१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

ओहोदाभन्दा योगदान स्मृतिमा रहन्छ

पार्टीका उच्च तहका नेताहरूलाई म यस भावुक क्षणमा सादर आग्रह गर्न चाहन्छु, पार्टीको बृहत्तर हितभन्दा हाम्रो स्वार्थमाथि हुनु हुँदैन। इतिहासले बिपी कोइरालाको ओहोदालाई भन्दा योगदानलाई स्मरण गरिराखेको छ। तपाईंहामीलाई पनि आउने पुस्ताले हाम्रो ओहोदालाई होइन हाम्रो कामलाई स्मरण गर्ने हो। म आफू पनि इतिहासमा आफ्नो कामबाट नै चिनिन चाहन्छु।

हामीले हाम्रो भूमिका निर्वाह गर्दा एकपटक हाम्रा अग्रजहरू तथा प्रातः स्मरणीय सहिदहरूलाई सम्झने गरौं र हाम्रा निर्दोष साथीहरूको चेहरालाई नभुलौं ! यस अवसरमा म आजभन्दा ७३ वर्षअघि स्थापित हाम्रो पार्टीका प्रातः स्मरणीय नेता जननायक बिपी कोइराला, श्रद्धेय नेताहरू सुवर्ण शमशेर र गणेशमान सिंहलाई स्मरण गर्न चाहन्छु, जसको नेतृत्व र अग्रसरतामा नेपाली कांग्रेस स्थापना भएको थियो र १०४ वर्ष लामो निरंकुश जहाँनिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको थियो। यसै गरी आजको यस ऐतिहासिक क्षणमा हामा आदरणीय नेताहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई ससम्मान सम्झना र श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, जसका कारणले हाम्रो पार्टी र नेपालको प्रजातान्त्रिक आन्दोलन वर्तमान अवस्थासम्म आइपुगेको हो। साथै यस ऐतिहासिक यात्रामा अतुलनीय योगदान पु¥याई जीवन बलिदान गर्नुहुने महानु सहिदहरूलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु, जसका कारण प्रजातन्त्रको गौरवमय इमारत खडा भएको छ र न्यायपूर्ण, गतिशील र शान्तिपूर्ण समाज स्थापना गर्ने मूल ध्येय आजको अवस्थामा आइपुगेको छ। यस अवसरमा म सबै अग्रज नेताहरूलाई ससम्मान स्मरण गर्न चाहन्छु, जसको उल्लेखनीय योगदानका कारण कांग्रेसले साढे सात दशक लामो संघर्षमय यात्रा पूरा गरेको छ। 

महासमितिको बैठकको मूल ध्येयनै नीति निर्माण गर्ने हो । तसर्थ यस अवसरमा म सबै साथीहरूलाई पार्टीको आत्ममूल्यांकन र भविष्यका लागि उपयुक्त नीति र मार्गचित्र निर्माणमा केन्द्रित रहेर विमर्श चलाउन आग्रह गर्छु ।

महासमितिको यो बैठक नीति निर्माणको वैधानिक थलो हो। यो बैठक हाम्रा लागि हाम्रो भविष्यलाई दिशानिर्देश गर्ने महत्त्वपूर्ण र ऐतिहासिक अवसर हो। यस अवसरमा हामीले पार्टी स्थापनादेखि आजसम्मको हाम्रो इतिहासको वस्तुनिष्ठ समीक्षा गर्दै आगामी यात्राको मार्गचित्र तय गर्नुपर्छ। हाम्रा नेताहरूको कुशल, अटल र सफल नेतृत्वमा इतिहासका सबै क्रान्ति संघर्ष र आन्दोलनहरू सफल भए। नेपाली जनतालाई अधिकार सम्पन्न तुल्याई नेपाल राष्ट्रलाई स्वतन्त्र, सार्वभौम र स्वाभिमानी राष्ट्रका रूपमा उभ्याउन र विश्वभर चिनाउन हाम्रा अग्रजहरूले गर्नुभएको ऐतिहासिक योगदान र बलिदानलाई म यस अवसरमा पुनः स्मरण गर्न चाहन्छु। पार्टी स्थापना गर्दा निर्धारण गरिएका आदर्श र दृढ संकल्पले नै हामीलाई इतिहासको वर्तमान मोडमा ल्याइपु-याएको छ। 

हामी इतिहासको नयाँ कालखण्डमा प्रवेश गरेका छौं। हाम्रा आदरणीय नेता गिरिजाप्रसाद कोइरालको नेतृत्वमा नेपालबाट झन्डै अढाइ सय वर्ष लामो शाहवंशीय राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। हामीलाई अरूबाट सम्पादन हुन नसक्ने कामलाई व्यवहारबाटै सिद्ध र चरिरार्थ गर्ने सफलता प्राप्त भएको छ।  नेपाली जनताको अपार समर्थन र सहयोगबाट २०६५ जेठ १५ गते संविधानसभाबाट घोषित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्य हाम्रै नेतृत्वमा सम्पन्न भएको छ। म यस ऐतिहासिक अवसरमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणालीलाई संस्थागत गर्न नेपालको लोकतान्त्रिक संविधान निर्माणको नेतृत्व गर्ने आदरणीय नेता सुशील कोइरालाप्रति ससम्मान कृतज्ञता प्रकट गर्न चाहन्छु। यसै गरी जारी भएको नयाँ संविधानलाई कार्यान्वयन गर्ने चुनौतीपूर्ण र जटिल अभिभारा सार्थक तुल्याउने हाम्रा वर्तमान सभापति शेरबहादुर देउवाप्रति पनि आभार प्रकट गर्न चाहन्छु। 

हाम्रा लागि महासमितिको बैठक सामयिक नीति निर्माण गर्ने उपयुक्त र वैधानिक थलो हो। यस बैठकले हाम्रो विगतको समीक्षा मात्र हैन, आगामी यात्रालाई समेत तय गर्नुपर्छ र यसका लागि आवश्यक कार्ययोजनासमेत निर्धारण गर्नुपर्छ। इतिहासमा हामीले हासिल गरेका उपलब्धिहरूको चर्चा मात्र हैन, थप उपलब्धि प्राप्त गर्ने दिशामा पार्टीलाई अग्रसरसमेत गराउनुपर्छ। हाम्रो सांगठनिक अवस्था, हाम्रा गतिविधि, उपस्थित चुनौती र हाम्रा प्रतिस्पर्धीहरूको क्रियाकलापको समीक्षा गर्दै अगाडि बढ्ने बाटो तय गर्नुपर्छ। हाम्रा महाधिवेशनहरू नीति निर्माणमा भन्दा नेतृत्व चयनमा बढ्ता केन्द्रित हुने गर्दछन्। त्यसैले महासमितिको बैठकको मूल ध्येयनै नीति निर्माण गर्ने हो। तसर्थ यस अवसरमा म सबै साथीहरूलाई पार्टीको आत्ममूल्यांकन र भविष्यका लागि उपयुक्त नीति र मार्गचित्र निर्माणमा केन्द्रित रहेर विमर्श चलाउन आग्रह गर्छु। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात् सम्पन्न भएका तीनै तहका निर्वाचनहरूमा हामीले अपेक्षाकृत् सफलता हासिल गर्न सकेनौं। यसको वास्तविक कारणको खोजीसमेत यो बैठकले गर्नुपर्छ। यतिबेला तीनै तहको सरकारमा विपक्षीहरूको वर्चस्व छ। विश्वमा असान्दर्भिक भएको साम्यवादी विचारका वाहकहरू नेपालको शासनव्यवस्थामा हावी भएका छन्। साँच्चै भन्ने हो भने यो घटना संसारकै लागि निकै उदेकलाग्दो राजनीतिक घटना हो। यस घडीमा हामी भविष्यको कार्ययोजना बनाउन र नीति तर्जुमा गर्न उपस्थित भएका छौं। त्यसैले यो महासमितिको बैठक इतिहासका अरू बैठकभन्दा नितान्त भिन्न र उच्च महत्त्वको छ। 

नेपालको वर्तमान अवस्था सोचे जस्तो राम्रो छैन। हामीले स्थापना गरेको लोकतान्त्रिक राजनीतिक प्रणालीलाई उपयोग मात्र गर्ने प्रवृत्ति शासन व्यवस्थामा हाबी छ। संसारबाटै अलोकप्रिय भएको कम्युनिस्ट सिद्धान्तमा विश्वास गर्ने ओली सरकारले मुलुक चलाइरहेको छ। जनताको दैनिकी कष्टकर बन्दै गएको छ। शान्तिसुरक्षाको अवस्था दयनीय छ। नारी अस्मितामाथि गम्भीर आक्रमण भइरहेको छ भन्ने कुरा निर्मला पन्त प्रकरणले प्रमाणित गरेको छ। हत्याका शृंखला बढिरहेका छन्। महँगी चुलिएको छ। भ्रष्टाचारलाई संस्कृति बनाउने प्रयास जारी छ। विधिको शासनको खिल्ली उडाइएको छ। सरकारी ओहोदामा बसेका व्यक्तिहरू चरम आर्थिक भ्रष्टाचारमा डुबेका छन्। बुद्धिजीवीहरूमाथिको अपमान जारी छ। न्यायालयमाथि कार्यकारीको अंकुश लगाउने षड्यन्त्र चलिरहेको छ। सबै क्षेत्रमा अराजकता फैलिएको छ। 

हालै सम्पन्न एसिया प्यासिफिक समिटका नाममा गरिएको सम्मेलनले उब्जाएका प्रश्नहरू निकै गम्भीर प्रकृतिका छन्। विगत केही समयदेखि देशमा विकसित क्रियाकलापबाट आहत  देशभरका साथीहरू मसमक्ष आएर चिन्ता व्यक्त गर्नुहुन्छ। हाम्रो धर्म, परम्परा, रीतिथिति र संस्कृतिमाथि निर्मम प्रहार भइरहेको कुरा गर्नुहुन्छ। धर्म परिवर्तनलगायतका क्रियाकलापले हाम्रो मौलिकता र पहिचान नै समाप्त हुने हो कि भन्ने चिन्ता बढाएको छ। यस परिस्थितिमा म सम्पूर्ण साथीहरूलाई आश्वत पार्न चाहन्छु कि आफ्नो स्थापनाकालदेखि नै धार्मिक स्वतन्त्रताका पक्षमा रहेको नेपाली कांग्रेस नेपालमा रहेका हिन्दु, बौद्ध, इस्लाम, किराँतलगायतका धर्मको संरक्षण र संवद्र्धन गर्ने नैसर्गिक अधिकारको स्वतन्त्रतापूर्वक उपयोग गर्न पाउने अधिकारका निम्ति प्रतिबद्ध छ। आफ्नो झन्डामा अंकित चार तारामध्येको एक तारा धार्मिक स्वतन्त्रताकै प्रतीक हो। त्यसरी नै हाम्रै नेतृत्वमा जारी भएको वर्तमान संविधानले धार्मिक स्वतन्त्रताको हकलाई मौलिक हकमा स्थापित गरेको छ र धर्मान्तरणको विषयलाई दण्डनीय बनाएको छ। 

नेपालको भूवनोट विविधायुक्त छ। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। देशमा बसोबास गर्ने सबै जाति, वर्ग र समुदायप्रति नेपाली कांग्रेसको अगाध स्नेह छ। म यस क्षणमा आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक र हरेक दृष्टिकोणबाट पछि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएको क्षेत्र, अपांगता भएका, अल्पसंख्यक र सीमान्तकृत नेपाली नागरिकहरूको समग्र उत्थान र विकासका लागि समेत विशेष नीति र कार्ययोजनाका साथ आगामी दिनमा पार्टी थप क्रियाशील रहने कुराको विश्वास दिलाउन चाहन्छु।  

म आज निकै भावुक र गम्भीर पनि भएको छु। तपाईंहरूलाई देख्दा यहाँ उपस्थित अधिकांश साथीहरू मेरा नेता पनि हुनुहुन्छ। तपार्इं साथीहरूको साथ, सहयोग र पे्ररणाबाट म वर्तमान जिम्मेदारीमा छु। तर मेरा लागि पार्टीको ओहोदाभन्दा नेपाल र नेपाली कांगे्रसको भविष्य निकै महत्त्वपूर्ण छ। पार्टीका उच्च तहका नेताहरूलाई म यस भावुक क्षणमा सादर आग्रह गर्न चाहन्छु, पार्टीको बृहत्तर हितभन्दा हाम्रो स्वार्थमाथि हुनु हुँदैन। इतिहासले बिपी कोइरालाको ओहोदालाई भन्दा योगदानलाई स्मरण गरिराखेको छ। तपाईंहामीलाई पनि आउने पुस्ताले हाम्रो ओहोदालाई होइन हाम्रो कामलाई स्मरण गर्ने हो। म आफू पनि इतिहासमा आफ्नो कामबाट नै चिनिन चाहन्छु। हामीले व्यक्तिले कतिपटक अवसर प्राप्त ग-यौं भन्ने कुराले पार्टी र देशका लागि धेरै महत्त्व राख्दैन। हामीले प्राप्त गरेको अवसरलाई कसरी उपयोग ग¥यौं भन्ने कुराले ठूलो र दीर्घकालीन महत्त्व राख्छ। तसर्थ हामीले देश, जनता, लोकतन्त्र पार्टी र साथीहरूको हितलाई केन्द्रमा राखेर हरक्षण सोच्नु र काम गर्नुपर्छ। यसका लागि पार्टीभित्र कसिलो एकता आजको आवश्यकता हो। हामीले हाम्रो भूमिका निर्वाह गर्दा एकपटक हाम्रा अग्रज तथा प्रातः स्मरणीय सहिदहरूलाई सम्झने गरौं र हाम्रा निर्दोष साथीहरूको चेहरालाई नभुलौं, जसले दुरदराजमा बसेर सधैंभरि पार्टीको माला जप्छन्, आदर्श, सिद्धान्त र उद्देश्यका लागि मरिमेट्छन् र आवश्यक परे ज्यान अर्पण गर्छन्। केन्द्रमा बसेर ती लाखौं कार्यकर्ता र समर्थकहरूको भावनाको उचित सम्मान गर्न सकेनौं भने आउने पुस्ताले हामीलाई धिक्कार्नेछ। त्यसैले आजको आवश्यकता भनेकै पार्टी भित्रको एकतालाई सुदृढ तुल्याउनु हो। हामीले राम्ररी बुझ्नुपर्दछ कि हाम्रो भूमिका र क्रियाकलाप साथीहरूको आकांक्षा र मनोभावना अनुकूल छ वा छैन ? हामीले साथीहरूको चित्त दुख्ने काम कदापि गर्नु हुँदैन। हाम्रो एकताले साथीहरूको उत्साह र जाँगरलाई मलजल गर्छ भन्ने हेक्का राख्नुपर्छ।

आदरणीय सभापतिज्यू, वरिष्ठ नेताज्यू ! तपार्इंहरू दुवैजना मेरो अग्रज हुनुहुन्छ, नेता हुनुहुन्छ। एकताको वातावरण निर्माण गर्न सम्पूर्ण तागत लगाउनुहोस्। एकताका निम्ति मेरो भूमिका के हुन सक्छ ? म तपाईंहरूबाट हुने एकताको प्रयत्न र अग्रसरतामा सधैं भरि सहयोगीको रूपमा रहनेछु। 

नेपाली कांग्रेस महासमितिको बैठक समुद्घाटन समारोहमा महामन्त्री डा. कोइरालाले शनिबार दिएको वक्तव्यको सम्पादित अंश।

प्रकाशित: १ पुस २०७५ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App