१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हकप्रद, मर्जर र एक्विजिसनको बाटो त्याग्दै वाणिज्य बैंक

काठमाडौं - अधिकांश वाणिज्य बैंकले यो वर्ष लगानीकर्ता (सेयरधनी) लाई नगद र बोनस लाभांशमात्र दिने भएका छन्। चुक्ता पुँजी आठ अर्ब पु-याइसकेका प्रायः सबै बैंकले हकप्रद, मर्जर तथा एक्विजिसनको बाटो त्यागेर उक्त प्रस्ताव अगाडि सारेका छन्।

हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये २० वटाले नगद तथा बोनस सेयर दिने घोषणा गरेका छन्। चुक्ता पुँजी नपुगेका र बढाउन चाहने बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेका छन्। चुक्ता पुँजी बढाउन नचाहने बैंकले नगद लाभांशमात्र दिँदैछन्।

पोहोर–परार चुक्ता पुँजी बढाउन बैंकहरुले नाफाबाट बोनस सेयरका साथै हकप्रद, मर्जर तथा एक्विजिसनको बाटो तय गरेका थिए। यो वर्ष अधिकांश बैंकले पुँजी बढाउनेतिर नलागी लगानीकर्तालाई बोनस र नगद लाभांशमात्र दिने प्रस्ताव अगाडि सारेका छन्।धेरैजसो बैंकले गत आर्थिक वर्ष ०७४/७५ मा नाफा गरेको रकम सेयरधनीलाई वितरण गर्ने अन्तिम तयारी गरिरहेका छन्। केही बैंक धमाधम लाभांश घोषणा गर्दै वार्षिक साधारणसभा गर्दैछन्।

प्रायः सबैजसो बैंकको चुक्ता पुँजी आठ अर्ब पुगेकाले यो वर्ष हकप्रद सेयरभन्दा नगदसँगै बोनस लाभांश दिएका हुन्। ‘बैंकहरुलाई चुक्ता पुँजी पु-याउने बाध्यता नभएकाले नगद लाभांशमा बढी जोड दिएका हुन्,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘गत वर्ष चुक्ता पुँजी पु-याउनुपर्ने बाध्यात्मक अवस्था भएकाले बोनस, हकप्रद, मर्जर र एक्विजिसनको बाटो रोजेका थिए। तर, अहिले त्यस्तो अवस्था छैन।’

राष्ट्र बैंकले आर्थिक वर्ष ०७२/७३ को मौद्रिक नीतिमा वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पु-याउनुपर्ने प्रावधान ल्याएको थियो। उक्त व्यवस्था अनुसार २८ वाणिज्य बैंकमध्ये धेरैले गत वर्ष नै चुक्ता पुँजी आठ अर्ब पु-याइसकेका छन्। केहीले गत वर्षको नाफाबाट यो वर्ष बोनस सेयर वितरण गरेर तोकिएको चुक्ता पुँजी  पु-याउँदैछन्।
बैंकरका अनुसार अहिले चुक्ता पुँजीकै लागि हकप्रद जारी गर्नुपर्ने बाध्यता बैंकहरुलाई छैन। त्यसैले नगद र केही बोनस लाभांश दिन लागेका हुन्। हकप्रद नपाइने अनुमानले सेयर बजार निरन्तर ओरालो लागिरहेको छ। अहिले पुँजी बजार मापक नेप्से ११ सय ६५.९७  मा आइपुगेको छ।

सेयर विश्लेषक सेयर बजारमा मन्दी आउनुको कारण बैंकको नगद लाभांश नै बाधक भएको बताउँछन्। केही बैंकले बोनस र नगद लाभांश मिलाएर दिए पनि अधिकांशले नगद नै दिँदैछन्। लगानीकर्ताले यसअघि नै यो वर्ष वाणिज्य बैंकले नगद लाभांश अपेक्षा गरेका थिए। त्यही अपेक्षा  लाभांश वितरण गरेकाले सेयर बजार घट्नुलाई स्वभाविक रुपमा लिइएको हो।

बैंकहरुले व्यापार विस्तार गर्दै जानुपर्ने, सोही अनुसार पुँजी कोष पनि मिलाउनुपर्ने भएकाले केहीले मात्र बोनस र नगद लाभांश सन्तुलित रुपमा दिँदैछन्। नगदमात्र दिने बैंकको सेयर मूल्य झनै घटेको र बोनस तथा नगद मिलाएर दिनेको यथावत रहने देखिएको छ। बोनसमात्र दिने बैंकको सेयर मूल्य भने केही बढेको छ।

राष्ट्र बैंकले यसअघि नै वाणिज्य बैंकले आठ अर्ब, राष्ट्रियस्तरका विकास बैंकले दुई अर्ब ५० करोड, चारदेखि १० जिल्लामा कार्यक्षेत्र भएका विकास बैंकले एक अर्ब २० करोड, एकदेखि तीन जिल्लामा कार्यक्षेत्र भएकाले ५० करोड चुक्ता पुँजी पुु-याउनुपर्ने व्यवस्था गरेको थियो। त्यसैगरी, राष्ट्रियस्तरको फाइनान्स कम्पनीले ८० करोड, चारदेखि १० जिल्लाकाले ८० करोड र एकदेखि तीन जिल्लाकाले ४० करोड चुक्ता पुँजी पु-याउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।

प्रकाशित: ८ पुस २०७५ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App