१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिया कप सुरु, बहराइनसँग बराबरीमा रोकियो आयोजक

दोहा – एसिया कप खेल्न युनाइटेड अरब इमिरेट्स (युएई) पुगेको कतारको टोलीको यात्रा अन्य खाडी मुलुकसँग विद्यमान गतिरोधका कारण छाँयामा पर्न सक्नेछ।

शनिबारबाट सुरु भएको प्रतियोगितामा सहभागिताका लागि युएई पुगेको कतार खाडी मुलुकबाट २०१७ देखि नाकाबन्दीको चपेटामा छ। त्यसका बावजुद पनि सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको टोली प्रतियोगितामा सहभागी हुन अबुधाबी पुगेको हो। शनिबार विमानस्थल पुगेको कतार फुटबल संघ (क्युएफए) ले  सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएको छ। साथै उनीहरूलाई आयोजकले बस्ने स्थलमा उच्च सुरक्षा दिँदै पुर्‍याएको पनि उल्लेख गरेको छ।

सहभागिताका लागि दुबई पुगेको कतारको टोलीले करिब महिना दिन जति युएईमा बिताउनेछ।  ‘एउटै सूत्रमा बाँध्ने माध्यम फुटबल हो,’ कतारका गोलकिपर साद अल–सिबले भने, ‘हामी खेलमा सम्हालिनेछौं, खेलको मर्मलाई खेलबाट नै देखाउनेछौं।’

एसिया कपमा कतारले जनवरी ९ मा लेबनानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ भने नाकाबन्दी लगाएको साउदी अरेबियासँग जनवरी १७ मा खेल्दै छ। कतारलाई नाकाबन्दी लगाउने अन्य खाडी मुलुक साउदी अरेबिया, बहराइनसँगै  इरान पनि प्रतियोगितामा सहभागी छन्।

शनिबारबाट सुरु भएको एसिया कपको उद्घाटन खेलमा आयोजक युनाइटेड अरब इमिरेट्स (युएई) बहराइनसँग १–१ गोलको बराबरीमा रोकिएको छ। दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका अहमेद खलिलले पाहुना टोली बहराइनले लिएको अग्रतालाई पेनाल्टीबाट बराबरीमा ल्याएका थिए। बहराइनका मोहम्मद अर्लोमहीले पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि घरेलु टोलीले पेनाल्टीबाट गोल गर्दै हारलाई टारेको हो। पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टोली दोस्रो हाफमा जित खोज्दै मैदानमा उत्रिएका थिए। ७८औं मिनेटमा मोहम्मद मारजुकले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए। खेल सकिन दुई मिनेट बाँकी रहँदा युएईले पेनाल्टीबाट गोल गर्दै लिग खेलमा अंक खोस्न सफल भएको हो।

यसअघि २०१५ मा अस्ट्रेलियामा भएको प्रतियोगितामा युएईले बहराइनविरुद्ध १४ सेकेन्डमा नै गोल गर्दै टोलीको अग्रता बनाएको थियो। यस संस्करणमा भने युएईले पछि परेको अवस्थालाई बराबरीमा ल्याउँदै  प्रतियोगिताको सुरुआत गर्न बाध्य भएको हो। यसअघि १९९६ मा  प्रतियोगिताको आयोजक हुँदै फाइनल पुगेको युएई साउदी अरेबियासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

यस्तै प्रतियोगिता अन्तर्गत आइतबार भएको अर्को खेलमा जोर्डनले अस्ट्रेलियालाई १–० ले स्तब्ध पार्‍यो। अनास बानि यासिनले २६औं मिनेट गरेको गोल नै जोर्डनका लागि निर्णायक बनेको हो।२४ एसियाली राष्ट्रको सहभागिता रहेको प्रतियोगिता फेब्रुअरी १ सम्म सञ्चालन हुनेछ। एएफसीले सहभागी २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिरहेको छ। ‘एउटै सूत्रमा बाँध्ने माध्यम फुटबल हो। हामी खेलमा सम्हालिनेछौं, खेलको मर्मलाई खेलबाट नै देखाउनेछौं।’

प्रकाशित: २३ पुस २०७५ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App