१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पटिहानीमा थपिँदै ठूला होटल

पहिटानीमा बन्दै गरेको रिभरसाइड रोयल गार्डेन रिसोर्ट ।  तस्बिरः सविता/नागरिक

चितवन - नेपाल भ्रमण वर्ष २०२० का लागि छनोट गरिएको सयौं नयाँ पर्यटकीय गन्तव्यमा परेको पटिहानीमा ६ वटा ठूला होटल तथा रिसोर्ट सञ्चालनमा छन्। जसमध्ये पाँचवटा थ्री स्टार लेभलका छन्। अरु साना पर्यटकिय होटल पनि उत्तिकै संख्यामा रहेका छन्। थ्री स्टार लेभलका होटलमा ९८ बेड क्षमताको नारायणी सफारी रिसोर्ट, ६८ बेड क्षमताको कसरा रिसोर्ट, ५५ बेड क्षमताको जंगल भिल्ला रिसोर्ट, ५८ बेड क्षमताको जगतपुर लज, ६५ बेड क्षमताको टाइगर ल्यान्ड होटल रहेका छन्। 

वान स्टार लेभलको २८ बेड क्षमताको इन टु द वाइल्ड इको रिसोर्ट पनि पटिहानीमा रहेको छ। पछिल्लो समयमा ठूला लगानीका होटलहरु पनि पटिहानीमा बन्दै गरेको भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतो बताउँछन्। ठूला लगानीकर्ताको छनोटमा परेको पटिहानीमा धमाधम नयाँ होटल तथा रिसोर्ट बन्दै गरेको उनले बताए। ‘थ्री स्टार लेभलका तीनवटा होटल निर्माणको अन्तिम चरणमा छन्,’ उनी भन्छन्, ‘साना पर्यटकीय होटल पनि बन्ने क्रम बढेको छ।’ 

पर्यटकको रोजाइमा पटिहानी पनि परेकाले लगानीकर्ताहरु आकर्षित भएको उनी बताउँछन्। रिभरसाइड रोयल गार्डेन रिसोर्ट ९आरआरजिआर० पनि पटिहानीमा बन्दै गरेको ठूलो रिसोर्टमध्येमा पर्छ। रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार १७ जना लगानीकर्ता र एक–एक संस्थागत सेयर गरी करिब एक अर्ब रुपैयाँ लगानीमा आरआरजिआरको पूर्वाधार तयार हुँदैछ। पहिलो चरणमा ५५ करोड रुपैयाँ लगानीमा पूर्वाधार तयार गरेर रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको छ। 

गत फागुनदेखि निर्माण सुरु गरिएको रिसोर्टको पहिलो चरणको काम सकेर आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी रहेको प्रबन्ध निर्देशक न्यौपानले बताए। पहिलो चरणमा सातवटा भिल्लासहितको ४२ वटा कोठा तयार गरिँदैछ। कन्फ्रेन्स हल, स्विमिङ पुलसहितको पूर्वाधार बनाइदैछ। आरआरजिआरको विशेषताका रुपमा छुट्टै कम्पाउन्डसहितको सात भिल्ला रहेको उनले बताए। स्विमिङ पुलसहित प्रत्येक भिल्ला तयार गरिँदैछ। भिल्लाका लागि भिल्लाको कम्पाउन्डभित्र छुट्टै रेस्टुरेन्ट पनि रहनेछ। 

६ सय जना अट्ने सभाहल, एक हजार जनालाई सेवा दिने रेस्टुरेन्टसहितको रिसोर्ट हुने उनी बताउँछन्। रिसोर्ट सञ्चालन गरेको केही समयपछि दोस्रो चरणको काम सुरु गर्ने लगानीकर्ताको योजना रहेको छ। ६० वटा रुमसहितको पूर्वाधार दोस्रो चरणमा बन्ने उनले जानकारी दिए। थ्री स्टार लेभलको रिसोर्ट दोस्रो चरण पूरा हुँदा फाइभ स्टार लेभलको बन्ने न्यौपानेको भनाइ छ। ‘छुट्टै कम्पाउन्डसहितको सातवटा भिल्ला आरआरजिआरको विशेषता हो,’ उनी भन्छन्, ‘जसमा विशेष अतिथिसमेत राखेर सत्कार गर्न सकिने सुविधा हुनेछ।’ 

सफारी पर्यटनमा आधारित चितवनको पर्यटनमा पहिटानी पनि चितवन निकुञ्ज र राप्ती नदीसँग जोडिएको उपयुक्त लोकेसन भएको प्रबन्ध निर्देशक न्यौपाने बताउँछन्। थ्री स्टार लेभलकै चितवन जंगल लज र रिभर ब्यांक जंगल रिसोर्ट पनि पटिहानीमा बन्दैछन्। चितवन निकुञ्जभित्र रहेको चितवन जंगल लज बन्द भएपछि लजका सञ्चालक द्वारिका श्रेष्ठले सोही नाममा पटिहानीमा रिसोर्ट निर्माण गर्ने तयारी थालेका छन्। 

पटिहानीको पर्यटकीय सम्भावनालाई हेरेर दुई दशक पहिले किनेको चार बिघा जमिनमा यही वर्ष रिसोर्टको पूर्वाधार बनाउन सुरु गर्ने उनको योजना छ। महानगरको वडाको सक्रियतामा पर्यटनका पूर्वाधारहरु तयार गरेर पर्यटन प्रवद्र्धनको काम सुरु भएकाले तत्काल पूर्वाधार निर्माण सुरु गर्ने तयारी गरिएको श्रेष्ठले बताए। ‘सकेसम्म स्थानीय र मौलिक सामग्री प्रयोग गर्ने तयारी गरेका छौं,’ उनी भन्छन्, ‘त्यही अनुसार डिजाइन गरिसकिएको छ।’माघ महिनादेखि बनाउन थालेर डेढ वर्षभित्र सक्ने योजना रहेको उनले सुनाए। 

सुरुमा ३० कोठा क्षमताको रिसोर्ट तयार गरिनेछ। राप्ती किनारसँग जोडिएको जग्गा वन, वन्यजन्तु हेर्न र प्राकृतिक दृष्यावलोकनको लागि उपयुक्त रहेको उनी बताउँछन्। रिभर ब्यांक जंगल रिसोर्टको निर्माण कार्य पनि यही वर्ष सुरु गरिने लगानीकर्ता दीपेन्द्र जोशी बताउँछन्। दुई जनाको लगानीमा बन्ने ४५ कोठा रहने रिसोर्टको डिजाइन तयार भइसकेको छ। जंगलको छेउमा रहेको पटिहानीमा सफारी पर्यटनलाई नै केन्द्रित गरेर रिसोर्ट सञ्चालन गर्न लागिएको जोशीले बताए। 

राप्तीको तटीय क्षेत्रमा धेरैले जग्गा ओगटेर राखेका छन्। किनारसँग जोडिएका क्षेत्रमा होटल तथा रिसोर्ट खोल्नका लागि सबैलाई आग्रह गरिएको वडाध्यक्ष महतोले बताए। ठूला होटल खोल्दा राजस्वमा समेत छुट दिइने नीति अघि सारिएको उनी बताउँछन्। ‘जग्गा ओगटेर बस्नु भएका सबैलाई होटल बनाउनुस् भनेर आग्रह गरेका छौं,’ उनले भने, ‘नबनाउनेलाई जग्गा लगानीकर्तालाई दिनुस् भनेका छौं।’ आग्रहपछि धेरै जग्गामा कम्पाउन्ड गरिएका छन्। केही वर्षभित्र पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता पनि दिएका छन्। केहीले यही वर्ष निर्माण सुरु गर्न समेत लागेका छन्। पटिहानी नयाँ पर्यटकीय गन्तव्यमा परेपछि लगानीकर्ता समेत उत्साहित भएको उनले बताए। 

प्रकाशित: १ पुस २०७५ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App