१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

व्यापार विवादबारे वार्ता गर्न अमेरिकी टाेली चीन आउने

बेइजिङ - विश्वका दुई ठूला अर्थतन्त्र संयुक्त राज्य अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापार युद्धबारे अर्को साता चीनको राजधानी बेइजिङमा वार्ता हुने भएको छ। व्यापार वार्ताका लागि अमेरिकाको एक उच्च प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

विश्वभरबाट अत्यन्तै नजिकबाट हेरिएको दुई देशबीचको बैठक अमेरिकी बजारमा आएको भारी गिरावटपछि हुने भएको हो। अमेरिका र चीनले गत वर्ष एकअर्काका सामानमा अर्बौं डलरबराबरको अतिरिक्त कर (ट्यारिफ) लगाएपछि दुई देशबीचको व्यापार युद्ध सतहमा आएको थियो। दुई देशले तीन खर्ब डलरभन्दा बढीका सामानमा ट्यारिफ लगाएका थिए।

गत वर्षको नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन अर्जेन्टिनाको ब्युनस आयर्समा सम्पन्न भएको विश्वका २० शक्तिशाली अर्थतन्त्रको समूह ‘जी ट्वान्टी’ बैठकका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ९० दिनसम्म एकअर्काका सामानमा ट्यारिफ नलगाउने भनेर भएको सहमतिपछि अर्को साता पहिलो पटक दुई देशका प्रतिनिधिबीच प्रत्यक्ष छलफल हुँदैछ। दुई नेताबीच गत डिसेम्बर १ का दिन सो सहमति भएको थियो। जनवरी ७ र ८ का दिन बेइजिङमा हुने अमेरिकी प्रतिनिधि र चीनबीचको बैठकको प्रमुख उद्देश्य नै दुई राष्ट्रपतिबीच भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गराउनेतर्फ लक्षित हुने चिनियाँ वाणिज्य मन्त्रालयको वेबसाइटमा राखिएको विवरणमा भनिएको छ।

चीन भ्रमणमा आउने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी व्यापारका उपप्रतिनिधि जेफ्ररे गेरिसले गर्ने चिनियाँ वाणिज्य मन्त्रालयको वेबसाइटमा राखिएको विवरणमा भनिएको छ। चीनले अस्वस्थ र अनुचित व्यापार गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले गत वर्ष अमेरिका आयात हुने चिनियाँ सामानमा ट्यारिफ लगाउने घोषणा गरेका थिए।

उनले व्यापारमा निष्पक्षता ल्याउन र अमेरिकी उत्पादक कम्पनीहरुलाई सहयोग गर्ने भन्दै चिनियाँ सामानमा ट्यारिफ लगाउने घोषणा गरेका थिए। अमेरिकी कदमको बदलास्वरुप चीनले पनि अमेरिकी सामानमा ट्यारिफ लगाउने घोषणा गरेको थियो। एकअर्काको सामानमा ट्यारिफ लगाउने घोषणापछि विश्वभरबाट नयाँ व्यापार युद्ध हुनसक्ने भन्दै व्यापक चिन्ता व्यक्त भएका थिए। दुई देशबीचको झगडाका कारण विश्वभरको व्यापारमा असन्तुलन आएको थियो भने विश्व अर्थतन्त्रमा असर पुग्ने भन्दै कैयौं देशको सेयर बजारमा गिरावटसमेत आएको थियो।

यसै साता प्रकाशित भएको तथ्यांकमा गत वर्ष दुई देशबीचको व्यापारमा गिरावट आएको देखिएको बिबिसीले जनाएको छ। अमेरिकी कारखानाहरुका गतिविधि गत डिसेम्बरमा अनुमान गरिएभन्दा निकै नै सुस्त भएको इन्सिट्युट फर सप्लाई म्यानेजमेन्ट (आइएसएम)ले जनाएको छ। पछिल्लो दुई वर्षमा पहिलो पटक चिनियाँ उत्पादन गतिविधिमा पनि केही कमी आएको चीनको पछिल्लो तथ्यांकले देखाएको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: २० पुस २०७५ १६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App