१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

त्रिवि उत्कृष्ट हजारभित्र पर्ने आधार

त्रिविको छ दशकको इतिहासमा अहिले आएर विश्वस्तरमा विश्वविद्यालय मूल्याङ्कनका मापदण्डहरूभित्र छिरेर त्रिविले महत्वपूर्ण स्थान हासिल गर्न सफल भएको छ। विश्व वेब सर्वे -याङ्किङमा तीन वर्ष अगाडिको ४२४१ औँ स्थानलाई छोड्दै गतवर्षसम्म एउटा अध्ययनबाट विश्वका उत्कृष्ट ३९२५ औँ स्थानमा रहेको त्रिविको भिजन २०२०–३० निर्माण गर्दासम्म आगामी दश वर्षभित्र विश्वका उत्कृष्ट हजार विश्वविद्यालयहरूको सूचीभित्र पर्ने लक्ष्य राखिएको थियो। तर हालै बेलायतको टाइम्स हाइयर एजुकेसन (दी) ले सन् २०१९ का लागि गरेको मूल्याङ्कनमा त्रिवि विश्वका उत्कृष्ट ८०१–१००० विश्वविद्यालयमध्येको एक घोषणा भएपछि भने त्रिवि विश्वका उत्कृष्ट हजारभित्र पर्ने मापदण्डहरू के थिए  ? भन्ने जिज्ञासा सर्वत्र छाएको छ। विज्ञ वर्गहरूबाटै विभिन्न सञ्चार माध्यममार्फत व्यक्त भएका मापदण्डसम्बन्धी यस्तै जिज्ञासाहरूलाई स्पष्ट पार्न यो लेख केन्द्रित गरिएको छ।

कुनै पनि देशमा सबैभन्दा उच्च सम्मानका साथ हेरिने बुद्धि र विचारको धरोहरको संस्था भनेको विश्वविद्यालय नै हो। डाक्टर, इन्जिनियर, वकिल, राजनीतिशास्त्री, समाजशास्त्री, प्राविधिक, अप्राविधिक सबैजसो दक्ष जनशक्ति उत्पादन हुने ज्ञानको केन्द्र विश्वविद्यालय नै हो। त्यसैले एउटा उत्कृष्ट विश्वविद्यालयले त्यो देशको परिचय दिन्छ। अहिलेसम्म नेपाल र नेपालीहरूको परिचय दिने देशकै जेठो र पुरानो एक मात्र उत्कृष्ट विश्वविद्यालय त्रिवि नै हो। जति त्रिविको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमता र पहिचान वृद्धि हुन्छ, देशविदेशमा प्रभाव बढ्छ, त्यति नै नेपालको प्रतिष्ठा र ख्याति बढ्दै जाने हुन्छ।

त्रिविको गुणस्तर खस्केको सम्झने विद्वान् वर्गहरूका लागि त्रिविको गुणस्तर पहिलेभन्दा अभिवृद्धि हुँदै सकारात्मक रूपमा अगाडि बढिरहेको र यसको उन्नयनका लागि निरन्तर प्रयास भइरहेको सन्देश जान जरुरी छ।

विश्वविद्यालयले आफ्नो देशलाई नयाँ विचारसँग परिचित गराउने, नयाँ प्रविधिको प्रयोग गर्ने, विश्वको मान्यताअनुसारको नयाँ सोच र विश्वको आवश्यकताअनुसारको बदलिँदो व्यवहार भएका सीप, कला, क्षमता, आवश्यकताअनुसार लचिलो हुन सक्ने उत्पादनमुखी जनशक्ति तयार गर्छ। जुन देश विकासका निम्ति अपरिहार्य सर्त हुन्। अहिले त्रिभुवन विश्वविद्यालयले नै देशमा चिकित्सक, इन्जिनियर, वैज्ञानिक, वकिल, प्राध्यापक, राजनीतिकर्मी, शिक्षक आदि दक्ष जनशक्ति उत्पादन गरिरहेको छ। कृषि, पशुविज्ञान, वनविज्ञान, मानविकी तथा सामाजिक शास्त्र, कानुन, इन्जिनियरिङ, मेडिकल आदि सबै क्षेत्रको दक्ष जनशक्ति उत्पादनको मूल स्रोत नै त्रिवि हो। त्यसैले कुनै पनि देशको भविष्य त्यहाँका विश्वविद्यालयको भविष्यसँग जोडिएको हुन्छ। भनिन्छ कि एउटा देश कसरी चलेको छ भनेर हेर्न त्यो देशको एउटा विश्वविद्यालय हेरे पुग्छ। विश्वविद्यालय जसरी चलेको हुन्छ, देश त्यसरी नै चलेको हुन्छ। विश्वविद्यालय भनेको विश्व समुदायसामु देशको ऐना हो।

एउटा देशको समृद्धिका निम्ति योग्य, व्यावसायिक एवम् प्राविधिक जनशक्ति अनिवार्य हुन्छ जसले विश्वको आधुनिक सोच र विचार अनि प्रविधिलाई देशको आवश्यकता र अनुकूलता हेरी प्रयोगमा ल्याउन सकोस्। गरिबी निवारण पनि यसैबाट सम्भव छ। विश्वविद्यालयहरू मानव शक्ति विकास गर्ने र नयाँ ज्ञान सिर्जना गर्ने अनि प्राप्त ज्ञानलाई विश्वव्यापी बनाई मानव सभ्यतालाई शिखरमा पु-याउने संस्थाका रूपमा विश्वमै मानिएका छन्। यी विशिष्ट योग्यता भएका जनशक्ति उत्पादन गर्न उच्चस्तरको विश्वविद्यालय चाहिन्छ। नेपालको सन्दर्भमा यस्ता जनशक्ति उत्पादन गरी विश्वविद्यालयलाई राष्ट्रिय उत्पादनसँग नजोडी देश विकास सम्भव छैन। त्यसैले आजको आवश्यकता भनेको विश्वमा सबै कुरामा पहिचान दिने त्रिभुवन विश्वविद्यालयलाई आधुनिक उच्च शिक्षा र विकसित प्रविधि मिश्रित विश्वस्तरीय उच्च शिक्षा प्रदान गर्न सक्ने बनाउनु हो किनभने त्रिवि नै नेपालका लागि एकमात्र उच्च शिक्षाको पद्धति हो।

त्रिविको उत्कृष्टताका आधार
सन् २००४ देखि विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको तह निर्धारण गर्दै आइरहेको विश्वकै ख्याति प्राप्त बेलायतको टाइम्स हायर एजुकेसन संस्थाले सन् २०१९ का लागि गरेको मूल्याङ्कनमा त्रिवि विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयहरू मध्येको एक भएर आफ्नो स्थान ओगट्न सफल भएको छ। संस्थाले गत सेप्टेम्बर २५ देखि २७ तारिखसम्म सिंगापुरमा गरेको विश्व प्राज्ञिक सम्मेलनबाट औसत अंक (१९.०-२५.९) हासिल गरी त्रिवि ८०१-१००० को सूचीमा स्थान ओगट्न सफल भएको हो।

यसरी त्रिविलाई विश्वस्तरमा प्रस्तुत गर्दा दुइटा फाइदा छन् : एउटा निश्चित समयमा यो विश्वविद्यालयको उल्लेख्य प्रगति देखाउन सकिनेछ। साथै विश्वस्तरको विश्वविद्यालय बनाउने लक्ष्यका साथ काम गर्दा त्रिविमा गर्नुपर्ने सुधारका एजेन्डाहरू पहिचान हुनेछन् र ती एजेन्डाहरूलाई टेकेर काम गर्दा त्रिविको उन्नयनका लागि अवश्य फाइदा हुनेछ। यसरी त्रिविलाई विश्वस्तरीय बनाउन गरिने प्रयासहरूबाट निश्चय नै त्रिविको विश्वव्यापी ख्याति अभिवृद्धि हुन महत्वपूर्ण योगदान पुग्नेछ। यद्यपि विश्वका उत्कृष्ट विश्वविद्यालयहरू छनौटबारे विषयवस्तुको गहिराईमा पुगेर विश्लेषण गर्न नसक्दा त्रिभुवन विश्वविद्यालयभित्र र बाहिरका केही मानिसहरूलाई त्रिवि विश्वको उत्कृष्ट विश्वविद्यालयमध्ये एक भएको कुरालाई सकारात्मक ढङ्गमा स्वीकार्न गाह्रो भएको देखिन्छ। यसलाई स्पष्ट पार्न टाइम्स हायर एजुकेसनले विश्वविद्यालयहरूको मूल्याङ्कनका लागि अपनाएको विधिबारे स्पष्ट थाहा पाउन जरुरी छ।

टाइम हायर एजुकेसनले एउटा मापदण्ड बनाएर विश्वभरिका विश्वविद्यालयहरूको उत्कृष्टताको सूची बनाउँछ। मूलतः यसले शिक्षण, अनुसन्धान, उद्धृत, अन्तर्राष्ट्रिय छवि र संस्थाको आयलाई सूचकका रूपमा मानेको छ। यी शीर्षकलाई ५ खम्बाका रूपमा स्थापित गरी १०० पूर्णाङ्कमध्ये शिक्षणलाई ३० प्रतिशत, अनुसन्धानलाई ३० प्रतिशत, उद्धृतलाई ३० प्रतिशत, अन्तर्राष्ट्रिय छविलाई ७.५ प्रतिशत र संस्थाको आयलाई २.५ प्रतिशत अङ्क प्रदान गरेको हुन्छ। यी पाँच शीर्षकमा विश्वविद्यालयहरूले प्राप्त गरेको अङ्कलाई आधार मानी विश्वस्तरको उत्कृष्टताको सूची बनाउँछ। यस संस्थाले विश्व विश्वविद्यालय -याङ्कका लागि उल्लिखित पाँच शीर्षकअन्तर्गत १३ वटा सूचकाङ्कहरूलाई पाँच समूहमा विभाजन गरी अङ्क प्रदान गर्ने क्रममा त्रिविले विभिन्न आधारहरूमध्ये शिक्षणमा ९.२, अनुसन्धानमा ६.६, उद्धृतमा ३५.७ र संस्थाको आयमा ३४, अन्तर्राष्ट्रिय छविमा ४५.२ गरी औसत १९.०–२५.९ अंक प्राप्त गरी उक्त स्थान ओगट्न सफल भएको हो।

यो संस्थाले मूल्याङ्कनको मापदण्ड स्पष्ट रूपमा प्रस्तुत गरेको छ र कुन विश्वविद्यालयले कुन शीर्षक, उपशीर्षकमा कति अंक प्राप्त गरी उक्त स्थान हासिल गरेको छ भन्ने विवरणसमेत प्रस्ट रूपले सार्वजनिक गरेको छ। यसले अपनाएको मुख्य आधार भनेका शिक्षण, अनुसन्धान र उद्धृत नै हुन्। जसमा अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा शैक्षिक उपलब्धि हासिल गराउन शिक्षण सिकाइको वातावरण कस्तो सिर्जना गरेको छ ? शिक्षक विद्यार्थीको अनुपात के छ ? संस्थागत आय, उपाधि हासिलको अवस्था र अनुपात सबै अध्ययनको विषय बनाएको छ । यसले अनुसन्धानअन्तर्गत विश्वविद्यालयको विश्वव्यापी रिप्युटेसन (ख्याति) सर्वेक्षण, अनुसन्धान आय र उत्पादन सबै मापदण्डहरू हेरेको छ। यसै गरी इल्सेभियर्स स्कोपसले सूचीकृत गरेको पियर रिभ्यूड जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेखहरूलाई मुख्य मापदण्डमा राखिएको छ। त्रिविका समेत यी सबै कुरामा सूचकांकअनुसार मूल्याङ्कन भएको छ। यसमा नेपालभित्रै विद्वान् वर्गबाट अविश्वास गर्नुपर्ने कुनै आधार र कारण देखिँदैन।

एउटा विश्वविद्यालयले आफ्नो अनुसन्धान लेख प्रकाशन गरी अन्य विश्वविद्यालयहरूमा कति उद्धृत भएर नयाँ ज्ञान र विचारहरू विस्तार भएको छ भन्ने अर्को मुख्य सूचक हो। त्यसैले विश्वविद्यालयहरू विचार र ज्ञान उत्पादन गर्ने केन्द्रहरू हुन्, यिनले अरूलाई कति प्रभाव पारेका छन् भनेर मूल्यांकन हुने गर्छ। यसरी प्रकाशित कृतिहरूमा उद्धृत भएको कुरा अर्को मूल्यांकनको मुख्य आधार बनाइएको छ। त्रिविमा पनि विज्ञान प्रविधि, आँखा केन्द्र, अनुसन्धान केन्द्रहरू, इन्जिनियरिङ लगायत क्षेत्रका प्राध्यापक तथा अध्येताहरूबाट भए गरेका अनुसन्धानहरू र अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित अनुसन्धानमूलक लेख रचनाहरूबाट नै त्रिविलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय साबित गर्न पर्याप्त आधार खडा भएका छन्।

यसरी त्रिविको मूल्यांकनका लागि पनि यी तीन शीर्षकमा ३०/३० अंक प्रदान गरिएको छ। बाँकी १० अंकमध्ये अन्तर्राष्ट्रिय छविलाई ७.५ र संस्थागत आयलाई २.५ अंक राखिएको छ। यसमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरी विश्वका कति विश्वविद्यालयहरूसँग सहकार्यमा के कति कार्यक्रमहरू भएका छन् ? त्यसको मूल्यांकन भएको छ। त्रिविले १६० भन्दा बढी विश्वविद्यालयहरूसँग सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर गरेको कुरा यस शीर्षकमा महत्वपूर्ण मूल्यांकनको आधार भएको छ। जसरी नेपालको राजधानी काठमाडौँका विभिन्न स्थानहरूलाई विश्व सम्पदा सूचीहरूमा राख्ने तथा काठमाडौँ सहरलाई उत्कृष्ट सहरहरूको सूचीमा मूल्यांकन गर्दा धुलो, धुवाँ, सवारी चाप, ट्राफिक जाम, प्रदूषण आदिलाई थाती राखेर पुरातात्विक महत्वका क्षेत्रहरू जस्तै पशुपति क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, हनुमानढोका दरबार क्षेत्र जस्ता पर्यटकीय क्षेत्रहरूको कारण उत्कृष्टता प्रदान गरिने गरिएको छ, त्यस्तै त्रिभुवन विश्वविद्यालयलाई पनि विश्वस्तरको विश्वविद्यालयको रूपमा पर्न तोकिएको मापदण्ड/आधारहरूभित्र मूल्यांकन गरी यो स्तर निर्धारण भएको हो। यसमा कसैले विश्वविद्यालयभित्र भएका समस्या, विकृति, पूर्वाधार र प्रशासनिक जटिलताका विषयलाई लिएर अस्वीकार गर्न मिल्दैन। आन्तरिक व्यवस्थापन क्रमशः सुधार हुँदै र गर्दै लैजान सकिन्छ।

त्रिविको भावी कार्यदिशा
त्रिविले सेमेस्टर प्रणाली अपनाई देशभरि स्नातकोत्तर तहमा लागू गरिसकेको छ। विद्यार्थीहरू नियमित कक्षामा उपस्थित हुन र प्राध्यापकबाट प्रविधिको प्रयोग सहितको पठनपाठन र परीक्षा पद्धतिमा आएका सुधारले परीक्षाको नतिजामा देख्न सकिने परिवर्तन आइसकेको छ। स्नातक तहमा थुप्रै नयाँ विषयहरू सेमेस्टर कार्यक्रमअन्तर्गत सञ्चालित छन् र स्नातक तहको बाँकी विषयहरूलाई पनि सेमेस्टरमा लाने तयारी भइरहेको छ। पाठ्यक्रम र पाठ्यसामग्रीमा आवश्यक सुधार भइरहेको छ। त्रिविअन्तर्गतका क्याम्पसहरूमा २८ वर्षे उमेर हद लगाएर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गरिएको छ। त्रिविको कीर्तिपुर क्षेत्र व्यवस्थापनका लागि मास्टर प्लान निर्माण गरेर सोही बमोजिम नयाँ भवनहरू निर्माण सुरु गरिएको छ। यसले त्रिविको बेथितिलाई क्रमशः न्यून गर्दै एउटा प्रणालीमा विश्वविद्यालयलाई अगाडि लग्न मद्दत मिलेको छ।

आज उच्च शिक्षाको पहुँच सबैमा पु¥याउने होडमा विश्व नै अगाडि बढिरहेको अवस्थामा त्रिविले नेपालमा खुला तथा दूर शिक्षा कार्यक्रम लागू गरिसकेको छ, जसले उच्च शिक्षामा सबैको समान पहुँचलाई टेवा पु¥याउने विश्वास छ। प्राविधिक शिक्षाअन्तर्गत चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि र पशुविज्ञान, वनविज्ञान जस्ता विषयमा त्रिविका अध्ययन संस्थानहरूको क्षमता वृद्धि गरी विद्यार्थीको सङ्ख्या बढाउने योजना छ। विश्वविद्यालयको प्रशासनलाई कागजविहीन बनाउँदै बलियो र प्रभावकारी बनाउने र कार्यक्षमताका आधारमा मूल्यांकन गर्ने नीति त्रिविले अख्तियारी गरिरहेको छ।

त्रिवि केन्द्रीय परिसरमा आइटी सेन्टरको स्थापना भएको छ। त्रिवि कीर्तिपुरलाई फ्रि वाइफाई जोन बनाउने लक्ष्यसहित काम अगाडि बढेको छ। शैक्षिक सूचना व्यवस्थापन प्रणालीको विकास गरी सूचना अद्यावधिक गर्ने, शैक्षिक कार्यक्रमहरूको नियमितताका लागि वार्षिक शैक्षिक क्यालेन्डरको निर्माण र प्रयोग गर्ने कार्यलाई व्यवस्थित गरिएको छ। इ–गभर्नेन्स, आइसिटी विकासको आवश्यक तयारीमा त्रिवि जुटेको छ। स्वायत्त संस्थाका साथै प्राज्ञिक स्वायत्तता पनि अपरिहार्य सर्त भएको हुँदा त्रिविका ९ वटै डिन कार्यालयहरूलाई सशक्तीकरण गराई अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्ने, संयुक्त अनुसन्धान, प्रकाशन गर्ने÷गराउने, स्वायत्त स्कुल र विभाग परिचालन गर्ने र उच्च स्तरका शैक्षिक संस्था जो आपैmँमा स्वायत्त छन्, त्यस्तालाई स्वायत्त संस्थाका रूपमा स्थापित गर्ने रणनीति बनाइएको छ।

परीक्षा नियन्त्रण कार्यालय र सेमेस्टर परीक्षा हेरिहेका सम्बन्धित डिन कार्यालयअन्तर्गत रहेका परीक्षा महाशाखाहरूलाई समष्टिमा मिलाएर प्रविधियुक्त बनाउँदै पुनर्संरचनाको व्यवस्थापन भइरहेको छ। कागजविहीन प्रशासनको अवधारणालाई आत्मसात् गर्दै परीक्षासम्बन्धी कार्यहरूलाई अनलाइनबाट सेवा प्रवाहको सुरुवात दीक्षान्त समारोहको अनलाइन फारम भर्ने कार्यबाट गरिसकिएको छ। २१ औँ शताब्दीमा त्रिविलाई विश्वस्तरको विश्वविद्यालयहरूसँग सहयात्रा र सहकार्य गरी नेपाली विद्यार्थी र प्राज्ञ अन्य विश्वविद्यालयमा र अन्य विश्वविद्यालयका विद्यार्थी र प्राज्ञ त्रिविमा आएर अध्ययन र अनुसन्धान गर्ने पूर्वाधारका निमित्त १६० भन्दा बढी उच्च शिक्षाका संस्थाहरूसँग द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गरिएको छ। यस्तै डिजिटल पुस्तकालय, डिजिटल कक्षाकोठा, क्रेडिट ट्रान्सफर र ड्युअल डिग्री कार्यक्रममार्फत त्रिविलाई विश्वस्तरमा उतार्ने प्रयास गरिएको छ। यसबाट त्रिविको गुणस्तर खस्केको सम्झने विद्वान् वर्गहरूका लागि त्रिविको गुणस्तर पहिलेभन्दा अहिले अभिवृद्धि हुँदै सकारात्मक रूपमा अगाडि बढिरहेको र यसको उन्नयनका लागि निरन्तर प्रयासहरू भइरहेको सन्देश जान जरुरी छ।

अन्त्यमा, त्रिविलाई केन्द्रीय (राष्ट्रिय) विश्वविद्यालय बनाउन नेपाल सरकार (मन्त्रिपरिषद्) को २०६९ पुस २४ गतेको निर्णयअनुसार “त्रिभुवन विश्वविद्यालयलाई अनुसन्धान र उत्कृष्टताको केन्द्रका रूपमा केन्द्रीय विश्वविद्यालयको मान्यता प्रदान गर्न सैद्धान्तिक सहमति दिने र सो सम्बन्धमा नीतिगत, संस्थागत र कानुनी व्यवस्था गर्न शिक्षा मन्त्रालयबाट छुट्टै कार्यदल गठन गरी प्रक्रिया अघि बढाउने” भनी निर्णय भइसकेको छ। नयाँ सन्दर्भमा त्रिविलाई पुनर्संरचना गर्न आवश्यक भएकाले एउटा मार्गचित्रसहित पुनर्संरचनाको खाका तयार गर्न एक समिति तयारीमा जुटेको छ। त्रिभुवन विश्वविद्यालयले सन् २००० मा नै बीस वर्षे ‘त्रिविको भिजन–२०२०’ बनाएर अगाडि बढेको थियो। यसैमा टेकेर अहिले उच्च शिक्षाका नयाँ सन्दर्भलाई समेट्दै अगाडि बढ्न त्रिविको भिजन–२०२०–२०३० को निर्माण गरिएको छ। त्रिविबाट गठित उच्चस्तरीय समितिले त्रिविको भिजन २०२० र भिजन २०३० को तयारी अलग अलग गरेको छ। यसले सन् २०२० सम्म पूरा गर्नुपर्ने कार्यसूची र सन् २०३० सम्म गर्नुपर्ने कार्यसूचीलाई छुट्टाछुट्टै सूचीकृतसमेत गरेको छ। त्रिविको आगामी कार्यदिशा यसैलाई मार्गदर्शनका रूपमा मानेर अघि बढ्नेछ। यसले त्रिविलाई सन् २०३० भित्रमा विश्वका उत्कृष्ट ४०१–६०० विश्वविद्यालयहरूमध्येको एक विश्वविद्यालय बनाउने लक्ष्य राखेको छ। वास्तवमा त्रिविलाई विश्वस्तरको विश्वविद्यालय बनाउन क्रियाशील हुनु भनेको त्रिविलाई सुधार गर्ने रणनीति अपनाउनु हो।

प्रकाशित: १८ मंसिर २०७५ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App