१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फाल्गुनन्द गोल्डकप : सुनसरीलाई रोक्दै सरस्वती अन्तिम चारमा

सरस्वतीका खेलाडी भिक्टर (निलो) लाई रोक्ने प्रयासमा सुनसरीका खेलाडी। तस्बिर : गिरिराज/नागरिक

पाँचथर – खेलको आठौं मिनेटमा लिएको अग्रतालाई अन्तिम १५ मिनेट जोगाउन नसक्दा साबिकको विजेता सुनसरी–११ फिदिममा जारी दशौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

सुनसरी बुधबार फाल्गुनन्द गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको काठमाडौंको सरस्वती युथ क्लबलाई २–१ को नतिजा सुम्पिँदै  क्वार्टरफाइनलबाट बाहिरिएको हो। दोस्रो हाफमा अन्तिम समयसम्म सरस्वती सुनसरीले लिएको अग्रतालाई उल्टाउन सफल भएको थियो।

सरस्वतीका विदेशी खेलाडी भिक्टोरको दुई गोलप्रेरित खेलमा सरस्वतीले अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो। सुनसरीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै म्यान अफ दी म्याच भिक्टरले खेल सकिन १० मिनेट बाँकी रहँदा विजयी गोल गरेका थिए।

यसअघि आठौं मिनेटमा दीपेन तामाङले गोल गर्दै सुनसरीलाई सुरुआती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको सरस्वतीले त्यसपछि बराबरीका लागि निकै संघर्ष गर्नुपर्यो। निकै प्रतिस्पर्धात्मक खेलमा सुनसरीका उमेश राईको पासलाई तामाङले सदुपयोग गरेका थिए। पहिलो हाफमा सरस्वतीका तीर्थ बस्नेत र भिक्टोरले पाएका केहि मौका गुमाएका थिए।

‘पहिलो हाफबाट खेल मैदानको अनुभव लिँदै दोस्रो हाफमा लय समात्न सफल भयौं। जित पनि निकाल्यौं। समग्रमा खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु।’ सरस्वतीका प्रशिक्षक प्रदीप नेपाल

पहिलो हाफमा लिएको अग्रतापछि केही रक्षात्मक बनेको सुनसरीविरुद्ध आक्रामक देखिएको सरस्वती खेलेको ७६औं मिनेट भिक्टरको गोलबाट खेलमा फर्किएको थियो। सुनसरीको रक्षापंक्तिको फाइदा उठाउँदै वान भर्सेस वानमा भिक्टोरले टोलीलाई खेलमा फर्काएका थिए। ‘ए’ डिभिजन लिगको अनुभव लिएपछि गोल्डकप प्रतियोगिताको लागि पाँचथर पुगेको सुरस्वतीका भिक्टरले बराबरी गोलको चार मिनेटपछि अर्को गोल थप्दै अग्रता उल्टाएका थिए।

बाँकी समय साबिकको विजेता सुनसरी खेलमा फर्किन प्रयास गरे पनि अनुभवी सरस्वतीको अगाडि चल्न सकेन। अग्रता जोगाउन नसक्दा पराजित हुने परेको सुनसरी–११ का प्रशिक्षक श्याम मानन्धरले बताए। ‘अन्तिम समयमा हाम्रो रक्षापंक्ति सम्हालिन सकेन,’ प्रशिक्षक मानन्धरले भने, ‘समग्रमा हाम्रो टोलीले राम्रो खेल प्रदर्शन गर्न सफल भयो। पहिलो हाफमा निकै राम्रो खेल्यो। तर, दोस्रो हाफमा आक्रामक देखिएको सरस्वतीलाई रोक्न असफल भयो।’

उता सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले मैदानको अनुभव नहुँदा पहिलो हाफमा खेलाडीहरु चल्न नसकेको प्रतिक्रिया दिए। ‘पहिलो हाफको खेल मैदानको अनुभवले देस्रो हाफमा हामीले राम्रो लय समात्न सफल भयौं,’ प्रशिक्षक नेपालले भने, ‘समग्रमा म खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु।’ फिदिम माविको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा बिहीबार काठमाडौंको ब्वाइज युनियनले भारतको रोयल फुटबल क्लब दार्जिलिङको सामना गर्नेछ।

प्रकाशित: २६ पुस २०७५ ००:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App