२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘शक्तिशाली राष्ट्रले हतियारको लगानी हिंसा, भोक र रोगको अन्त्यमा खर्चिनुपर्छ’

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वका शक्तिशाली राष्ट्रहरु हतियारको प्रतिस्पर्धा छोडेर विश्वमा जारी हिंसा, भोक र रोगलाई निर्मुल गर्नतर्फ लाग्नुपर्ने बताएका छन्। 

सोमबार रिपोर्टर्स क्लबमा ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित साक्षात्कारमा मन्त्री ज्ञवालीले शक्तिशाली राष्ट्रहरुले विश्वमा जारी हिंसा अन्त्यमा प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिए। उनले कार्यक्रममा परराष्ट्रविद डा. शम्भुराम सिंखडाको पुस्तक समेत विमोचन गरेका थिए। 

त्यसक्रममा मन्त्री ज्ञवालीले विश्वका विकसित र शक्तिशाली राष्ट्रहरुले हतियारमा लगानी गर्ने रकमको १० प्रतिशतमात्रै विश्वमा जारी हिंसा, भोक र रोगको अन्त्यका लागि खर्चिने हो भने मानवअधिकार सुरक्षित हुने धारणा राखे। 

उनले थपे, ‘ठूला राष्ट्रहरुले संयुक्त राष्ट्र वडापत्रमा हस्ताक्षर गरेअनुरुप काम गर्नुपर्छ, ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइरहँदा यमन र सिरियाका मानिसहरुको हालत के छ? त्यहाँका मानिसले खान पाएका छैनन्, शान्तिका साथ बाँच्न पाएका छैनन्, यसका बारेमा गम्भीर हुनुपर्छ कि पर्दैन्?’ 

उनले अघि थपे, ‘विश्वका प्रायः देशहरुले संयुक्त राष्ट्रसंघको वडापत्रलाई कानूनको रुपमा स्वीकार गरेको स्थिति छ, त्यसैले विश्वमा जारी हिंसा, भोक र रोगलाई निर्मुल पार्न सक्नु आजको चुनौती हो, वडापत्र अनुसार विश्वका मानिसहरु सार्वभौम भएर बाँच्न पाउँछन्, विश्वका मानिसहरुले आर्थिक, राजनीतिक, बालअधिकार, महिला, लैंगिक, शारीरिक, मानसिक अधिकारहरुको उच्चतम प्रयोग गर्न पाउनुपर्छ।’ 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका कानुनी सल्लाहकार सुशील प्याकुरेलले मानवअधिकारको बारेमा कुरामात्रै गर्नुभन्दा पनि यसलाई व्यबहारमा उतार्नुपर्ने बताए। उनले भने, ‘शम्भुरामजीले लेख्नुभएको पुस्तक विश्वका अधिकार नपाएका पीडित मानिसहरुको ग्रन्थ हो, यसको सक्दो उपभोग गर्नुपर्छ, सबल र सक्षम राज्यको सक्रियतामा मात्रै मानवअधिकार सुरक्षित हुनसक्छ।’

त्यस्तै कार्यक्रममा त्रिविका पूर्व उपकुलपति प्रा.डा.केदारभक्त माथेमाले असमानता र विभेद सिर्जना भएको खण्डमा मानव अधिकारको खाँचो पर्ने बताए। उनले भने, ‘मानव अधिकारजस्तो संवेदनशील विषयलाई राज्यले उचित प्राथमिकता दिनुपर्छ, नेपालमा ४७ प्रतिशत मानिसहरुले कर्जा ऋण लिएर जीवन चलाईरहेका छन्, विश्वका मानिसहरुको अवस्था र नेपालको मानव अधिकारको अवस्थाका बारेमा शम्भुरामजीको यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास मैले लिएको छु, यो पुस्तक मत्वपूर्ण भएकाले मानव अधिकारसम्बन्धी जान्न चाहने, यस क्षेत्रमा काम गर्ने र विश्वविद्यालयमा समेत पढाउँदा राम्रो हुने देख्छु।’ 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले ‘आत्मसम्मानको लागि खडा होऔं’ भन्ने नाराकासाथ नेपालमा पनि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईएको जानकारी दिए। 

उनले भने, ‘नेपालको वर्तमान मानव अधिकारको अवस्थाका बारेमा सरकारलाई हामीले आयोगका तर्फबाट जानकारी दिईसकेका छौं, १५२ उजुरीहरुमाथि कारबाही भएको छ, ३८० उजुरीमाथि अनुसन्धान जारी छ, करिब ९३६ उजुरीहरु सिफारिस गरिएको छ, सबै उजुरीको सन्दर्भमा भन्नुपर्दा ३९ प्रतिशत उजुरीहरु कार्यान्वयनमा आएका छन्।’ 

नेपालमा मानवअधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने हो भने राजनीतिक एकाग्रता चाहिने उनको भनाई छ। 

प्रकाशित: २४ मंसिर २०७५ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App