१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

डोर्‍याएरै काठमाडौं ल्याइन्छ राँगा भैंसी

ललितपुरको छपेलीमा रौतहटबाट डोर्‍याउँदै ल्याइएका राँगा–भैँसी।

धेरैलाई लाग्ला– रौतहटबाट भैँसी, राँगा र अन्य जनावर डोर्‍याउँदै काठमाडौं ल्याउन सकिँदैन। तपाईँको अनुमान पनि यही हो भने त्यो सही हुने छैन। तीन दिन हिँडाएर रौतहट र मकवानपुरदेखि काठमाडौंमा भैँसी र राँगा ल्याउने गरिन्छ। त्यस्ता दृश्य हेर्न कहीँ जानु पर्दैन, ललितपुरको टीकाभैरव, लेले, छपेला, भट्टेडाँडा पुगेमात्रै हुन्छ। यही बाटो भएर व्यवसायीहरूले काठमाडौंसम्म हिँडाउँदै भैंसी पुर्‍याउने गर्छन्।

‘हामीले तीन दिनमा भैंसी र राँगा काठमाडौं पुर्‍याउँछौं, तीन दिनसम्म बाटोमा बास बसाल्दै घास खुवाउँदै हिँडाउँछौं,’ भैंसी, रागा खरिद बिक्री गर्दै आएका व्यवसायी मुकेश यादवले भने, ‘गाडीमा पुच्छर बाँधेर यातना दिएर चर्को भाडा तिरेर काठमाडौं पुर्‍याउनुभन्दा यसरी नै हिँडाएर लैजाँदा राम्रो हुन्छ।’ यसरी हिँडाउँदै उपत्यकाभित्र ल्याइएका राँगा, भैँसी र अन्य जनावर पाल्न होइन, मासुका लागि ल्याइन्छन्।

ती जनावर बधशालामा पनि पुर्‍याइन्छ। तराईबाट किसानसँग खरिद गरेर ल्याएको मूल्यमा केही नाफा आफूले राखेर मात्रै बधशालामा भैंसी र राँगा बिक्री गर्ने गरेको यादवको भनाई छ। ‘हामीले त्यहाँदेखि यहाँसम्म हिँडाएर ल्याएको चार्जस्वरूप चार–पाँच हजार लिन्छौं,’ किसानसँग किनेको मूल्यमा तीन–चार हजार बढाएर बधशाला तथा मासु व्यापारीलाई भैँसी बेच्छौं,’ उनले भने।

उनका अनुसार यसरी तपाईबाट राँगा, भैँसी खरिद गरेर ल्याउनेको समूह नै छ। त्यो समूहले दिनमा २० राँगा–भैँसी काठमाडौं पुर्‍याउने गरेको छ। तपाईबाट डोर्‍याएर ल्याएको भैसी ठाउँठाउँमा पुर्‍याउने गरिन्छ। अर्का व्यवसायी सुमितकुमार दासका अनुसार पनि रौतहटको गौर र ग्रामीण क्षेत्रमा पसेर किसानसँग किनेर हिँडाउँदै यहाँसम्म भैसी ल्याइन्छ।

‘ट्रकमा हालेर ल्याउँदा पशुलाई यातना हुन्छ, ढुवानी शुल्क पनि महँगो हुन्छ,’ उनले भने, ‘बरु यसरी हिँडाउँदै ल्याइयो भने धेरै खर्च पनि नहुने पशुलाई यातना पनि नहुने।’ उनका अनुसार सरकारले पशुलाई ट्रकको पछाडि पुच्छर बाँधेर यातना दिएर ल्याउन नपाइने व्यवस्था गरेकाले पनि व्यवसायीहरूले पछिल्लो समय सहज बाटो भएको क्षेत्रमा भैंसी तथा अन्य जनावर हिँडाउन थालेका छन्।

‘गाडीमा पुच्छर बाधेर, यातना दिएर, चर्को भाडा तिरेर काठमाडौं पुर्‍याउनुभन्दा यसरी नै हिँडाएर लैजादा राम्रो हुन्छ। यद्यपि हिँडाएर ल्याएका ती राँगा–भैंसी बधशालामा पनि पुर्‍याइन्छ।’

कहाँ गयो कार्यदल ?
काठमाडौं उपत्यकाभित्र राँगा–भैंसी भित्र्याउन निषेध गर्ने भन्दै २०७२ सालमा सरकारले उपत्यका बाहिर बधशाला निर्माण थालेको थियो। त्यतिबेला काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, मध्यपुर ठिमी, भक्तपुर र कीर्तिपुर नगरपालिकाका प्रतिनिधिहरूको कार्यदल पनि बनेको थियो। तर, अहिले कार्यदलबारे जानकारी छैन। तीन वर्षअघि बनेको कार्यदलको कुनै प्रगति देखिएको छैन।

अहिले उपत्यकाभित्र भक्तपुरको जगाती, कमलनिवायक, महालक्ष्मीस्थान, सूर्यविनायकमा पनि अव्यवस्थित वधशाला सञ्चालन भएको देखिन्छ। त्यस्तै, ललितपुरको कुमारीपाटीस्थित इटी टोल, बालकुमारी, ग्वार्कोलगायत क्षेत्रमा पनि अव्यवस्थित वधशाला छन्।

त्यतिबेला उपत्यका बाहिरका वधशालामा वध गरी चिस्यानमा राखिएका स्वस्थ र गुणस्तरीय मासु मात्र उपत्यकामा ल्याई बिक्री गर्न दिइने व्यवस्था ल्याइएको थियो। तर, उपत्यकाभित्र अव्यवस्थित वधशाला सञ्चालन गरेर मासुको खुलमखुला बिक्री वितरण भने बढ्दो छ।

२०७२ सालमा विज्ञको सल्लाहमा गठित समितिले राँगा–भैंसी भित्र्याउने प्रक्रिया नै बन्द गर्ने गरी जिम्मा लिएको थियो। सरकारले अव्यवस्थितरूपमा सञ्चालित मासुपसल सुधार गर्न नसक्ने भएपछि यस्तो समिति खडा गरेर त्यसलाई व्यवस्थित गर्ने उद्देश्यले यो याजना ल्याएको हो। तर, हालसम्म त्यसको कुनै प्रभाव देखिएको छैन।

‘सरकारले पशुलाई ट्रकको पछाडि पुच्छर बाँधेर यातना दिएर ल्याउन नपाइने व्यवस्था गरेकाले पनि व्यवसायीहरूले पछिल्लो समय सहज बाटो भएको क्षेत्रमा भैंसी तथा अन्य जनावर हिँडाउन थालेका छन्।’

भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले यसबारे नगरपालिकाले विशेष चासो दिएको बताए। ‘पहिले जस्तो अव्यवस्थित नै त छैन। तर, केही ठाउँमा खुलमखुला पशुको काटमार भएको देखिन्छ, यसलाई जसरी पनि व्यवस्थित गर्न सकिन्छ।’

भेटेरिनरी कार्यालय, पशु सेवा विभाग, पशुपक्षी बजार प्रवद्र्धन र वधशाला व्यवसायीको सहभागितामा बनेको कार्यसमितिले तीन वर्षमा उपत्यकामा बधशाला र राँगा–भैंसी काट्न पूर्ण प्रतिबन्ध लगाउने गरी काम गर्ने जिम्मा पाएको थियो।

२०७२ सालमै नेपालमा पहिलोपटक डेनिस सरकारको सहयोगमा हेटौंडामा स्तरीय वधशाला निर्माण पनि गरिएको थियो। उक्त वधशालाको उद्देश्य काठमाडौंका लागि राँगाभैंसी र खसीको मासु आपूर्ति गर्नु थियो। यसबाहेक सुनसरीको दुहबी, इनरुवा, बारा, नेपालगन्ज, बर्दिया र धनगढीमा पनि व्यवस्थित बधशाला निर्माण गरिएको थियो। अहिले यी बधशालाबाट काठमाडौमा काटेको मासु आउँदैन।

प्रकाशित: ६ पुस २०७५ ०३:४५ शुक्रबार

रौतहट राँगा_भैंसी काठमाडौं कार्यदल यातना