१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बङ्लादेशमा पुनः निर्वाचन गराउन अस्वीकार

ढाका- बङ्लादेशमा पुनः निर्वाचन गराउन निर्वाचन आयोगले अस्वीकार गरेको छ। आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख निर्वाचन आयुक्त के. एम. नुरुल हुडाले पुनः निर्वाचन गराउन अस्वीकार गरेका हुन्। 

बर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टी नै विजयी भएको नतिजा सार्वजनिक भएपछि सोमबार विपक्षी दलका नेताहरुले परिणाम अस्विकार गर्दै पुनः निर्वाचन गराउन माग गरेका छन्। आइतबार भएको निर्वाचनमा व्यापक अनियमितता, धाँधली र एकपक्षीय नियन्त्रण भएको विपक्षीको आरोप छ। चुनावी हिंसाका क्रममा १७ जनाको मृत्यु भएको थियो। 

सरकारले विपक्षी दल र यसका कार्यकर्तामाथि चरम दमन गरेको तथा चुनावमा त्रासका वातावरण निर्माण गरेको भन्दै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले निर्वाचनको नतिजा खारेज गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको छ। 

तर प्रमुख निर्वाचन आयुक्त हुडाले भने निर्वाचन निष्पक्ष, धाँधलीरहित, स्वच्छ र स्वतन्त्र रुपमा सम्पन्न भएको दावी गरेका छन्। आयोगका प्रवक्ता एस.एम.असादुज्जमानले आयोगमा केही ठाउँका बारेमा उजूरी प्राप्त भएको र त्यसबारे आयोगले छानबिन गरिरहेको जानकारी दिए। 

उनले निर्वाचनमा कुल मतदाता मध्ये ८० प्रतिशत मतदाता सहभागी भएको जानकारी पनि दिए। “हामीले फेरी अर्को निर्वाचन गराउन गइरहेका छैनौ, फेरी अर्को निर्वाचन तत्काल गराउनु पर्ने कुनै कारण छैन,” उनले पत्रकारहरुसँग भने। 

प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टी र यसको गठबन्धनले ३०० सदस्यीय संसद्मा २८८ स्थान जितेको छ। मुख्य विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ६ स्थानमा मात्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ। 

यो विजयसँगै सत्तारुढ अवामी लिगको अध्यक्षसमेत रहेकी हसिना चौथो पटक प्रधानमन्त्री बन्नेछिन। प्रधानमन्त्री हसिनाले चुनावको नतिजा सन्तोषजनक रहेको प्रतिक्रिया दिएकी छिन्। एएफपी

प्रकाशित: १६ पुस २०७५ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App