१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मालागढी सुन तस्करीको ‘ट्रान्जिट’ बन्दै, पाँच वर्षमा ४० केजी सुन बरामद

रसुवागढी नाका हुँदै अवैध रूपमा भित्रिएको सुन (रेखाचित्र) । तस्बिरः हिमनाथ/नागरिक

रसुवा – तस्करले मालागढीलाई सुन तस्करीको  ‘ट्रान्जिट’ बनाउन थालेका छन्। रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन्। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–१ थुमनस्थित मालागढीमा सुरक्षा निकायको उपस्थिति छैन।

सोमबार धुन्चेबाट २ केजी सुन सहित थुमनका ३७ वर्षीय निमा दोर्जे तामाङ पक्राउ परेपछि मालगढीबाट सुन तस्करी हुने गरेको खुलेको हो। चीनको केरुङबाट मालागढीसम्म आइपुगेको सुन बोकेर उनी काठमाडौं जान लागेका थिए। प्रहरीले विशेष सुराकी पाएपछि उनी चढेको ना १ ज ६१७६ टाटा सुमो रोकेर जाँच गर्यो। ‘सुमोको टिकट काटेर तामाङ काठमाडौं जाँदै थिए, प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले भने, हामीले सुराकी पाएपछि चेक गर्दा उनको साथबाट दुई किलो सुन फेला पर्यो।’

यसअघि रसुवागढी नाका हुँदै अवैध रूपमा सुन ल्याइने गरेको थियो। केही महिनाअघिबाट निजी सवारी साधन चीन प्रवेशमा रोक लगाइएपछि नाकाबाट सुन ल्याउन कठिन भएको थियो। ‘साथमा बोकेर ल्याउँदा चेक हुने भएकाले अवैध रूपमा सुन ओसार पसार गर्नेले बाटो फेरेका हुन्, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले भने, हामी एक हप्ताभित्रमा मालागढीमा प्रहरी पोष्ट राख्छौँ।’ मालागढीमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्नका लागि मन्त्रालयमा कुरा भइसकेको उनले बताए। त्यहाँ सशस्त्र प्रहरीको पोष्ट रहने छ।

२०७१ सालमा नाकामा व्यापारिक कारोबार सुरु भएपछि  सुन तस्करी सुरु भएको देखिन्छ। २०७१ सालअघि सुन पक्राउ गरिएको अभिलेख भेटिँदैन। चीनबाट सुन किनेर अवैध रूपमा भित्र्याउन कहिलेबाट सुरु भयो भन्ने जानकारी छैन्। तर २०७१ असार १७ गते १० तोला बुटिल सहित गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेका फुर्पु ग्याल्मो तामाङ्नी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रसुवाको अभिलेखमा भेटिन्छ। त्यसयता रसुवागढी नाका हुँदै काठमाडौं लैजाने क्रममा रसुवा, नुवाकोट र काठमाडौंबाट २ सय केजी भन्दा बढी सुन पक्राउ परेको देखिन्छ।

ठूलो परिमाणमा भने काठमाडौं पुगेपछि मात्रै फेला परेको छ। जिल्ला बाहिरबाट न्यूनतम् ९ किलोदेखि ८८ किलोसम्म सुन पक्राउ परेको छ। जिल्लाबाट १७ किलोसम्म सुन पक्राउ गरिएको छ। आर्थिक वर्ष २०७०–७१ देखि हालसम्म जिल्लाभित्रै करिव ४० केजी सुन बरामद भएको छ। यो अवधिमा १६ वटा घटना भएको छ। अवैध सुन ओसार पसारमा संलग्न १६ जना भरिया पक्राउ परेका छन्। पक्राउ परेका केही धरौटीमा छुटेका छन्। धरौटी बुझाउन नसक्ने जेल जीवन बिताउँदै छन्।

प्रकाशित: २५ मंसिर २०७५ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App