२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चार महिनापछि नियुक्ति प्रक्रिया सुरु

काठमाडौं - सरकारले नेपाल टेलिकममा प्रबन्ध दिर्नेशक पद खाली भएको झन्डै चार महिनापछि नियुक्ति प्रक्रिया सुरु गरेको छ। साउनको अन्तिम साता तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको थियो। तालुक मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले लामो समयपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग गरेको छ। प्रतिस्पर्धाका आधारमा प्रबन्ध निर्देशक नियुक्त गर्न योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ।  

बुधबारसम्म अन्तिम मिति राखेर मन्त्रालयले मंसिर २९ गते दरखास्त आह्वान गरेको थियो। मन्त्रालयका सचिवको संयोजकत्वमा टेलिकमको प्रबन्ध दिर्नेशक सिफारिस गर्न छनोट समिति गठन गरिएको छ। प्रतिस्पर्धाका लागि परेका दरखास्तबाट मूल्यांकन गरेर उक्त समितिले प्रबन्ध निर्देशकको लागि नाम मन्त्रालयमा सिफारिस गर्ने मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। समितिले सिफारिस गरेका व्यक्तिबाट मन्त्रिपरिषद्ले प्रवन्ध निर्देशकको पदमा एक जनालाई नियुक्त गर्नेछ।

प्रवन्ध निर्देशक नियुक्तिको लागि सरकारी वा सम्बन्धित संस्थामा कम्तीमा १५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। मन्त्रालयका अनुसार उक्त पदमा नियुक्ति पाउन नेपाल दूरसञ्चार कम्पनी वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्थामा १५ वर्षको अनुभव हुनुपर्नेछ। अथवा, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको अधिकृतस्तरको पदमा कम्तीमा १५ वर्ष काम गरेको हुनुपर्नेछ। तर, उक्त पदको लागि कार्य अवधिमध्ये कम्तीमा पाँच वर्ष वरिष्ठ अधिकृत वा व्यवस्थापकको पदमा काम गरेको अनुभव हुनुपर्ने मन्त्रालयले जनाएको छ।
त्यसैगरी, उक्त पदमा नियुक्ति हुने व्यक्ति ३५ देखि ५८ वर्षको र प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७२ बमोजिम नियुक्त हुन अयोग्य नठहरिएको हुनुपर्नेछ। पुस ११ गते अन्तिम दिन राखेर मन्त्रालयले ३५ दिने सूचना प्रकाशित गरेको थियो।

प्रतिस्पर्धाबाट टेलिकममा नियुक्त भएकी राजभण्डारीलाई कार्यसम्पदान राम्रो गर्न नसकेको भन्दै सरकारले साउनको अन्तिम साता बर्खास्त गरेको थियो। त्यसयता उक्त पद खाली छ। राजभण्डारी प्रतिस्पर्धाका आधारमा टेलिकमको प्रबन्ध निर्देशकको रुपमा २०७३ असोजमा तीन वर्षका लागि नियुक्त भएकी थिइन्। राजभण्डारीलाई चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) विस्तार गर्न नसकेको, टेलिकमको नाफा घटेको, गुणस्तर सुधार गर्न नसकेको, कार्यशैली चित्तबुझ्दो नभएको आरोप लगाइएको थियो।

कार्यसम्पदान चित्तबुझ्दो नभएको भन्दै राजभण्डारीलाई हटाइए पनि चार महिना बित्दासम्म सरकारले नयाँ नियुक्त गर्न सकेको छैन। निजी क्षेत्रसँग चर्को प्रतिस्पर्धा सामना गरिरहेको टेलिकम नेतृत्वको कार्यसम्पादन राम्रो नभएको भन्दै हटाइए पनि मन्त्रालय आफैंले समयमै नयाँ नेतृत्व दिन सकेको छैन। लामो समयसम्म प्रबन्ध निर्देशक जस्तो कार्यकारी पद खाली हुँदा दैनिक कार्य सम्पादनदेखि कतिपय ठूला निर्णयसमेत हुन नसकेको टेलिकमका कर्मचारी बताउँछन्।

यस्तै प्रकृतिको आरोप लगाउँदै आयोग्य भनेर नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्भर झालाई पनि बर्खास्त गरिएको थियो। तर, सरकारले उनलाई पुनः नियुक्ति गरिसकेको छ। लामो विवाद् र विरोध हुँदाहुँदै पनि सरकारले झालाई पुनः नियुक्ति दिएको थियो।
 

प्रकाशित: ९ पुस २०७५ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App