१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एयरटेल सहकारीका प्रबन्ध निर्देशक पक्राउ

काठमाडौंं – सर्वसाधारणले बचत गरेको करिब ५० करोड रुपैयाँ लिएर भागेका काठमाडौं, न्युरोडस्थित एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देशक अशोक गोयल जैनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। उनलाई हालसालै पक्राउ गरेको प्रहरीले जनाएको छ।

उक्त सहकारीका अध्यक्ष सुमन केडिया, सञ्चालकहरु सारिका जैन, सुरेन्द्रकुमार अग्रवाल, सीमा बंशल अग्रवाल, पुरुषोतम अग्रवाल, रविन्द्रसिंह र दिपेन्द्र शर्मा भने अझै फरार छन्। उनीहरुलाई पक्राउ गरी पक्राउ गरी दाखिला गर्न महानगरीय प्रहरी परिसर टेकुले इन्टेलिजेन्स शाखालाई गत कात्तिक १२ मा निर्देशन दिएको थियो।

त्यसैको आधारमा उक्त सहकारीका प्रबन्ध निर्देशक जैनलाई पक्राउ गरिएको हो। उनीहरुले काठमाडौं महानगरपालिका–२२, धर्मपथमा एयरटेल बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्दै आएका थिए। सहकारीका सञ्चालकहरुले सर्वसाधारणलाई आकर्षक ब्याज र बचतकर्तालाई रकम आवश्यक पर्दा ऋण सहज रुपमा उपलब्ध गराइदिने वचन दिएका थिए। त्यही आधारमा सर्वसाधारणले रकम जम्मा गरेको पीडितको भनाइ छ।

बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै असोज १० गते सहकारीमा गएका थिए। सहकारी सञ्चालकहरुले तपाईंहरुको रकम केही दिनमा पाउनुहुन्छ भनी विश्वास दिलाएका थिए। तर, उनीहरुको बचत रकम लामो समय हुँदा पनि सहकारीले फिर्ता दिएको थिएन।

पीडितहरु सहकारीका अध्यक्ष केडियाको जग्गा बुझ्न तहाचल पुगेका थिए। बुझ्दा अध्यक्ष केडियाको नामा रहेको काठमाडौं महानगरपालिका–१३ ताहाचलमा भएको ६ आना जग्गा सञ्चालकमध्येकै सारिका जैनका नाममा २–३ महिनाअगाडि नै नामसारी गरेको पाइएको पीडितको भनाइ छ। यसैगरी, अध्यक्ष केडियाकै नाममा रहेको काठमाडौं महानगरपालिका–१३ को कलंकीमा रहेको १७ आना जग्गासमेत सहकारी सञ्चालकमध्येकै सीमा बंशल अग्रवालका नाममा २–३ महिनाअघि नै नामसारी गरेको पाइएको पीडितले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ।

सहकारीका अध्यक्ष, प्रबन्ध निर्र्देशकलगायत व्यक्ति भागेपछि उनीहरुले बचत गरेको ६ करोड चार लाख ७१ हजार फिर्ताको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए। ‘हामीजस्तै अरु तीन सयजनाको बचत रकम पनि एयरटेल सहकारीले लगेको रहेछ,’ एक पीडितले भने।

उक्त सहकारीले तीन सय ५० जनाभन्दा बढी बचतकर्ताको रकम हिनामिना गरेको आरोप लगेको छ। सञ्चालकहरुको नाममा रहेको चल, अचल सम्पत्ति, विभिन्न बैंक र फाइनान्स कम्पनीमा भएको खाता र सेयर समेत रोक्न पीडितले माग गर्दै प्रहरीमा उजुरी दिएका छन्। 

पक्राउ परेका सहकारीका प्रबन्ध निर्देशक जैनले महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएको भन्ने पत्रमा ‘उपचारका लागि परिवारसहित भारतमा गएको र त्यसैबेला परिवार सहित भागेको भन्ने भ्रामक समचार फैलाएपछि आफू त्यतै बसेको र अहिले बचतकर्ताको रकम फिर्ता गर्न काठमाडौं आएको’ उल्लेख गरेका छन्।

प्रकाशित: २५ मंसिर २०७५ ०५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App