१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

केरुङ जानका लागि १५ दिनको अस्थायी प्रवेश अनुमति

रसुवा – चीनको केरुङ जानका लागि राहदानी बाहक चालकले १५ दिनको अस्थायी प्रवेश अनुमति पाउने भएका छन्। चीनबाट सामग्री आयात गर्ने रसुवा बाहिरका कन्टेनर चालकलाई प्रवेशका लागि अस्थायी अनुमति दिन लागिएको हो। नेपाल चीन सीमा क्षेत्र रसुवागढीमा मंगलबार बसेको सीमा सुरक्षा बैठकले व्यापारिक वातावरण सहज बनाउनका लागि चालकलाई अस्थायी अनुमित दिने निर्णय गरेको हो।

चीनसँग सिमाना जोडिएका जिल्ला बाहेकका अन्य जिल्लाका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफारिसमा चिनियाँ अध्यागमनले अस्थायी अनुमति दिन लागेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। ‘अध्यागमनले १५ दिनका लागि अनुमति उपलब्ध गराउँछ,उनले भने,‘१५ दिनपछि अध्यागमन कार्यालयको सिफारिसमा पुनः अस्थायी प्रवेश अनुमति नविकरण हुँदै जान्छ।’ आगामी दिनमा चीनसँग सिमाना जोडिएका जिल्ला बाहेकका व्यापारीहरूको सहज प्रवेश अनुमतिका लागि प्रक्रिया अगाडि बढाउँछौँ उनल बताए।

उनका अनुसार एउटा कन्टेनरका चालक र सहचालक गरी दुई जनाले अनुमति पाउने छन्। चीनको केरुङसम्म नेपालीहरूको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तर्राष्ट्रिय व्यापार प्रवद्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
रसुवाका नागरिकले भने एक वर्षका लागि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) पाउने गरेका छन्। नेपाल चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एक वर्षे प्रवेशाज्ञा रसुवाका ९ हजार भन्दा बढीले पाएका छन्।

रसुवागढी नाका सञ्चालनमा आएपछि रोजगारका लागि केरुङ जाने व्यापारी, व्यावसायी र चालक बढ्दै गएका छन्। रसुवागढी–केरुङ सडक खण्डमा मालबाहक कन्टेनर सञ्चालन गर्दा चालकले एकतर्फी भाडा ७ हजार ५ सय पाउँछन्। जिल्ला बाहिरका नागरिकलाई एक दिने पासको व्यवस्था नभएका कारण सवारी पु-याउने तथा ल्याउने काम रसुवाका चालकले गर्दै आएका थिए। ‘एकतर्फी सवारी पु-याएको साढे सात हजार आउँछ, चालक राम तामाङले भने, नाका सञ्चालनमा आएपछि हामीले पनि काम पाएका छौँ।’ नाका सञ्चालनमा आएपछि जिल्लाबासीले कन्टेनर खरिद गर्ने क्रम बढेको व्यावसायी बताउँछन्। जसको कारण ट्रान्सपोर्टमा समेत जिल्लाबासीले रोजगार पाएका छन्।

प्रकाशित: २५ पुस २०७५ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App