१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : पुलिसलाई हराउँदै संकटा दोस्रो स्थानमा

संकटाविरुद्ध बल अगाडि बढाउने प्रयास गर्दै नेपाल पुलिस क्लबका रविशंकर पासवान (रातो) । तस्बिर सौजन्यः एन्फा

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले पराजित संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको मनाङसँग समान १५ अंक भए पनि गोलअन्तरका आधारमा पछि पर्दै संकटा दोस्रो स्थानमा पुगेको हो।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा भएको खेलमा संकटाले पाँचौं जित हात पार्दा पुलिसले दोस्रो पराजय भोगेको छ। यसअघि पुलिस विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँग १–० ले पराजित भएको थियो। सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार सरोज दाहाल र दीपेश आले मगरले गरेको गोलमा संकटाले पाँचौं जित निकालेको हो।

पहिलो हाफमै २–१ को अग्रता बनाएको संकटाले दोस्रो हाफमा रक्षात्मक खेल्दै विभागीय टोलीसँग जित निकाल्न सफल भयो। २–० ले पछि परेको पुलिसले पहिलो हाफमै एक गोल फर्काए पनि दोस्रो हाफमा संकटाको रक्षात्मक रणनीति चिर्न सकेन।

२९औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा सरोज दाहालले हेड गोल गरेपछि संकटाले अग्रता लिएको थियो।  ३७औं मिनेटमा दीपेश आले मगरले पुलिसका दुई रक्षक दिनेश राजवंशी र तेज तामाङको बीचबाट चलाखीपूर्ण तरिकाले बल खोस्दै दीपेशलाई दिँदा उनले संकटाका लागि दोस्रो गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै पुलिसका रवि पासवानले संकटाविरुद्ध गोल फर्काउँदै अग्रता छोट्याए। पहिलो हाफमा नै पछि परेको पुलिसले दोस्रो हाफमा गोल फर्काउन सकेन र पाँचौं स्थानमा यथावत् रह्यो।

पुलिसविरुद्ध सफलता हात पारेको संकटाका प्रशिक्षक सल्यान खड्गीले मैदानमा रणनीति सफल भएको बताए।

‘बलियो टोली पुलिसविरुद्ध रक्षात्मक खेलेर काउन्टर अट्याकमा अवसर खोज्ने रणनीति हामीले बुनेका थियौं। रणनीतिअनुसार सुरुमै अग्रता लिँदा खेलाडीमा मनोबल बढ्यो,’ प्रशिक्षक खड्गीले भने, ‘अघिल्लो खेलमा आर्मीसँग पराजित हुँदा खस्किएको मनोबल यो जितले उकासेको छ। हाम्रो लक्ष्यलाई यो जितले हौसला दिएको छ। हाम्रो लक्ष्य भनेको शीर्ष पाँचमा पर्ने हो। अब दबाब नभई हरेक टिमसँग आक्रामक खेल्नेछौं।”

उता लगातार दोस्रो हार ब्यहोरेको नेपाल पुलिस क्लबका प्रशिक्षक अन्नतराज थापाले महत्वपूर्ण ३ खेलाडी मैदानबाहिर रहनु नै टोलीका लागि दुर्भाग्य भएको बताए।

‘भरपर्दा स्ट्राइकर सुमन लामा र यम तामाङ घाइते छन्। अजित भण्डारी दोहोरो पहेंलो कार्डका कारण पहिलो रोजाइमा थिएनन्। खेलअवधिमा हामीले गोलका धेरै अवसर सिर्जना गर्यौं, फिनिसिङ हुन सकेन,’ प्रशिक्षक थापाले भने, ‘सुरुआतमै दुई गोलको सिकार भएपछि टोलीले दबाब झेल्नुपर्यो। लगत्तै गोल फर्काउँदै खेलमा फर्किन प्रयास गरे पनि स्कोर गर्न सकिएन।’ खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दी म्याच घोषित भए।

प्रकाशित: १८ मंसिर २०७५ २३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App