१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अस्ट्रेलियालाई कमजोर रुपमा लिनु मुर्खता : कोहली

एडिलेड – भारतका कप्तान विराट कोहलीले बुधबार बल टेम्परिङको घटनापछि अस्ट्रेलियाली टोलीको प्रदर्शन खस्कँदै गएको भन्नु मुर्खता हुने बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट दौरान बल टेम्परिङको घटनामा मुछिएपछि अस्ट्रेलियाली टोलीका कप्तान स्टिभ स्मिथ, उपकप्तान डेविड  वार्नर र ओपनर क्यामरुन बेनक्रफ्ट प्रतिबन्धमा परेका थिए। टोलीका महत्वपूर्ण तीन खेलाडी गुमाएको अस्ट्रेलियाले पछिल्ला समय स्वभाविक लय अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन।

यसै क्रममा भारतका केही पूर्वखेलाडीले यस पटक भारत अस्ट्रेलियाविरुद्धको टेस्टमा भारतीय टोली हाबी हुने बताउँदै आएका छन्। भारतले अस्ट्रेलिया भ्रमणमा ४ टेस्ट शृंखला खेल्नेछ। जसमध्य पहिलो टेस्ट बिहीबार एडिलेडमा सुरु हुनेछ। स्मिथ र वार्नरजस्ता अनुभवी खेलाडीको अनुपस्थितिमा अस्ट्रेलिया स्वभाविक लय भेट्टाउन संघर्षरत रहँदा भारतसामू अस्ट्रेलियाली भूमिमा टेस्ट शृङ्खलाको खडेरी तोड्ने सुनौलो अवसर हुनेछ। तर कोहलीले भने अस्ट्रेलिया सधै कठिन प्रतिद्वन्द्वी रहेको भन्दै उनीहरुलाई कमजोर रूपमा नलिने बताएका छन्।

‘अस्ट्रेलियाली टोली घरेलु मैदानमा सधै बलियो रहँदै आएको छ,’ कोहलीले भने, ‘हामी कुनै पनि टोलीलाई कमजोर आक्ने गल्ती गर्दैनौं। बल टेम्परिङको घटनापछि टोलीको मनोबल केही खस्कँनु स्वभाविक हो, तर खेलाडीहरुको क्षमता अझै उस्तै छ।’

भारतको प्रदर्शन पनि कोहलीको ब्याटिङ कौशलमा निर्भर हुने निश्चित छ। उनले यस वर्ष १८ टेस्ट इनिङमा १ हजार ६३ रन प्रहार गरेका छन्। ‘मलाई एडिलेडको वातावरणले सधै लोभ्याउने गरेको छ,’ उनले भने, ‘कुनै पनि खेलाडीले सबै मैदानमा सधै स्वभाविक लयको प्रदर्शन गर्छ भन्ने छैन।’

पृथ्वी शाह चोटका कारण बाहिरिएपछि भारतले उनको स्थानमा मुरली विजयलाई टोलीमा समावेश गर्दै टोली घोषणा गरेको थियो। टेस्ट वरीयताको शीर्ष टोली भारतले यस वर्ष विदेशी भूमिमा भएको टेस्टमा भने सम्झनलायक प्रदर्शन गर्न सकेको छैन। भारतले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट २–१ र इङ्ल्यान्डविरुद्धको टेस्ट ४–१ ले गुमाएको थियो।

त्यस्तै अस्ट्रेलियाले बुधबार उपकप्तान मिचेल मार्सलाई अप्रत्यासित रुपमा टोलीबाहिर राख्दै उनको  स्थानमा उस्मान ख्वाजालाई टोलीमा समावेश गरेको छ। त्यस्तै ओपनर मार्कस ह्यारिसले भारतविरुद्धको खेलसँगै टेस्ट क्रिकेटमा डेब्यु गर्नेछन्। अस्ट्रेलियाका कप्तान टिम पायनेले मार्सले सधै एक रुपको प्रदर्शन दोहोर्याउन नसकेका कारण टोलीमा समावेश नगरिएको स्पष्ट पारे।

‘मार्स उत्कृष्ट खेलाडी हुन्। तर पछिल्ला समय उनले एक रूपको प्रदर्शन गर्न सकिरहेका छैनन्,’ पायनेले भने, ‘ओपनर ह्यारिसले उत्कृष्ट प्रदर्शन गर्नेमा भने विश्वस्त छौँ। किनभने उनी आक्रमक ब्याट्सम्यान हुन्। उनीसँगै एरोन फिन्चले ओपनरको भूमिका निभाउने छन्। दुबै आक्रामक ब्याट्सम्यान भएकाले टोलीमा ल्याइएको नयाँ परिवर्तनले सफल नतिजा दिने विश्वास छ।’

शृंंखला अन्तर्गतको दोस्रो टेस्ट १४ डिसेम्बरमा पर्थमा हुनेछ भने तेसो टेस्ट डिसेम्बर २६ मा मेलनबर्न र अन्तिम टेस्ट जनवरी ३ मा सिड्नीमा हुनेछ। स्मिथ र वार्नरजस्ता अनुभवी खेलाडीको अनुपस्थितिमा अस्ट्रेलिया स्वभाविक लय भेट्टाउन संघर्षरत रहँदा भारतसामू अस्ट्रेलियाली भूमिमा टेस्ट शृङ्खलाको खडेरी तोड्ने सुनौलो अवसर हुनेछ।

प्रकाशित: २० मंसिर २०७५ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App