१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अस्ट्रेलियाविरुद्ध भारत २–१ ले अगाडि

चाैथाे दिनकाे खेल सकिँदा प्याट कमिन्स(बाँया) र नाथन लियाेन मैदानबाट बाहिरिँदै । तस्बिर : एपी

मेलबर्न – अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ। मेलवर्नमा आइतबार बिहान सम्पन्न खेलमा भारत १ सय ३७ रनले विजयी भएको हो। अन्तिम दिन घरेलु टोलीलाई जितका लागि १ सय ४१ रन आवश्यक थियो। जितसँगै भारतले चार म्याचको टेष्ट सिरिजमा २–१ ले अग्रता लिएको छ।

जितका लागि ३ सय ९९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २ सय ६१ रनमा अलआउट भयो। २ सय ५८ रनमा ८ विकेटको क्षतिमा अन्तिम दिनको खेल थालेको घरेलु टोलीले ३ रन बनाउन बाँकी २ विकेट गुमायो। अन्तिम दिन जसप्रित बुम्राहाको बलमा तीव्र गतिका बलर प्याट कमिन्स ६३ र इसान्त शर्माको बलमा नाथन लियोन ७ रनमा आउट भएपछि भारतले फराकिलो अन्तरले विजयी भएको हो। टेस्टमा दोस्रो अर्धशतक पूरा गरेका कमिन्सले बलिङतर्फ पनि उत्कष्ट प्रदर्शन गरेका थिए। दोस्रो इनिङमा उनले ६ विकेट लिँदै २७ रन खर्चिएपछि भारतले ठूलो स्कोर बनाउन सकेको थिएन।

पाँच विकेट बाँकी छँदा ३ सय ४६ रनको अग्रतासहित शनिबारको चौथो दिनको खेलमा सुरुआत गरेको भारतले थप ३ विकेट गुमाउँदा ५३ जोडेपछि इनिङ समाप्तिको घोषणा गरेको थियो। १ सय ६ रन हुँदा ८ विकेट गुमाएको अवस्थामा भारतीय कप्तान विराट कोहलीले दोस्रो इनिङ समाप्तिको घोषणा गरेपछि अस्ट्रेलियाले ३ सय ९९ रनको लक्ष्य पायो।

चौथो दिन शीर्ष ब्याट्सम्यान सस्तैमा आउट भएपछि अस्ट्रेलियाले ८ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो। लगातार दोस्रो इनिङमा फ्लप भएपछि अस्ट्रेलियाका ओपनर आरोन फिन्चले अन्तिम टेस्टमा अवसर पाउने सम्भावना कम देखिएको छ। उनले लगातार दोस्रो इनिङमा दोहोरो अंकमा रन बटुल्न सकेनन्। अर्का ओपनर मार्कुस ह्यारिस पनि १३ रनमै आउट भए।

उस्मान ख्वाजाले इनिङ सम्हाल्ने प्रयास गरेपनि ३३ रनमा मोहम्मद सामीद्वारा एलबिडब्लु आउट भए। सन् मार्सले ४४ रन र टिम पाइनेले २२ रन बनाएर आउट भएपछि अस्ट्रेलियाको दोस्रो इनिङ धरमराएको थियो। तर, कमिन्सले समालिएर ब्याटिङ गर्दै अस्ट्रेलियाको सम्भावित हारबाट जोगाएका हुन्।

दोस्रो इनिङमा रवीन्द्र जडेजाले तीन विकेट तथा जसप्रीत बुमराह र मोहम्मद सामीले दुई विकेट लिँदै अस्ट्रेलियाको इनिङलाई संकटमा पारेका थिए। अर्का तीव्र गतिका बलर इशान्त शर्माले एक विकेट निकालेका थिए। भारत र अस्ट्रेलियाबीचको अन्तिम तथा चौथो टेस्ट आगामी जनवरी ३ देखि सिड्नीमा हुनेछ।

प्रकाशित: १५ पुस २०७५ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App