१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रसारण लाइनको मोडालिटीमा छलफल

काठमाडौं - नेपाल–बंगलादेश ऊर्जा संयन्त्रको सोमबार सुरु सहसचिवस्तरीय बैठकमा अन्तरदेशीय प्रसारण लाइन कुन मोडालिटीमा निर्माण गर्ने भन्नेमा छलफल भएको छ ।

नेपालबाट सिधै बंगलादेश जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने वा नेपाल र भारतबीच अहिले भइरहेको अन्तरदेशीय प्रसारण लाइनलाई नै स्तरोन्नति गर्ने भन्नेमा छलफल केन्द्रित भएको बैठकमा नेपाली टोलीको नेतृत्व गरेका ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले बताए ।

‘दुई विकल्पमाथि बैठकमा व्यापक छलफल भयो,’ उनले सोमबार नागरिकसँग भने, ‘सिधै जोड्ने वा नेपाल र भारतबीच रहेको अन्तरदेशीय प्रसारण लाइनलाई स्तरोन्नति गर्ने भन्नेमा छलफल गरियो ।’ अन्तदेशीय प्रसारण लाइन कुन मोडालिटीमा बनाउने भन्नेमै संयन्त्रको बैठक केन्द्रित भएको उनको भनाइ छ ।

यसैगरी, विद्युत् व्यापार कुन मोडालिटीमा गर्ने भन्नेमा पनि छलफल भएको  सहसचिव घिमिरेले बताए । ‘बर्खामा नेपालमा बढी बिजुली उत्पादन हुन्छ, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि छलफल भयो,’ उनले भने, ‘मौसममा हुने बढी उत्पादन (सिजनेबल सरप्लस) लाई कसरी मिलाउने भन्नेमा पनि बैठकमा दुवै पक्षले धारणा राखेका थिए ।’ बढी र कम बिजुली उत्पादन हुँदा कसरी व्यवस्थापन गर्ने भन्नेमा व्यापक छलफल भएको सहसचिव घिमिरेको भनाइ छ ।

बंगलादेश नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न पनि इच्छुक देखिएको उनले जानकारी दिए । ‘छलफलमा उनीहरु हाइड्रोपावरमा लगानी गर्न तयार देखिन्थे,’ उनले भने, ‘तर कति लगानी गर्ने हो, किटान गरेनन् ।’ उक्त अवसरमा नेपाली अधिकारीले उपयुक्त आयोजना छनोट गर्न र तिनलाई कुन मोडालिटीमा निर्माण गर्न सकिन्छ भन्नेमा स्पष्ट हुन आग्रह गरेका थिए ।

बंगलादेशले माथिल्लो कर्णाली आयोजनाको बिजुली किन्ने विषयमा पनि छलफल भएको थियो । नेपाली अधिकारीले उक्त आयोजनाको बिजुली खरिद गर्ने विषयमा भएको प्रगतिबारे जानकारी लिएका थिए । बंगलादेशी अधिकारीले माथिल्लो कर्णालीको बिजुली किन्ने विषयमा भारतीय कम्पनी जिएमआरसँग कुरा भइरहेको जानकारी गराएका थिए । माथिल्लो कणालीले जिएमआरले बनाउँदैछ ।

नवीकरणीय ऊर्जामा सहकार्य गर्न पनि बंगलादेश तयार देखिएको छ । ‘सबै विषयमा बंगलादेशी अधिकारी सकारात्मक देखिएका छन्,’ सहसचिव घिमिरेले भने, ‘आजको छलफलको निष्कर्ष भोलि हुने सचिवस्तरीय बैठकमा पेस गर्दैछौं, सो बैठकले ती विषयलाई निरन्तरता दिएर निर्णयमा पुग्न वा संशोधन गरेर नयाँ निर्णय गर्न सक्नेछ ।’ मंगलबार बस्ने बैठकले उचित निर्णय गर्ने पनि सहसचिव घिमिरेले बताए ।

बंगलादेशी पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउसको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल आइतबार काठमाडौं आएको हो । नेपाली टोलीको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले गरेका छन् । सोमबारको बैठकमा नेपालको नेतृत्व सहसचिव दिनेश घिमिरेले र बंगलादेशको नेतृत्व पावर डिभिजन हेर्ने सहसचिव शेख फैजुल अमिनले गरेका थिए ।

ऊर्जामन्त्री वर्षमान पुन गत सेप्टेम्बरमा बंगलादेश गएका बेला दुवै देशबीच ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले त्यसका लागि छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताएका थिए ।

मन्त्री पुनले बंगलादेशसँग ऊर्जासम्बन्धी समझदारीमा हस्ताक्षर गरेका थिए ।  काठमाडौंमा भएको उक्त समझदारीमा बंगलादेशका तर्फबाट ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका थिए ।

प्रकाशित: १८ मंसिर २०७५ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App