१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘कोलम्बियाली राष्ट्रपतिको हत्या प्रयास’

बोगोटा – कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ। कोलम्बियाका विदेशमन्त्री कार्लोस होल्मस ट्रुजिल्लोले भेनेजुएलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गरेका हुन्। उनले हत्या गर्न लागेको अभियोगमा तीन जना भेनेजुएली नागरिकलाई पक्राउ गरिएको पनि जानकारी दिएका छन्। राष्ट्रपतिलक्षित योजना बनाएको भन्ने विश्वस्त जानकारी प्राप्त भएको पनि उनले बताए। तीन भेनेजुएली नागरिकलाई युद्धको हतियारसहित पक्राउ गरिएको विस्तृत जानकारी नदिई विदेशमन्त्री ट्रुजिल्लोले भने। 

‘विगत केही महिनादेखि राष्ट्रपति डुक्युको हत्या गर्ने प्रयास भइरहेको देशको गुप्तचरले पुष्टि गरेका छन्,’ विदेश मन्त्री कार्लोस होल्मसलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। पक्राउ परेका भेनेजुएली नागरिकबाट उनीहरुको योजनाबारे  अनुसन्धान कार्य जारी रहेकाले थप विवरण पछि सार्वजनिक गरिने विदेशमन्त्रीले बताए। 

कोलम्बियाका राष्ट्रपति इभानलाई भित्री तथा बाहिरी पक्षबाट सुरक्षा चुनौती रहेको पनि उनले बताएका छन्। बोगोटा र काराकासबीचको तनाब बढ्दै गइरहेका बेला कोलम्बियाको तर्फबाट यस्तो अभिव्यक्ति आएको हो। पछिल्ला केही महिना कोलम्बिया र भेनेजुएलाबीच तनाब बढिरहेको छ। दुवै देशले एकअर्काका अधिकारीहरुलाई देश निकाला गरिरहेका छन्। 

भेनेजुएलामा गहिरो आर्थिक संकट उत्पन्न भएपछि लाखौं भेनेजुएली नागरिकले देश छोडेर हिँडेका छन् र त्यसरी जानेमध्ये अधिकांश कोलम्बिया पुगेका छन्। कोलम्बियाका राष्ट्रपति डुक्युले भेनेजुएलालाई कूटनीतिक रूपमै अलग्याउने प्रतिबद्धता व्यक्त गर्दै गत अगस्ट महिनामा निर्वाचन जितेका थिए। 

 

प्रकाशित: १६ पुस २०७५ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App