१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मानसिक रोग पीडितमा अधिकांश युवा

ललितपुर - सुर्खेत गुर्वागोठका २३ वर्षीय युवा चन्द्रबहादुर, सर्लाही हरिवनका २९ वर्षीय रमेश केसी, कालिकोट नरहरनाथका २७ वर्षीय नेत्रबहादुर विष्ट मानसिक रोगको उपचारका लागि ललितपुरको लगनखेल स्थित केन्द्रीय मानसिक अस्पतालको वार्डमा भर्नारत छन्। 

यी तीन युवा त उदाहरण मात्र हुन्। उक्त अस्पतालको ५० बेड मध्ये अधिकांशमा युवा उमेर समूहकै बिरामी बढी छन्। कहिले बेड खाली होला र भर्ना गरुला भनेर पर्खने बिरामी मध्येमा पनि युवाकै लर्को छ। उक्त अस्पतालको यो दुष्यले मानसिक रोगबाट पीडित हुने उमेर समूहमा अधिकांश युवा रहने गरेको पाईएको छ।

लागूपदार्थ दुर्व्यसनी, जिवनशैलीमा हुने परिवर्तन, वैवाहिक अवस्था, प्रेममा धोका वा खटपट लगायत कारणले युवाहरुमा मनोरोग देखिने गरेको मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्टेन्ट साईक्याट्रिष्ट एवं सूचना अधिकारी डा. अनन्त अधिकारीले जानकारी दिए।

लागूपदार्थ दुर्व्यसनी, जीवनशैलीमा हुने परिवर्तन, वैवाहिक अवस्था, प्रेममा धोका वा खटपट लगायत कारणले युवाहरुमा मनोरोग देखिने गरेको मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्टेन्ट साईक्याट्रिष्ट एवं सूचना अधिकारी डा. अनन्त अधिकारीले जानकारी दिए। ‘मनोरोगले यो नै उमेर समूह त भन्दैन, तर लागूपदार्थ दुर्व्यसनी, प्रेम प्रसंग, वैवाहिक अवस्था, आधुनिक जीवनशैली, रहनसहन लगायत कारणबाट आईपर्ने तनाव युवा अवस्थामै सुरु हुन्छ’, डा. अधिकारीले भने, ‘त्यसैले मानासिक रोगबाट बढी पीडित युवा वर्ग नै हुन्छन्।’

उक्त अस्पतालमा अढाई वर्षदेखि मानसिक रोग विशेषज्ञ (एमडी) अध्ययनरत डा. निराजन भट्टराई पनि मानसिक रोगबाट पीडित अधिकांश बिरामी युवा नै हुने गरेको बताउँछन्। ‘मैले हेर्दा पनि अस्पतालको ओपीडीमा चेक गराउन आउने र बेड भर्ना हुनेमा युवा उमेर समूह नै बढी देख्ने गरेको छु’, उनले भने, ‘ईमेल इन्टरनेटको लत, लागूऔषध दुर्व्यसनी, प्रेम प्रसंग, अनावश्यक होडबाजीको जिवनशैली लगायत युवा अवस्थाबाटै सुरु हुने हुँदा मानसिक रोगबाट पीडित झण्डै ७५ प्रतिशत युवा नै हुने गरेका छन्।’

उक्त अस्पतालमा भर्ना हुन आउने अधिकांश बिरामी युवा उमेर समूहकै हुने गरेका गत मंसिर १७ गतेदेखि २३ वर्षीय भाईको उपचार गराईरहेका सुर्खेत गुर्वागोठका बलदेव सुनुवारको अनुभव छ। ‘बेड खाली हुने वितिकै भर्ना हुन आउने नयाँ बिरामी प्रायजसो भर्खरका युवा हुने गरेका छन्’, उनले भने, ‘म आईकन ५/७ जना नयाँ बिरामी बेड भर्ना भईसके, सबै युवा उमेर समूहकै छन्।’ मुलुकको कर्णधार एवं उम्दा जनशक्ति ठानिने युवा जमात नै मानसिक रोगबाट पीडित हुने गरेको देखेर आफूलाई चिन्ता समेत लागेको सुनुवारले सुनाए। ‘यस्ता कलकलाउँदा युवा जमात मानसिक रोगबाट पीडित भईरहेका छन्’, उनले चिन्ता व्यक्त गर्दै नागरिकसँग भने, ‘हेर्नोस् त हाम्रो समाज अनि देश कता हिडिरहेको छ?’

अस्पतालका मेडिकल रेकर्डर सुपरभाईजर हेरम्ब आचार्यका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा उक्त अस्पतालबाट ओपीडीमा ३६ हजार ७४५ जना, अन्तरंग अन्तर्गत बेड भर्नामा ७८४ जना, आकस्मिकमा ६४२ जना र ओपीडीको साधारण बाहेक थप शुल्क तिरेर ७ हजार ८९ जनाले सेवा लिएका छन्।

अस्पतालका मेडिकल रेकर्डर सुपरभाईजर हेरम्ब आचार्यका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा उक्त अस्पतालबाट ओपीडीमा ३६ हजार ७४५ जना, अन्तरंग अन्तर्गत बेड भर्नामा ७८४ जना, आकस्मिकमा ६४२ जना र ओपीडीको साधारण बाहेक थप शुल्क तिरेर ७ हजार ८९ जनाले सेवा लिएका छन्। त्यस्तै अस्पतालले आर्थिक वर्ष २०७२/२०७३ बाट लागूऔषधका दुर्व्यसनीमा फसेकालाई समेत क्रमशः कुलतबाट मुक्त गराउने सेवा सुरु गरेको र हालसम्म ५४४ जनाको उपचार भएको छ। मानसिक रोगका बिरामीमा अधिकांश युवा रहने गरेको आफूले पनि महसुस गरेको उल्लेख गर्दै अस्पतालमा उपचार गराउन आउने बिरामीको उमेर समूह नै छुट्टयाएर तथ्यांक भने नराखिएको आचार्यले जानकारी दिए। 

स्वास्थ्य क्षेत्रको मूलधारमा नसमेटिएको विज्ञको गुनासो
मानसिक रोगलाई अन्य रोग भन्दा बढी प्राथमिकता दिएर सचेतना कार्यक्रम, गाउँतहसम्म बिरामीको उपचार पहुँच लगायत व्यवस्था गर्नुपर्ने मानसिक रोगको क्षेत्रमा क्रियाशिल विज्ञहरु बताउँछन्। ‘अन्य सबैखाले रोगको उपचारका लागि मुलुकका थुप्रै ठाउँमा सुविधा सम्पन्न अस्पताल छन्, गाउँ तहसम्म सचेतनामूलक कार्यक्रमहरु भईरहेको हुन्छ, शिविरहरु बाक्लै चलिरहेको हुन्छ’, मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साईक्याट्रिष्ट अधिकारी भन्छन्, ‘तर मानसिक रोगको उपचारका लागि मुलुकमै एउटै मात्र सरकारी अस्पताल छ, त्यो पनि ३५ वर्ष अगाडीकै पूर्वाधार र जनशक्तिको भरमा चलिरहेको छ, जसले गर्दा मानसिक रोगका बिरामीका लागि आवश्यक पर्ने सबै सेवा सुविधा तल्लो तहसम्म सर्वसुलभ हुन सकेको छैन।’

मानसिक स्वास्थ्य नीति २०५३ सालमै आएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको र मानसिक स्वास्थ्य ऐन समेत नबनेकाले मानसिक स्वास्थ्य पूरै छाँयामा परेको डा. अधिकारी बताउँछन्। ‘मानसिक रोगप्रति सरकार मात्र हैन समाजका हरेक क्षेत्रले हेर्ने दृष्टिकोण नै अत्यन्त संकुचित देखिन्छ’, उनले भने, ‘उचित सचेतना मूलक प्रचारप्रसार नहुँदा समाजमा पनि मानसिक रोगलाई निकै हेलाको रुपमा हेर्ने प्रचलनका कारण पहिला पहिला कुष्ठरोग लुकाए जस्तै मानसिक रोगलाई समेत भित्रभित्रै दबाउन खोज्ने गरिएको पाईन्छ।’कुल जनसंख्याको झण्डै ३० प्रतिशत सर्वसाधारण पीडित हुने गरेपनि मानसिक रोग स्वास्थ्य क्षेत्रको मूलधारमा पर्न नसकेको डा. अधिकारीको कथन छ।

मानसिक रोग सम्बन्धी मुलुककै एकमात्र सरकारी केन्द्रीय मानसिक अस्पताल लगनखेलको आर्थिक वर्ष २०७४/०७५ मा ११ करोड ६६ लाख ९४५ रुपैंया बजेट रहेको उक्त अस्पतालका मेडिकल रेकर्डर सुपरभाईजर हेरम्ब आचार्यले बताए। जसमा ३ करोड ८८ हजार साधारण बजेट, ३० लाख पूँजिगत बजेट, अर्थ बजेट संचित बिदा शिर्षकमा ३१ लख ५७ हजार १२२, अर्थ बजेट संचित बिदा उपचार खर्च शिर्षकमा २९ लाख ५ हजार १३९, समिति खर्च शिर्षकमा ५ करोड ६२ लाख ९२ हजार १८० र फार्मेसी खर्च शिर्षकमा २ करोड ११ लाख ५८ हजार ५०४ रुपैंया रहेको छ। दैनिक ५० रुपैयाँ शुल्कमा बिरामीलाई दुईछाक खाना, चिया, विस्कुट, अण्डा सहित औषधी समेत निःशुल्क प्रदान गर्ने मानसिक रोगको उपचारका लागि स्थापित एकमात्र सरकारी केन्द्रीय अस्पतालका लागि छुट्टयाईएको उक्त बजेट अत्यन्त नगण्य रहेको विज्ञहरु बताउँछन्।

केन्द्रीय मानसिक अस्पतालमा बेड संख्या थप्ने, आधुनिक उपकरण सहितको ल्याब, उपचार सेवामा आवश्यक जनशक्ति थप्ने लगायत स्तरोन्तीको काम गर्दै मुलुकका विभिन्न स्थानमा समेत यस्ताखाले स्वास्थ्य संस्था स्थापना गर्नेतर्फ सरकारले गम्भिर ध्यान दिनुपर्ने र मानसिक रोगलाई स्वास्थ्य क्षेत्रको मूलधारमा समेट्दै यावत कार्यक्रमहरु अगाडी ल्याउनुपर्ने उक्त क्षेत्रमा क्रियाशिल विज्ञहरुले बताएका छन्। 

प्रकाशित: ५ पुस २०७५ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App