१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'दोष मञ्चको होइन'

पोखरा - ‘मञ्चमा कहिले को आउँछन्, कहिले को आउँछन्, कहिले हँसाउने आउँछन त कहिले रुवाउने आउँछन्, मञ्चको के दोष!’ पत्रकार रवि लामिछानेले गरेको जीवनभरि पुलपुल्याएका नेतालाई सँधै मञ्च दिनुभयो तर उनीहरुले नै साह्रै दुःख दिए, दोष तपाईको हो कि होईन ? भन्ने प्रश्नमा पत्रकार तथा लेखक विजयकुमारले दिएको जवाफ हो यो ।

तीन दिनयता फेवाताल किनारमा भइरहेको लिटरेचर फेस्टिभलमा सोमबारको पहिलो सेसनको कार्यक्रम थियो, ‘उज्यालो अँध्यारो।’ ११ देखि मध्यान्ह १२ बजेसम्म चलेको यो एक घण्टे सेसनमा लामिछाने र विजयकुमारसँग पत्रकारिता, राजनीति र आध्यात्मका कुरा भए। लामिछानेको प्रश्न र विजयकुमारको जवाफ सुन्न त्यहाँ उपस्थित अवलोकनकर्ताहरु निकै शान्त बनेर बसेका थिए।

जीवन के हो ? प्रश्नमा विजयकुमारले भने, ‘यो अर्थहीन छ, हामीले जस्तो अर्थमा ढाल्यौँ त्यस्तै बन्छ, रंगहीन छ जुन रंग भर्छौँ त्यस्तै बन्छ।’ आफूभन्दा तल्लो तहका व्यक्तिलाई प्रभाव पार्नु नै जीवनको अर्थ भएको उनले औँल्याए। एकजना प्रश्नकर्ताले सोधे, ‘जीवनको अर्थ त भन्नुभयो, मृत्यु चाहिँ के हो ? हँसिलो पारामा विजयकुमारको ठट्यौली जवाफ थियो, ‘जीवन कुनै एउटा सो (कार्यक्रम) को सुरुवात हो भने मृत्युचाहिँ त्यसको अन्त्य।’ कहिले हँसाउदै, कहिले गम्भीर बनाउँदै एकघण्टासम्म चलेको सवालजवाफमा दर्शकहरुले ताली भने छुटाएनन्।

बालुवाटारका कोठाकोठामा मदिरा खाएर छाद्दै हिँडेको कुरा दोहोर्‍याईरहने विजयकुमारलाई रवि लामिछानेले एउटा प्रश्न गरे, ‘तपाईको त्यत्रो पहुँच रहेछ, नेताहरुले त्यत्रो ठाउँ दिएर तपाईलाई भुलाएका त होईनन्, नेताहरु बिग्रेको देखेर तपाईले अघिल्लो दिन मदिरा खाएर भोलिपल्ट कुनै नेताको विरुद्धमा समाचार लेख्दा तपाईलाई त्यही अघिल्लो दिनको मदिरा गन्हाएन?’ जवाफमा विजयकुमार भन्छन्, ‘मेरो आफ्नै सीमारेखा छन्, मैले त्यति नगरेको भए नेताहरु अझै बिग्रन्थे, पत्रकारितको पनि निश्चित सीमा हुन्छ, नेताहरुसँग सम्बन्ध नराखे समाचार कसरी लेख्ने? मेरो भनाई यो हो कि नेताहरुसँग सम्बन्ध राख्नुपर्छ तर कतिसम्म त्यसको सीमारेखा आफैले तय गर्न सक्नुपर्छ, हामी गतिला भएका भए नेता खराब हुँदैनथे। मञ्चबाट ठूलो स्वरमा चिच्याएर कसैलाई गाली गर्दैमा परिवर्तन आउँछ भन्ने कुरामा म विश्वास गर्दिन। म त्यो पत्रकारितामा पनि विश्वास गर्दिन।’

पत्रकारिता सत्यमा नभई तथ्यमा आधारित हुने उनको भनाई थियो। ‘सत्य एक रहस्य हो, पत्रकारिता जहिले पनि तथ्यमा आधारित हुन्छ’ उनले थपे। यस्तै उनले अर्को वर्ष १० एपिसोडसम्मको एक कार्यक्रम चलाउने तयारी गरिरहेको सुनाए। ‘म हराएको छैन, उदाउँदो र अस्ताउँदो सूर्य दुवै रातो हुन्छ,’ उनले भने।

प्रकाशित: ९ पुस २०७५ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App