१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अस्तव्यस्त सडक विकासको बाधक

सडकको दुरवस्था। तस्बिर : महेशकुमार/नागरिक

महोत्तरी – जिल्लाका सडकहरू अस्तव्यस्त भएपछि महोत्तरी विकासमा पछाडि पर्दै गएको छ। जिल्लाका भिटामोड–जलेश्वर–जनकपुर सडक, जलेश्वर–बर्दिबास सडक, जलेश्वर–हर्दी सडक, जलेश्वर–मटिहानी सडकलगायत अधिकांश सडक सञ्जाल वर्षौंदेखि अस्तव्यस्त हुँदा विकासको ढोका खुल्न नसकेको जिल्लावासीहरू बताउँछन्।

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन्। तर एउटा स्थानीय तहबाट अर्कोमा सडकहरू गतिला छैनन्। सडक सञ्जाल नाजुक हुँदा स्थानीय तहहरूबीच हुने सहयोगी कार्यहरू अघि बढ्न सकेका छैनन्। १५ वटै स्थानीय तहमा एम्बुलेन्स र बारुण यन्त्रजस्ता अत्यावश्यक सवारीसाधन पुग्ने अवस्था छैन। बजार क्षेत्रमा एम्बुलेन्स र बारुण यन्त्र पुगे पनि ग्रामीण क्षेत्रसम्म सवारीसाधन पुग्न सडक सञ्जाल बाधक बन्दै आएको छ।

सडकको दुरवस्थाकै कारण जिल्ला सदरमुकाम जलेश्वरको अवस्था त दयनीय छँदै छ, ग्रामीण भेगको सडक अवस्था झनै भद्रगोल छ। अस्तव्यस्त सडक सञ्जालकै कारण महोत्तरीमा सोचेजसरी शिक्षा, स्वास्थ्य र पर्यटनको विकास हुन नसकेको स्थानीय बताउँछन्।

महोत्तरीका लगभग सबै स्थानमा सडक सञ्जनल विस्तार भएको छ तर मुख्य सडकहरू नै वर्षौंदेखि जीर्ण हुँदा जिल्लाको विकास सुस्ताएको देखिन्छ। अस्तव्यस्त सडककै कारण महोत्तरीको विकासका सम्भावनाहरू उजागर हुन सकेका छैनन्। धेरै पहिले भारत बिहारको सीतामढी र मधुवनी जिल्लासँग जनकपुरलाई जोड्न बनाइएको भिडामोड–जलेश्वर–जनकपुर सडकको पुनर्निर्माण भइरहेको छ। तर ठेकेदार कम्पनीको ढिलासुस्तीले गर्दा काम सम्पन्न हुन आठ महिना मात्र बाँकी रहँदा ४० प्रतिशत काम पनि भएको छैन। सदरमुकामकै अवस्था दयनीय हुँदा जिल्लाका अन्य ठाउँ पछाडि पर्नु स्वाभाविक रहेको स्थानीय बुद्धिजीवीहरू बताउँछन्।

प्रदेश २ को स्थायी राजधानी जनकपुर बन्ने सम्भावना प्रबल रहे पनि जनकपुरलाई भारतसँग जोडने मुख्य सडकमार्गका रूपमा रहेको जलेश्वर–जनकपुर सडक खण्डको अवस्था फेरिने आशा देखिँदैन। यो सडकमा यात्रा गर्ने यात्रुहरुले यात्राभन्दा सजाय भोग्न बाध्य भएको प्रतिक्रिया दिने गरेको स्थानीय शिक्षाप्रेमी लवराजा सिंहको भनाइ छ। जलेश्वरमा ऐतिहासिक र धार्मिक महत्व बोकेको जलेश्वरनाथ महादेव मन्दिर पर्यटकीय दृष्टिकोणले ओझेलमा पर्दै गएको उनले तर्क गरे।‘जनकपुरको जानकी मन्दिरमा रामनवमी, विवाह पञ्चमीलगायत मेला भर्न आउने श्रद्धालु सडककै दुरावस्थाका कारण जलेश्वरनाथको दर्शनका लागि हिच्किचाउने गरेका छन्,’ उनी भन्छन्, ‘त्यसकारण सो मन्दिरको गरिमा ओझेलमा पर्दैै गएको छ।’

करौडोंको लगानीमा अत्याधुनिक सुविधा दिने भन्दै जलेश्वर अस्पताल बनाइएको छ। तर सडकको दुर्गतिकै कारण त्यहाँ डाक्टररू आउनै मान्दैनन्। जसका कारण अस्पताल रेफर सेन्टरजस्तै बन्दै गएको छ। सडक राम्रो नभएकै कारण जलेश्वरका विद्यालय, क्याम्पसमा गुणस्तरिय शिक्षा दिन नसकिएको यहाँका विद्यार्थी अध्ययनका लागि अन्यत्रै जाने गरेको स्थानीय बताउँछन्।

विकासको मूल आधार सडक सञ्जालको अवस्था राम्रो नभएकै कारण सबै क्षेत्र प्रभावित भएको जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साह बताउँछन्। ‘यहाँका उद्योगधन्दा, व्यवसाय फस्टाउन नपाउनुको प्रमुख कारण सडकको दुरवस्था नै हो,’ अध्यक्ष साह भन्छन्, ‘भारतका विभिन्न ठाउँबाट आउने पर्यटकहरू जनकपुर जाने मुख्य सडकका रूपमा रहेको भिटामोड–जलेश्वर–जनकपुर सडकमार्ग भएर एकपटक यात्रा गरेपछि दोहोर्याएर उनीहरू आउन मान्दैनन्।’

पर्यटकले जहाँ पनि सुविधा खोज्ने गर्छन् तर जनकपुर जलेश्वरको १५ किलोमिटर सडकर बर्दिवास जलेश्वरको ४५ किलोमिटर सडकको अवस्था कारण उनीहरू जनकपुर र बर्दिबासबाटै फर्किने गर्नाले यहाँको पर्यटकीय क्षेत्रको विकास हुन नसकेकोमा अध्यक्ष साह दुखेसो व्यक्त गर्छन्। अध्यक्ष साहले भन्छन्, ‘जलेश्वर–जनकपुर सडककै दुरवस्थाका कारण राजनीतिक दलका केन्द्रीय नेताहरू पनि महोत्तरी आउन चाहँदैन्न।’ सडककै करण प्रदेश २ का आठ जिल्लामध्ये महोत्तरी पछाडि परेको साहले तर्क छ। दिल्लीबाट पर्यटक सिधै जनकपुर आउन नसक्ने भएकाले जलेश्वरको विकास हुँदा मात्र जनकपुरको विकास सम्भव रहेकोमा त्यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्नेमा अध्यक्ष साह जोड दिन्छन्।

सडकको अवस्थाका कारण पहिल्यै चल्तीमा रहेको मूल भन्सार कार्यालय भिटामोडलाई अहिले आएर लक्ष्यअनुसारको राजस्व जेनतेन उठाउनुपर्ने बाध्यता छ। ठूलाठूला उद्योगी र व्यापारीहरूले यस सडकबाट सामान आपूर्ति गर्दा सडकको जीर्ण अवस्था नै बाधक बन्ने गरेकाले उनीहरू अन्य भन्सार नाकाबाट समान आपूर्ति गर्ने गर्छन्। ठूला व्यापारी र उद्योगीहरुको रोजाइमा यो सडक नपरेपछि भन्सार कार्यालयको राजस्व लक्ष्य पूर्ति गर्नसमेत धौ पर्ने गरेको भिटामोड भन्सार कार्यालयका प्रमुख केशव भण्डारीले बताउँछन्। महोत्तरीमा राम्रा एनजिओ–आईएनजिओले कार्यक्रमसमेत ल्याउन छाडेको उनको भनाइ छ। पहिले जलेश्वरमै मुख्य कार्यालय खोलेका एनजिओ–आईएनजिओको कार्यालयहरु सडककै दुरावस्थाको कारण पलायन हुन थालेका छन्।

सडक सहजताका कारण दातृ निकायका कार्यक्रम लिएर आउनेहरू सकभर जनकपुर अथवा बर्दिबासबाटै फर्कने सोचमा रहने गरेको जलेश्वरमा गैरसरकारी संस्था चलाइरहेका नागेन्द्र दुबेले बताए। २०३९ सालमा नगरपालिका घोषणा गरिएको जलेश्वर नगरपालिकाका हरेक क्षेत्र सडककै कारण प्रभावित बनेको हो। ‘सदरमुकामको विकास भए पो जिल्लाको विकास भएको बुझिन्छ !’ साहले भने, ‘तर महोत्तरीको सडकहरुको मर्मत र पुनर्निर्माणका लागि न त यहाँका स्थानीय नेताले कहिल्यै प्रयास गरे, न त केन्द्रबाटै कुनै पहल भयो !’ यता जलेश्वरदेखि हर्दीसम्म र जलेश्वर बर्दिबास सडकमा पनि वर्षाको बेला हिलाम्य र सुक्खाको बेला धुलाम्य भएर सर्वसाधारणलाई आवत जावत गर्नु पर्दा निकै कठिनाइ बेहोर्नुपरिरहेको छ।

प्रकाशित: २७ पुस २०७५ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App