१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रोनाल्डोले जोगाए युभेन्ट्सलाई

मिलान – वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अन्तिम मिनेटमा गरेको गोलमा युभेन्ट्सले बुधबार एट्लान्टासँगको हार टार्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ।

युभेन्ट्स एट्लान्टासँग २–२ को बराबरीमा रोकिएको हो। खेलको दोस्रो मिनेटमा एट्लान्टाका ब्राट डिमिस्टीले गरेको आत्मघाती गोलमा युभेन्ट्सले अग्रता लिएको थियो। २४औं मिनेटमा डुभान जापाटाले गोल गर्दै एट्लान्टालाई बराबरीमा ल्याएका थिए। ५६औं मिनेटमा जापाटाको व्यक्तिगत दोस्रो गोलमा एट्लान्टाले २–१ को अग्रता लिएको थियो। खेल सकिन १२ मिनेट बाँकी हुँदा रोनाल्डोले बललाई पोस्टको दिशा दिँदै युभेन्ट्सको संकट टारेका थिए।

यस नतिजापछि १८ खेलमा ५० अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा यथावत् छ। जुन दोस्रो स्थानको नेपोलीभन्दा ९ अंक बढी हो। समान खेलमा ३६ अंकका साथ इन्टर मिलान तेस्रो, ३१ अंकका साथ लाजियो चौथो र २९ अंक जोडेको साम्पडोरिया पाँचाैं स्थानमा छन्।

लिगमा अपराजित रहेको युभेन्ट्सले विन्टर ब्रेकअघिको अन्तिम खेलमा शनिबार साम्पडोरियाको सामना गर्नेछ। ‘खेल नियन्त्रणमा राखे पनि विजयी नतिजा ल्याउन नसक्दा हामी निराश छाैं,’ युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने, ‘तर पनि टोलीको समग्र प्रदर्शनमा म सन्तुष्ट छु।’

यता युभेन्ट्स बराबरीमा रोकिएको दिन इन्टरलाई १–० को नतिजा सुम्पिँदै नेपोलीले शीर्ष स्थानमा अग्रता घटाउने अवसर गुमाएको हो। इन्टरको जितमा अतिरिक्त समयको तेस्रो मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल निर्णायक बनेको थियो। खेलको अन्तिम मिनेटमा कालिडाउ कुलिबाली र लोरेन्जो इन्सिग्ने रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि नेपोलीले ९ खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको  थियो ।

सिरी ‘ए’ अन्तर्गत बुधबार भएका अन्य खेलमा लाजियोले बोलोग्नालाई २–० ले हराउँदा साम्पडोरियाले किइभो भेरोनालाई २–ले नै निराश पार्यो। यता एसी मिलान भने फ्रोसिनोनसँग गोलरहित बराबरीमा रोकिएको छ।

प्रकाशित: १३ पुस २०७५ ००:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App