल्छीदेखि बट्टार २२ किमि, बट्टारदेखि बेत्रावती ११ किमि, बेत्रावतीदेखि मैलुङ १२ किमि र मैलुङदेखि स्याफ्रु १६ किमि दूरी रहेको छ।

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँडन कुनै पनि घुम्ती पार गर्नु पर्दैन। मैलुङ¬–स्याफ्रुबेंसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ देखि पासाङ ल्हामु राजमार्ग अन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: २७ पुस २०७५ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App