१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

विदेशीजस्तै नेपालीलार्इ भाउ

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी लाखौं पर्यटक आउँछन्। तीमध्ये धेरैको रोजाई खुम्बु क्षेत्र हुन्छ। विशेषगरी दुई याम (सिजन) असोज–मंसिर र फागुन–जेठमा खुम्बु यात्राको लागि उपयुक्त मानिन्छ।

खुम्बु पुग्ने पर्यटक अधिकांश विदेशी हुन्छन्। प्राकृतिक तथा हिमालसँग रमाउन त्यहाँ पुग्छन्। यो क्षेत्रमा बिदा मनाउन, अध्ययन तथा अनुसन्धान गर्न पर्यटक आउने गरेका छन्। सर्वोच्च शिखर सगरमाथाले खुम्बुलाई थप आर्कषक बनाएको छ।

नाम्चे खुम्बु क्षेत्रको प्रसिद्ध बजार हो। यसलाई मिनी ठमेलको रूपमा पनि चिन्न सकिन्छ। नाम्चेमा सबै किसिमका सेवा सुविधा पाइन्छन्। ठमेलजस्तै छ नाम्चे। कसैले यसलाई ‘मिनि ठमेल’ भन्ने गर्छन्। नाम्चे माथि गएपछि भने पर्यटकले सबै खालका सुविधा नपाउन सक्छन्। सगरमाथाको प्रवेशद्वार मानिन्छ नाम्चेलाई। खुम्बुमा नाम्चेजस्तै धेरै प्रसिद्ध ठाउँ र होटल छन्। ती ठाउँ तथा होटलमा विदेशीलाई भव्यताको साथ स्वागत गरिए पनि नेपालीको लागि पनि कतिपय ठाउँमै बास पाउन समेत मुस्किल पर्छ। तर, त्यही खुम्बुमा त्यस्ता होटल पनि छन्, जसले नेपालीलाई विदेशीको जस्तै सम्मान र विशेष छुटको व्यवस्था गर्छन्।

स्याङबोचेमा रहेको ‘एभरेस्ट शेर्पा रिसोर्ट’ले नेपाली पर्यटकलाई छुट पनि दिने गरेको छ। खुम्बुमा यसरी नेपालीलाई छुट दिनु भनेको ठूलै सम्मान गर्नु हो।

स्याङबोचेमा रहेको ‘एभरेस्ट शेर्पा रिसोर्ट’ले खाना तथा बस्न व्यवस्था छ। यसले नेपाली पर्यटकलाई छुट पनि दिने गरेको छ। खुम्बुमा यसरी नेपालीलाई छुट दिनु भनेको ठूलै सम्मान गर्नु हो।

२४ वर्षदेखि सञ्चालित सबैको पानारामा होटलका नामले पनि चिनिने यो रिसोर्ट विश्वकै अग्लो ठाउँमा रहेको होटल मध्ये तेस्रो नम्बरमा पर्छ।  

सगरमाथा वेसक्याम्प, गोक्यो, थ्रीपास लगायत घुम्न जाने पर्यटकहरूको एक दिन नाम्चेमा विश्राम हुने गर्छ। त्यस दिन पर्यटकहरू स्याङबोचे, थामे लगायतका स्थानमा घुम्न जान्छन्। स्याङबोचेमा रहेको विश्वकै अग्लो स्थानमा रहेको विमानस्थललाई हेर्नका लागि आउने पर्यटकहरूका लागि ‘टि ब्रेक’ लिने आकर्षक थलोको रूपमा छ। त्यस्तै, यहाँबाट विश्वका अग्ला हिम शृंखलाहरूको दृश्यपान गर्न सकिन्छ। सगरमाथा, कोङ्दे, नुत्से, थामसेर्कु लगायतका दर्जनौ हिमाल र खुम्बु क्षेत्रको देवताको रूपमा रहेको खुम्बिला पर्वतलाई नजिकबाट हेर्नका लागि रिसोर्टमा पर्यटकहरूको भीड लाग्ने गरेको छ। रिसोर्टको प्रमुख विशेषता ‘३६० डिग्री भ्यू’ हो। वरिपरिका दृश्यलाई नजिकबाट नियाल्नका लागि रिसोर्टको प्राङ्गणमा ठूलो ‘दूरविन’ राखिएको छ। पर्यटकहरू पालैपालो दूरविनबाट हिमाल, पर्वतहरूलाई नजिकबाट नियाल्छन्। हिमशृंखलाहरू अवलोकन गर्न रिसोर्टमा बिहान ६ बजेदेखि नै पाहुनाहरूको आगमन हुन्छ। करीब मध्यान्ह १२ बजेपछि बादलले सबै हिमालहरू ढाक्ने भएकाले प्रायः सबै बिहान नै यहाँ आइपुग्छन्।   

चारैतिर पर्खालले घेरेर दुई तिर ठूल्ठूला प्रवेशद्वारा र कलात्मक कृतिहरूले सजिएको घरमा रिसोर्ट सञ्चालनमा छ। ‘भूकम्पअघि रिसोर्ट निकै आकर्षक थियो। केही क्षति पुगे पनि अहिले पुरानो अवस्थामा ल्याइसकेका छौं,’ रिसोर्टका म्यानेजर पासाङ ङिमा शेर्पाले भने, ‘पहिला रुमहरू धेरै थियो भूकम्पले क्षति पु-याएपछि केही घटेको छ। तर, बस्नको लागि खतरा छैन।’ विभिन्न क्षेत्रको अध्ययन, सोध तयार गर्ने, शान्त वातावरणमा केही समय बस्न रुचाउनेहरूका लागि रिसोर्ट छनोटमा पर्ने गरेको छ।

रिसोर्ट नजिकै चरणमा रहेको याक, नाकहरू र उनीहरूको गलामा झुण्डिएका घण्टीको सुमधुर आवाजले वातावरण थप मनोराञ्जनात्मक बनाउँछ। त्यस्तै, सल्ला, धुपी, अन्य जडीबुटीहरूको सुगन्धले स्वास्थ्यलाई समेत लाभ हुने सञ्चालक दोर्जी सुशील शेर्पा बताउँछन् । रिसोर्टमा एट्याच बाथ रुम, तातो चिसो नुहाउने व्यवस्था छ। त्यस्तै, २४ घण्टा बत्ती, समान तापक्रमको प्रवाह, इन्टरनेटको व्यवस्था गरिएको छ।

३ हजार ८ सय ४१ मिटर उचाईमा रहेको रिसोर्टमा २२ वटा कोठा, ५० वटा वेड क्षमता छ। त्यस्तै, बसेर खाने आकर्षक रेष्टुराँ जसको क्षमता एकै पटक ५० जना बसेर खान सकिन्छ। राती भित्र बसेर खाने, रमाइलो गर्न सकिने ‘डाइनिङ’को व्यवस्था छ भने विहान दृश्यालोकण गर्नका लागि खुल्ला चौरमा समेत ५० जना भन्दा बढी बसेर खाने, घुम्न सक्ने छन्।

इटालियन, चाइनिज, कोरियन, इन्डियन, जापनीज खानाका परिकारहरू पाइन्छ। नेपाली दालभात, रोटी तरकारी लगायत खाजाका ‘आइटम’हरू पाहुनाका छनौट अनुसार तयार हुन्छ। रिसोर्टका लागि आवश्यक खानेकुरा काठमाडौंबाट हेलिकोप्टरबाट स्याङबोचेमा ल्याउने गर्छन् भने कतिपय रामेछापको मन्थलीबाट हवाईजहाजबाट लुक्ला र त्यहाँबाट खच्चड, जप्क्यो लगायत स्थानीय ढुवानीका साधन प्रयोग गरी परिपूर्ति गर्छन्।

यस उचाईमा रहे पनि होटलको मेनु भने नाम्चे र त्यस क्षेत्रमा रहेको अन्य होटलको भन्दा निकै सस्तो छ। त्यसैले त थाहा हुने नेपालीहरू खुम्बु जाँदा यो रिसोर्ट पुग्छन्। होटलबाट पाइएको सम्मान र विशेष छुटले नेपाली पर्यटक दंग हुने गरेका छन्।

रिर्सोटमा शेर्पा रहनसहन, आत्मिय आतिथ्य सत्कार, सुलभ, शान्त वातावरणले नेपाली होस् वा विदेशी सबैको मन रोमञ्चित नहुने कुरै भएन।

सञ्चालक दोर्जी सुशीलका अनुसार रिर्सोटमा पाएको आतिथ्यताले नेपाली खुसी हुन्छन्। ‘खुम्बुमा नेपाली पर्यटकलाई खास वास्ता गरिनन्,’ उनले भने, ‘हामीले भने नेपालीलाई छुटको समेत व्यवस्था गरेका छौं।’

अन्यत्र आतिथ्यता नपाएका नेपाली रिर्सोट पुगेर सेवा लिएपछि भने झनै खुसी हुने गरेका छन्। ‘विदेशी मात्रै होइन, नेपाली पनि त पर्यटक नै हुन्,’ उनले भने, ‘खर्च गर्न सक्दैनन् भन्दैमा बेवास्ता गरिनु ठीक होइन।’

उनका कुरा सुनेपछि पंक्तिकारलाई लाग्यो– अरु होटलवालाको पनि यस्तै सोच भइदिए साँच्चिकै खुम्बु घुम्ने नेपाली पर्यटकको संख्या पनि बढ्नेथियो।

होटलले नेपालीप्रति गरेको आतिथ्यबाट उनले मुटुरोग विशेषज्ञ डाक्टर रामेश कोइरालालाई सम्झिए। असोजमा खुम्बु घुम्न गएका डाक्टर कोइरालाले काठमाडौं फर्किएपछि खुम्बुमा बास नपाएकोदेखि नेपाली पर्यटकलाई गरेको विभेदबारे आर्टिकल नै लेखेका थिए। सायद, यो रिर्सोटले जस्तै सबैले नेपाली पर्यटकलाई पनि प्राथमिकता दिन्थे भने खुम्बु पुग्ने कोइराला र उनीजस्तै अरु नेपाली पर्यटकको मन कुँडिने थिएन होला। खुम्बुका व्यवसायीले अब नेपाली पर्यटकलाई पनि प्राथमिकतामा राख्ने कि ?

प्रकाशित: २२ मंसिर २०७५ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App