१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मनाङ्गेको सपथ सभामुखको टाउको दुखाई

पोखरा– सभामुख नेत्रनाथ अधिकारी आफै बिरामी छन्। टाउकोको शल्यक्रिया गरेका अधिकारीलाई चिकित्सकले धेरै नबोल्न सुझाव दिएका छन्। पत्रकारको प्रश्नमा पनि उनले सटिक जवाफ दिने गर्दछन्।

पूर्ण रुपमा ठिक भई नसकेका उनै सभामुख नेत्रनाथ अधिकारीलाई अहिले एक व्यक्तिको सपथग्रहण टाउको दुखाई बनेको छ। सभामुखको टाउको दुखाउने व्यक्ति अरु कोही नभएर मनाङ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गे हुन।

स्वतन्त्र उम्मेदवार बनेर निर्वाचन जितेपनि उनले अहिलेसम्म सपथग्रहण गर्न पाएका छैनन्। ज्यान मार्ने उद्योग अन्तर्गत कारागार चलान भएपछि उनले माननीयको हैसियतमा सपथ लिन पाएका थिएनन्। तर, पुसको पहिलो साता मनाङ्गे सर्वोच्चको आदेशमा थुनामुक्त भए र दोस्रो साता उनले गण्डकी प्रदेशसभा सचिवालयमा सपथग्रहणको लागि निवेदन दिएका थिए।

स्पष्ट कानून नभएको हुँदा सपथ खुवाउने कि नखुवाउने भन्ने निर्णय लिन नसक्नु नै सभामुख अधिकारीको टाउको दुखाईको विषय हो। सभामुख निरन्तर कानूनी परामर्शमा जुटेका छन्, तर नतिजा हाता लाग्यो शून्य। उनले स्पष्ट निर्णय लिन सकेका छैनन्।

मनाङ्गेलाई सपथ खुवाउने नखुवाउने निर्णय सभामुखको हातमा छ। तर, सपथ खुवाउने निर्णय लिँदा त्यसको नजीर र दीर्घकालीन प्रभाव पर्ने भन्दै सभामुख दुई दिनअघि सम्म सपथ नखुवाउने मनस्थिती बनाएका थिए।

आइतबार त उनले प्रदेशसभा निर्वाचन ऐनको दफा १६ का आधारमा मनाङ्गेलाई सपथ नै नखुवाउने निर्णय भएको बताए। तर, त्यसकै भोलिपल्ट आफ्नो निर्णयको खण्डन सभामुख आफैले गरे।

आफ्नो निर्णयको आफै खण्डन गर्नुको कारणचाहीँ सभामुख र दीपक मनाङ्गेको डेढ घण्टे छलफलको परिणाम हो। सोमबार सभामुखले मनाङेसँग लामो छलफल गरेपछि कानूनी छिद्रहरु रहेको भन्दै सपथको विषयमा निर्णय नभएको प्रतिक्रिया दिए।

यता मनाङ्गेले चाहीँ सपथग्रहण गर्न पाउनु आफ्नो अधिकारको विषय रहेको र कुनै कानूनको कुनै दफा र धाराले सपथ रोक्न नसक्ने बताएका छन्। सभामुखसँग छलफल गरेपछि उनले भने, ‘मैले दफा १६, १३ सबै बुझाई दिएको छु, उहाँ(सभामुख) २ सय प्रतिशत कन्भिन्स हुनुहुन्छ।’

आइतबारको निर्णय सोमबार उल्टिएपछि सभामुख फेरि परामर्शमा नै जुटेका छन्। मंगलबार उनले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग निवासमै भेटवार्ता गरेका छन्। यस्तै फरकफरक संसदीय दलका नेता, सचेतकहरुसँग प्रत्यक्ष तथा फोनमार्फत सल्लाह लिइरहेका छन्। सभामुखको स्वकीय सचिवालयका अनुसार सभामुख अहिले पनि निरन्तर परामर्शमा नै रहेका छन्। सम्भवतः आज बेलुका नै मनाङेको सपथको विषयमा टुंगो लाग्नेछ।

प्रकाशित: २४ पुस २०७५ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App