१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेलम्चीलाई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने

फाइल फाेटाे

काठमाडौं – मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले मेलम्चीलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने जानकारी दिएका छन्। उनले दिगो पर्यटन विकास गरी स्थानीयको जीविकोपार्जनमा टेवा पु्र्याउने लक्ष्य रहेको बताए।

‘मैले भर्खरै इटलीको टोरेन्टे प्रदेशको एक नगरपालिका भ्रमण गरेँ। उक्त भ्रमणको सिकाइलाई नगरपालिकाको आगामी योजना निर्माणमा उपयोग गर्नेछु,’ सोमबार पर्यटन विभागमा आयोजित पत्रकार सम्मेलनमा अर्यालले भने। ‘मेलम्ची समृृद्धिको मुख्य आधार कृषि, पर्यटन र जलाधार’ भन्ने मूल नारासहित नगरपालिकाले पर्यटन विकासका लागि काम गरिरहेको उनले बताए।

नगरपालिकाको निमन्त्रणमा इटलीको स्याट नामक संस्थाबाट नौ जना पर्यटनविज्ञ मेलम्ची भ्रमणमा आएको जानकारी दिँदै उनले पर्यटन विकासका लागि सो संस्थाले सहयोग गर्ने बताए। संस्थाबाट आएको उक्त टोलीले भोयाज टुर एन्ड ट्राभल्ससँगको सहकार्यमा मंसिर ६ देखि १२ गतेसम्म मेलम्ची नगरपालिकामा पर्यटन पदमार्गको पहिचान, विस्तार तथा मर्मतसंभार कार्य सञ्चालन गरेको नगरप्रमुख अर्यालले जानकारी दिए। यसले मेलम्चीको पर्यटन विकासमा टेवा पुग्ने उनको अपेक्षा छ।

अर्यालका अनुसार नगर परिसरमा पातले छाँगो, चमेरो गुफा र अन्य चारवटा गुफा रहेका छन्। तपचुली डाँडा पनि नगरपालिकाको अर्को आकर्षक केन्द्र मानिन्छ। उक्त स्थानबाट आकर्षक दृश्य देखिने र इलामको कन्यामलाई समेत बिर्साउने चियाबगान रहेको छ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सिनिएर अफिसर कुन्दन मिश्रले मेलम्ची नगरपालिका उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउँदै प्रचारप्रसारमा गर्नुपर्नेमा जोड दिए। पर्यटन बोर्ड र नगरपालिकाबीच समन्वय गरेर उक्त क्षेत्रलाई आकर्षक पर्यटन गन्तव्य बनाउनुपर्ने उनले बताए।

पर्यटन  विकास समितिका सदस्य बालकृष्ण देउजाले पैदल यात्रीका लागि यातायातको राम्रो सुविधा, होमस्टे, स्वास्थ तथा स्थानीयस्तरमा उत्पादित अर्गानिक खानाको व्यवस्था र पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न सके पर्यटन व्यवसाय फस्टाउने तथा स्थानीयको आम्दानी बढ्ने धारणा व्यक्त गरे।

प्रकाशित: १९ मंसिर २०७५ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App