१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

स्थानीय सडकमा मुआब्जाको किचलो

सडक फराकिलो गर्दा जग्गाधनीलाई दिने मुआब्जाबारे बिहीबार अलौंमा स्थानीय अगुवाबीच छलफल हुँदै । तस्बिर:रितेश/नागरिक

वीरगन्ज - स्थानीय सडकको स्तरोन्नतिमा ठाउँठाउँमा देखिएको मुआब्जाको विवाद पर्साको अलौंमा पनि देखिएको छ। पुस्तैनी घडेरी टुक्र्याउदै दुई–तीन धुरमा घर बनाएका सीमित परिवार र आर्थिक बिपन्नताले थोरै घडेरीमा घर बनाएर बस्नेहरु सडक निर्माणले गर्दा उठिबास नै हुने भएपछि स्थानीय विकासका लागि महत्वपूर्ण मानिएको सडकको स्तरोन्नति काम प्रभावित भएको छ।

गाउँहरुमा साबिकका सडक साघुरा छन्। नयाँ योजनामा सडकको डिजाइन फराकिलो छ। यसले जग्गा प्राप्तिका लागि स्थानीय बासिन्दाको जग्गा सडकमा लिनुपर्ने हुन्छ। सडक निर्माणको बजेटमा मुआब्जाको रकम नछुट्याइएकाले यस्तोमा विवादको कारण बन्छ।

सडक फराकिला बनाउन जग्गा प्राप्तिका लागि गत साता पर्साको अलौंमा पर्वपक्षीय बैठक बसेको थियो। बैठकमा सडक फराकिलो चाहिनेमा गाउँ नै एकमत भए पनि मुआब्जाको विषयले ठोस निर्णय हुन सकेन। वडाध्यक्ष सुखरानी देवीको अध्यक्षतामा बसेको बैठकमा सबै दलका प्रतिनिधि र स्थानीय अगुवाको उपस्थिति रहेको थियो। सहरी विकास मन्त्रालयको बजेटमा महानगरपालिकाको निर्णयले योजनाको मापदण्ड अनुसारको नौ मिटर फराकिलो सडक बनाउन अलौको तीनवटा सडकखण्ड प्रस्तावित गरिएको छ।

पद्म सडकको अलौ–आठराहा चोकदेखि अलौं छोटी भन्सारसम्म दुई हजार तीन सय मिटर, वडा कार्यालयदेखि कोन्हिया हुँदै तिलावे पुलसम्म एक हजार आठ सय मिटर र वडा कार्यालयदेखि पद्म सडकको पँचगछिया नजिककको कल्भर्टसम्म नौ सय मिटर सडक बनाउन प्रस्तावत छ। यसमा पद्म सडकको अलौ–आठराहा चोकदेखी अलौं छोटी भन्सारसम्मको सडकखण्डमा केही घरहरु आंसिक रुपमा र आधा दर्जन घरको अधिकांश भाग सडकमा पर्ने भएको छ।

‘जसको निजी जग्गा र घर सडकमा परेर उठिबास हुँदैछ उसलाई बासको व्यवस्था गर्नुपर्छ, त्यसको लागि मुआब्जा चाहिन्छ भन्ने हाम्रो भनाइ हो,’ काँग्रेसका तर्फबाट बैठकमका सहभागी सो पार्टीका स्थानीय नेता सन्जु छतकुलीले भने, ‘सडक बनोस् तर उठिबास हुनेहरुको पुनर्वास पनि होस्।’

‘सडक बन्नेमा कसैको बिमति छैन, मुआब्जाको कुरामा केही स्थानीय नेताले अलिक बढी नै जोड दिएकाले ठोस निर्णय हुन सकेन,’ वडाध्यक्षका श्रीमानसमेत रहेका संघीय समाजवादी फोरम नेपालका नेता विरेन्द्र यादवले भने, ‘सडक बन्ने छ, घरबारबिहीन हुनेलाई पुनर्वास गराउन हामी महानगरपालिका कार्यालयलाई मुआब्जाको प्रबन्ध गर्न भन्छौं। भएन भने वडा समितिले नै व्यवस्थापन गर्ने कुरा भएको छ।’

स्थानीय आशिक अन्सारी उक्त सडक बनेपछि गाउैको मुहार नै फेरिने बताउँछन्। घरबारबिहीन हुनेहरुलाई कसरी व्यवस्थापन गर्ने विषय बिहीबार बसको बैठकमा प्रमुखतासाथ उठेको उनले बताए। सर्वसम्मत निर्णय हुन बाँकी रहेको अन्सारीले बताए। बैठकमा काँग्रेस नेता शिवओम लामिछाने, नेकपा नेता गंगाधर महतो र उस्मान अन्सारी लगायत सहभागी थिए।

प्रकाशित: २० पुस २०७५ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App