१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मनकाे अाखाँले जमेका मेजर

ललितपुरको महालक्ष्मीस्थानमा सानो सडकको छेउमा नयाँ र सुन्दर घर छ। घर साढे तीन तले छ। पवनले आफैं कमाएर घर बनाएका हुन्,रे। घर भर्खर फिनिसिङ भएको रहेछ। घरमा प्रवेश गर्दा कोठा पनि सुन्दर, सफा सजिएका छन्। पवनको परिवारमा उनकी श्रीमती शीतल घिमिरे र उनीहरुका दुईवटी छोरी  १२ वर्षकी प्रिसल र ९ वर्षकी ईशल छन्।

नेपाली सेनाका मेजर (सेनानी) पवन घिमिरेले न त कहीले आफ्नी श्रीमती देखेका छन्। न त छोरीहरु नै। नयाँ घर पनि देखेका छैनन्। पवनले देखेका छन् त मन मस्तिष्क र कल्पनाले अनि मिठो सपनाले।

ललितपुरको लेलेमा जन्मिएका हुन्, मेजर पवन घिमिरे। उनको जन्म २०३५ सालमा भएको हो। पवनको ललितपुरकै महालक्ष्मीस्थानमा पनि घर भएकाले शिक्षा लिने अवसरबाट वञ्चित हुनु परेनछ। नेपाली सेनामा सेवा गर्ने रहर लागेछ पवनलाई। २०५७ मा नेपाली सेनामा प्रवेश गरे। अधिकृत क्याडेटबाट प्रवेश गरेका रहेछन्। सेकेण्ड लेफ्टिनेन्ट, लेफ्टिनेन्ट, क्याप्टेन हुँदै बढुवा भएर मेजर भएका छन्,पवन। नेपाली सेनामा प्रवेश गरेको तीनै वर्षमा पवन घिमिरेको जीवनमा ठूलो बज्रपात भयो।

जनै पूर्णिमाको दिन एम्बुसमा
२०६० साउन महिनाको कुरा हो। जनै पूर्णिमाको दिन थियो।  आमा बुबा सम्झिँदै हिँड्दैथे पवन। कालिकोटको जुविथा भन्ने ठाउँमा खटिएका थिए, उनी। भवानी बक्स गण दैलेखबाट खटिएका थिए। त्यतिखेर उनी लेफ्टिनेन्ट थिए,रे। कालिकोट–सुर्खेत, जुम्ला सडक खण्डको ट्र्याक खोल्ने काम भैरहेको थियो। सुरक्षार्थ नेपाली सेनाको टुकडी पनि खटिएको थियो। ड्युटी पूरा गरेर कालिकोटको जुविथा भन्ने ठाउँमा फर्किँदै थियो सेनाको टुकडी। पवन घिमिरे पनि थिए टुकडीमा। सुन्दर खोला खोल्छाको सुसेलीमा रमाउँदै हिँडिरहेका थिए,पवन। सेनाको बीचमा थिए उनी। घुमाउरो साँघुरो बाटो थियो।

पड्कियो। आवाज आयो। तत्कालीन माओवादीले थापेको एम्बुस (विद्युतीय धराप) मा परे पवन। तत्कालीन माओवादी–सेनाले  युद्धविराम गरेको थियो। युद्धविरामको समयमा एम्बुसमा परिएला भनेर कसैले सोचेका थिएनन्। न त पवनले नै सोचेका थिए। नेपालीसेना पनि आक्रमणको शैलीमा हिँडेको थिएन रे।

क्षणभरमै पवनको सुन्दर संसार अन्धकार भयो। उनका अरु साथीलाई भने केही भएन। उनी एक्लो हुन् त्यहाँ एम्बुसमा पर्ने। एकोहोरो गोली चलायो सेनाले। लक्का जवान पवन जीवनमरणको दोसाँधमा परे।

जीवन बाँच्यो, ज्योति गुम्यो
साथीहरुले पवनको तत्कालै उद्धार गरे। ४५ मिनेटमा हेलिकोप्टर पुग्यो पवनलाई उद्धार गर्न। नेपालगञ्ज ल्यायो हेलिकोप्टरले। नेपालगञ्जबाट काठमाडौंस्थित छाउनी आर्मी हस्पिटल ल्याइयो। बुबा–आमा पनि छाउनीमा पवनलाई भेट्न आए। भाव विह्वल भए। छाउनीबाट रिफर भएर पवन शिक्षण अस्पताल पुगे। शिक्षण अस्पतालमा उनको आँखाको शल्यक्रिया भयो। तर पवनले आँखा देख्न सकेनन्।

पवनलार्इ म सपनामा कहीँ हिँडिरहेको छु जस्तो लागिरहेको थियो। पवन भन्छन्, ‘निद्रामा छु जस्तो लागिरहन्थ्यो।’ आँखाको उपचार गर्न भारतमा पनि गएछन्, उनी। तर पवनलाई कुनै अस्पतालले आँखा देख्ने बनाउन सकेन। डाक्टरको एउटै निर्णय रह्यो, ‘अब पवनले कहिल्यै आँखा देख्न सक्दैनन्।’ पवनको आँखाको ज्योति फर्काउने सम्पूर्ण प्रयास बिफल भयो।

निराश भएर भारतबाट घर फर्किए। जीवन बाँच्यो तर आँखाको ज्योति भने सदाका लागि गुम्यो। उनले अब जीवनमा कहिल्यै पनि संसार देख्न नपाउने भए। सैन्य जीवनको उत्साहपूर्ण तीन वर्षमा विश्राम लाग्यो। जनै पूर्णिमामा जनै लगाउन त पाए पवनले तर कहिल्यै देख्न भने नपाउने भए। उनका बुबा–आमाले छोरालाई देखे तर छोराले भने स्वरले मात्रै बुबा–आमा चिने। पवनको अवस्था देखेर सबै निराश भए। तर जीवन बाँच्यो।

अन्धकारमा रुमलिएको जीवन
पवनको जीवनमा घोर अन्धकार छायो। पवन भन्छन्, ‘जुन सपना देखेर नेपाली सेनामा प्रवेश गरेँ ती सपना समाप्त भए भन्ने सोच्न थालेँ।’ दृष्टि गुमेपछि जीवन पनि छैनजस्तो लाग्थ्यो पवनलाई। सपनामा हिँडिरहेको जस्तो लाग्थ्यो। जतिखेर पनि निद्रामै छु जस्तो लाग्थ्यो। पवन चरम निराशामा डुबे।

मन बुझाउन अनेक किसिमका उपाय निकाल्थे उनी। आफूले नदेख्दा लोडसेडिङ भएको कल्पना गर्थे। त्यो समयमा लोडसेडिङ धेरै हुन्थ्यो। ‘म आँखा नदेख्ने भएको होइन, लोडसेडिङ भएकाले अँध्यारो भएको हो भन्ने सोच्थेँ,’ पवन भन्छन्, ‘रेडियो टिभी बज्न थालेपछि बिजुली आएको थाहा पाउथेँ।’ तर उनको आँखामा बिजुली आउँदैनथ्यो। जीवनको बिजुली निभिसकेको थियो। पवन सोच्थे,‘लोडसेडिङ हटेपछि देख्ने हुन्छु। रात परेको छ। निद्रामा छु। उज्यालो भएपछि उठ्छु। निद्रा खुलेपछि संसार देख्छु।’

उज्यालो भयो भनेर आत्तिएर उठ्दा कयौंपटक भित्ता, ढोका, खाट जहिँतहीँ ठोकिन्थे उनी। कतिपटक उज्यालो भयो भनेर चिच्याउँथे। तर, उज्यालो देख्न सक्दैनथे। लोडसेडिङ र रातको बहानामा कतिबेर मन बुझाउन सक्थे  र ? फेरि अन्धकार र निराशामा डुब्थे पवन। जीवन सकियो जस्तो लाग्थ्यो। बुबा–आमा तथा परिवारको निराशा र पीडाको अनुभूत गर्थे उनी। अन्धकार र निराश जीवनबाहेक केही रहेन उनमा।

सेना भएर राष्ट्रको सेवा गर्ने सपना देख्थे,सधैँ। अधिकृत क्याडेटमा पास हुँदाको उत्साह सम्झन्थे। सेनामा प्रवेश गरेपछिका तालिम सम्झिन्थे। आफूभन्दा माथिल्लो दर्जाको प्रेरणा सम्झन्थे। जुनियरलाई कमाण्ड गरेको र उनीहरुमा उत्साह भर्दै अगाडि बढेको सम्झन्थे। केवल सम्झन्थे मात्र। सम्झनाको अन्त्य चरम निराशामा हुन्थ्यो। सबैभन्दा धेरै सम्झिन्थे बढुवा भएर सेकेण्ड लेफ्टिनेन्ट, फुल लेफ्टिनेन्ट भएको। इमानदार भएर सेवा गर्दै अझ, बढुवा हुन्छु, राष्ट्रको सेवा गर्छु भन्ने सपना देखेका थिए पवनले। तर सपना भताभुंग र लथालिंग भयो। 

अँध्यारो पछि उज्यालो
भनिन्छ, ‘अँध्यारोपछि उज्यालो आउँछ। निराशामा पनि आशाको बिहानी अवश्य आउँछ।’ पवनको जीवनमा पनि सधैँ निराशा मात्रै रहेन। आशा र उत्साहको टुसा अंकुरण हुन थाल्यो। अँध्यारोको छितिज पारिबाट आशा र उत्साहको मधुर किरण उनको जीवनमा देखिन थाल्यो।

परिवार साथमा थियो। साथीभाइ, इष्टमित्र साथमा थिए। सबैभन्दा धेरै त नेपाली सेना साथमा थियो। दृष्टि गुमेपछि सैन्य जीवनमा रहन सक्दिन भन्ने लाग्थ्यो र असह्य पीडा हुन्थ्यो पवनलाई। तर दृष्टि गुमेपछि सेनाले उनलाई झन् साथ दियो। सैन्य जीवन आदेशले चल्छ भन्ने लाग्थ्यो उनलाई। तर आदेशभित्रको स्नेहले सेना चल्छ भन्ने बुझे उनले। ६ वर्षपछि छाउनीस्थित ब्यारेक फर्किए पवन। सहयोगीसँग मोटरसाइकलमा ब्यारेक छिरे। ०६६ सालमा शैनिक शिक्षण पक्षमा मेजर पदमा पदोन्नति भएर ब्यारेक जान थालेछन्, पवन।

उनलाई भावनात्मकरुपमा स्वागत गरियो। ब्यारेकमा पवनलाई हेर्न धेरै उत्सुक थिए। पवनलाई भेटे। भावना साटे। पवनको साथमा नेपाली सेनाको सकल दर्जा थियो तर अब सेनामा जागिर भए पनि जिम्मेवारी हुँदैन भन्ने सोचेर निराश बन्थे। तर ठ्याक्कै उल्टो पो भयो। पवनलाई झन् धेरै जिम्मेवारी दिइयो। सैनिक शिक्षण पक्षमा जिम्मेवारी वहन गर्न थाले।

नेपाली सेनामा भर्ना हुँदा जीवन नै उत्सर्ग गर्ने सपथ लिएका पवनलाई देशका लागि जीवन नै दिन तयार थिएँ तर आँखाको ज्योति मात्रै समर्पण गरेँ भन्ने भाव उत्पन्न हुन थाल्यो। मनमा उत्साहको पालुवा पलाउन थाल्यो। आँखाको ज्योति गुमे पनि पूरै नेपाली सेना मेरो आँखा हो भन्ने भावना आउन थाल्यो। अरुका आँखा मेरा पनि आँखा हुन् भन्ने विचार आउन थाल्यो।

आशा, उत्साह र क्रिकेटमा सफलता
जीवनको ज्योति बलिरह्यो भने आँखाको ज्योति गुमेर पनि फरक पर्दैन भन्ने पवनले महसुस गर्न थाले। जीवनको रथ फेरि अगाडि बढ्न थाल्यो। समजशास्त्रमा एमए र सैन्य विज्ञानमा स्नातक गरेका पवनमा बौद्धिक क्षमताको कुनै कमी थिएन। आँखाको ज्योति गुमेर उनको क्षमताले ठक्कर खायो तर जीवनको ज्योति उज्यालो बनाएर उनी अगाडि बढ्न थाले।

दृष्टिविहीन भएपछि उनले कम्प्युटर चलाउन सिके। दृष्टिविहीनलाई सहयोग गर्ने अनेक किसिमका सफ्टवेयर चलाउन सिके। करिब डेढ वर्षपछि उनी दैनिक जीवनमा फर्किए। प्यारो सेनामा समाहित भए। शारीरिक तथा मानसिक दुवैरूपमा पहिलेको पवनभन्दा अहिलेको पवन कम थिएनन्। दृष्टि गुमेको थियो भने नयाँ जीवनको ऊर्जाशील दृष्टि बोकेर पवन फेरि सेनाको दैनिकीमा फर्किए। अहिले उनी सेनामा अपांग भएकालाई खेल पनि सिकाउँछन्।

देख्ने हुँदा खासै चासो नदिएको क्रिकेट खेल दृष्टि गुमेपछि पवनले खेल्न सिके। उनलाई क्रिकेटमा रुचि जाग्यो। पवनको रुचिलाई दृष्टिगत गरी सेनाले उनलाई खेलकुद तथा शारीरिक केन्द्रमा जिम्मेवारी दिएछ। मूलतः पवन क्रिकेट खेलमा होमिए। क्रिकेट खेलेर दृष्टिविहीनहरुले पनि मनोरञ्जन लिनुपर्छ भन्ने लाग्यो उनलाई।

पाकिस्तानमा गएर क्रिकेटको ट्रेनिङ लिने अवसर पाए, पवनले। त्यसपछि विदेश भ्रमणको बाटो मात्रै खुलेन। ०६३ मा नेपालमा पहिलो दृष्टिविहीन क्रिकेट टुर्नामेन्ट भयो। जसको आयोजनाको अगुवाइ गरे उनले। काठमाडौं, भक्तपुर र ललितपुरमा दृष्टिविहीन क्रिकेट क्लबको स्थापनाको अगुवाइ गरे। अहिले यो क्लब २० जिल्लामा विस्तार भएको पवन बताउँछन्। पाँच सयभन्दा धेरै दृष्टिविहीन खेलाडी खेल खेल्छन्। एक सय ५० भन्दा धेरै दृष्टिविहीन महिला खेलाडी उत्पादन भैसकेको बताउँछन्,पवन। यो उपलब्धिबाट पवन दंग देखिन्छन्। आँखाको ज्योति गुमे पनि पवनको जीवनको ज्योतिमा भने झन् चमक आइनै रह्यो। पवनले कर्म गर्न छोडेनन्। हिम्मत हारेनन्। दत्तचित्त भएर जिम्मेवारी पूरा गरे। लगनशील भएर जिम्मेवारी पूरा गर्दा फल पाए। बढुवा भएर पवन मेजर भएका छन्।

पवनकै पहलमा दृष्टिविहीन क्रिकेट संघ पनि स्थापना भएको छ। उनी संघका अध्यक्ष छन्। उनी अहिले विश्व दृष्टिविहीन क्रिकेट काउन्सिलको म्याच रेफ्रीसमेत छन्। पवनले २०१८ मा पाँचौं विश्व दृष्टिविहीन क्रिकेटको रेफ्रीका रुपमा पनि काम गर्ने अवसर पाए। भारत र पाकिस्तानबीचको खेलमा पनि रेफ्री भए।

उनी विश्व दृष्टिविहीन क्रिकेट संघका उपाध्यक्षसमेत भैसकेका छन्। त्यसैगरी दृष्टिविहीन क्रिकेट संघ नेपालका अध्यक्ष छन्। पवन आफूले करिब एक दर्जन दृष्टिविहीनसँग सम्बन्धित संस्था तथा कार्यक्रमको नेतृत्वदायी जिम्मेवारी समालिसकेको बताउँछन्। पवन भन्छन्, ‘दुई दर्जनभन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ट्रेनिङ तथा प्रशिक्षणमा सहभागिता जनाइसकेको छु।’ पुरस्कृत पनि भएका छन्।

हालसम्म उनी पटक–पटक ७ वटा देशमा पुगेका रहेछन्। अमेरिका, बेलायत, पाकिस्तान, भारत, युएई, मलेसिया, कुबेतजस्ता मुलुक क्रिकेटको सिलसिलामा घुमेका रहेछन्। पाकिस्तान, भारत र युएई भने शीतलसँगै गएका रहेछन्। ती सबै राष्ट्र दृष्टिविहीन भएपछि गएका हुन् रे । नेपाली सेनाले पवनको जीवनको सहजताका लागि एकजना सिपाही खटाइदिएको छ। सैनिक अपांगता खेलकुदको बारेमा उनी रिपोर्टिङका साथै व्यवस्थापनका बारेमा काम गर्छन्,रे। अरुले फलो गरेको बाटो हैन। नयाँ बाटो खोजेर अपांगहरुको जीवनमा परिवर्तन ल्याउने इच्छा छ रे पवनलाई।

संयोगले लगन गाँठो
पवनले क्रिकेट पनि ०६३ सालमै खेल्न थालेका रहेछन्। विवाह पनि त्यही वर्ष भएछ। त्यसैले त पवन ठट्टा गर्दै भन्छन्, ‘श्रीमती र क्रिकेट सँगै भित्रिए।’ पवनको वैवाहिक जीवन पनि कम रोचक छैन। पवनले शीतलसँग लगनगाँठो गाँसे। पवनको सफलतामा शीतलको ठूलो भूमिका छ। महालक्ष्मीस्थानस्थित पवनको घरमा उनको जीवनको बारेमा कुरा गर्दा शीतल सोफामा बसेर मुसुमुसु हाँस्दै सुनिरहेकी थिइन्।

पवनसँग कसरी विवाह गर्नुभयो ? शीतल दार्शनिक जवाफ दिन्छिन्, ‘अरुको जसरी विवाह हुन्छ हाम्रो पनि त्यसरी नै भयो। बिहे दुईजना व्यक्तिको होइन दुईवटा जीवनको बीचमा हुन्छ।’

पवनकी ममी र शीतलको ठूली ममीको अस्पतालमा भेट भएछ। अस्पतालमा  लाइनबस्नेक्रममा कुरा हुँदै जाँदा विवाहको कुरा चलेछ। यद्यपि दुवै अपरिचित थिए। पवनको ममी र शीतलको ठूली ममीले विवाहको कुरा चलाएछन्। शीतलको घर आएर उनकी ठूलीममीले विवाहको कुरा चलाइछिन्। ठट्यालीमै शीतलले पनि विवाह गर्ने भनिन्।

तर अहिलेजस्तो फोन थिएन। पवनको घर खोज्न शीतलकी ठूलीममीले एकजना व्यक्तिलाई पठाइछन्। घर पत्ता लाग्यो। कुरा अगाडि बढ्दै गयो। पहिलोपटक पवन र शीतलको भृकुटीमण्डपमा भेट भएछ। शीतल भन्छिन्,‘विवाह अघि पनि म दृष्टिविहीनलाई सहयोग गर्थेँ।’ सुरुमा पवनसँग विवाहभन्दा पनि चिनजान गर्ने हिसाबले भेटेको बताउँछिन्,शीतल। दृष्टिविहीनसँग शीतलले विवाह गर्छुभन्दा पवनलाई अनौठो लागेछ। के कस्तो केटी हो भन्ने पवनले बुझ्न थालेछन्। भेटघाट भए पनि एक वर्षसम्म विवाह गरेनन्। एक वर्षसम्म एक अर्कालाई बुझे। फोनमा कुरा हुन्थ्यो। शीतललाई पवन हिम्मतीलो, ट्यालेन्ट र क्षमतावान् लाग्यो। उनीहरुले एक अर्कालाई मन पराए। पवन दृष्टिविहीन छन्, भन्ने महसुस नै भएनछ शीतललाई।

आवाज सुनेरै होचो अग्लो पहिचान गर्न सक्दा रहेछन्, पवन। शीतल आफूभन्दा होची, छिन् भन्ने पवनले आवाज सुनेरै थाहा पाएका रहेछन्। बाटो काट्नेक्रममा कहिलेकाहीँ शीतलले सहयोग गर्दा शीतल होची, दुब्ली र पातली छिन् भन्ने पवनले महसुस गरेका रहेछन्।

पवन भन्छन्, ‘मैले उनीसँग विवाह गरेको हैन उनीले मसँग विवाह गरेकी हुन्। किन भने उनले मसँग विवाह गरेर धेरै संघर्ष गर्नु पर्ने थियो । त्यसका लागि उनी तयार भइन्’ शीतलका बुबा–आमा भने आँखा नभएको केटासँग छोरीको विवाह गरिदिन मानेनन्। तर पछि छोरीको इच्चाविपरीत जान पनि सकेनन्। शीतल भन्छिन्, ‘बुबालाई सम्झाउन साह्रै गाह्रो भयो। भाइले पनि सम्झायो।’

माघको चिसो–चिसो मौसम। महालक्ष्मीस्थानको घरबाट आर्मीको बग्गी चढेर पवन अन्मिए। दौरा, सुरुवालमा, ढाका टोपी र कालो चस्मामा ठाँटिएर सेनाको बग्गमा जन्तीसहित जग्गेमा पुगेका थिए मेजर पवन। बेहुलामा दृष्टिविहीन देखिएनन् रे पवन।

लैनचौरको एक पार्टी प्यालेसमा बेहुली सिंघारीएकी थिइन्।  बेहुलीलाई भने त्यतिबेला अलि टेन्सन पनि लागेको थियो रे। किनकि सबैले उनका बुबालाई गाली गरेका थिए। कतिपयले कुरा पनि काटेछन्। शीतलका बुबाले त ढाडको समस्या र तनावका कारणले कन्यादानसमेत गर्न नसकेको बताउँछिन्, शीतल। बुबाको त्यो हालत देखेर मैले किन यस्तो निर्णय गरेँछु भन्ने चिन्ताले शीतललाई पनि सताएछ। ‘बिहेको निर्णय लिइसकेकाले पछि हट्ने कुरा पनि भएन’, शीतल भन्छिन्। तर मन बुझाइन्। पवन–शीतलको लगन गाँठो गाँसियो। बिस्तारै शीतलको बुबाले पनि पवन–शीतलको विवाहलाई सहजरुपमा लिएछन्।

शीतल (सिलवाल) पवनसँग लगनगाँठो गाँस्दा २४ वर्षकी थिइन्,रे। उनले १२ कक्षासम्मको अध्ययन गरेकी रहिछन्। जाडोको मौसममा बेहुलीले पातलो लुगा लाएकी छिन् भन्ने पवनले छामेर थाहा पाएछन्। अनि लाग्यो, ‘यस्तो जाडोमा पनि किन पातलो लुगा लाएकी होलिन्।’

शीतलको रुपको बारेमा चासो कहिल्यै नगरेको बताउँछन् पवन। किनकि शीतलले पवनको हरेक सफलतामा सहयोग गरेकी छिन्। शीतल पनि पवनको सफलतामा दंग छिन्। रुपभन्दा सधैँ सहयोग नै ठूलो भयो पवनलाई। शीतलले जेठी छोरी बुबा–आमा जस्ती भनेर चिनाउँछिन् भने कान्छी छोरी काटिकुटी बुबा जस्तै छ भनेर चिनाउँछिन् पवनलाई। अनि पवन र छोरीहरु पनि दंग पर्छन्।  ‘पवन छोरीहरुसँग रमाउँछन्।’

पवनलाई बेलाबेलामा भने निक्कै पीडा हुने गर्दो रहेछ। छोरीहरुले बुबाले आँखा देख्नुहुन्छ भन्ठानेर कुनै कुरा सोध्छन्। पवन भन्छन्, ‘कहिले काहीँ छोरीहरुले होमवर्क गर्दा बाबा यो पिक्चर कसरी बनाउने भनेर सोध्छन् ! कहिलेकाहीँ टिभिमा आएको चिज के हो भनेर सोध्छन्। म भावुक हुन्छु।’ आँखा देखेको भए छोरीहरुलाई घुमाउने रहर पनि लाग्छ पवनलाई।

आफैँ घरधन्दा
पवन घरको धन्दा पनि सामान्य मानिसले जस्तै गर्दा रहेछन्। शीतल बिरामी भएको बेला पवन आफैँ खाना पकाउँछन् रे। छोरीहरुलाई खानपान गराउँदारहेछन्। तरकारी आफैँ पकाउँछन्। अफिसको डकुमेन्ट बनाउने काम आफँै गर्छन्, पवन। कम्प्युटर चलाउँछन्। फेसबुक चलाउँछन्। पवनलाई कामको धेरै बोझ हुँदा शीतललाई दिक्क पनि लाग्छ। पवन मासिक ६० हजारभन्दा धेरै कमाउँदा रहेछन्,रे। उनी प्रपोजल बनाउने काम पनि गर्दा रहेछन्। अरु कामसमेत गर्छन्,रे। पवन र शीतललाई अहिले घर चलाउन आर्थिक समस्या छैन रे।

नदेख्ने पवन ठिक
पवनलाई दृष्टिविहीन हुनु पूर्व देखेका बुबा–आमा उस्तै छन् जस्तो लाग्छ,रे। तर बुबाको मृत्यु भइसकेको छ। पवनलाई जीव संघर्ष हो जस्तो लाग्छ। केही पाउन केही गुमाउनुपर्ने रहेछ भन्ने लाग्छ। दृष्टिविहीन भएपछि पवनलाई संसारले चिनेको अनुभूत हुन्छ। र पवनले पनि संसार देखेको अनुभूत गर्छन्। दृष्टि विहीनताले पवनलाई चिनाएकोमा गर्भ गर्छन्। दृष्टिविहीनतासँगै क्रिकेटले पवनलाई चिनाएको छ।  शितललाई पनि पवन र बालबच्चालाई हेरचाह गरेर पवनलाई अझै अगाडि बढाउने सोच छ। दृष्टिविहीनताले नै पवनलाई चिनाएको उनको अनुभूति छ। पवन आफूलाई जीवनमा निकै सफल भएको अनुभूति गर्छन्। पवन भन्छन्, ‘देख्ने पवनभन्दा नदेख्ने पवन नै ठिक छ।’

प्रकाशित: २८ मंसिर २०७५ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App